फोहोरको डंगुर : मान्छे बस्छन् कि बंगुर ?
सिर्सिया खोलाको प्रदूषित पानी ५ सय किलोमिटरभन्दा बढी टाढा बग्ने गरेको गंगा नदीलाई समेत प्रदूषित गर्ने गरेको अनर्गल प्रचार गरी हिँड्ने केही अभियान्ताको नियत शंकास्पद देखिएको छ । सिर्सिया नदी प्रदूषित मात्र होइन ज्यादै प्रदूषित तथा दुर्गन्धित बनेको छ । त्यसको सम्पूर्ण दोष वीरगञ्ज तथा औद्योगिक क्षेत्रले प्रदूषित गरेको विषय विवादित भने होइन तर वीरगञ्ज सीमासँगै टाँसिएको रक्सौल शहरको पनि थोरबहुत हिस्सादारी छ ।
रक्सौल शहरस्थित डंकन हस्पिटलको फोहोर तथा प्रदूषित पानीको नाला रक्सौल कसटमको मैत्री पुलनिर गएर मिसिने गर्छ । त्यस्तै, रेल्वे स्टेशनबाट निस्किने फोहोर पानीको ढल रेल्वे लाइनको मुनतिर इस्लामपुर गाउँको पश्चितपट्टि खोलामा आएर मिसिने गरेको सबैले देखेको विषय हो । त्यस्तै रक्सौलको माछा, तरकारी बजार आदि ठाउँको फोहोर पानीको ढल पनि रक्सौल मस्जिदको पूर्वपट्टि भएर नागा रोड हुँदै शिव टोलामा गएर सिर्सिया खोलामै प्रवाहित हुन्छ । तीनवटै नालाले दिनहुँ हजारौँ लिटर प्रदूषित पानी सिर्सिया खोलामा मिसाउँदा त्यहाँका तथाकथित अभियान्ताहरूले नदेख्नुलाई उनीहरूको नियतमाथि झन् शंका उब्जेको छ ।
०६७ मा पर्सा जिल्ला प्रशासनका तत्कालीन प्रमुख नागेन्द्र झाको निर्देशनमा वीरगञ्जका पत्रकार तथा प्रहरी प्रशासनको टोलीले नदी प्रदूषणको प्रमुख कारणबारे अध्ययन अनुसन्धान गरिएको थियो । १२ वर्ष बितिसक्दा पनि त्यो अनुसन्धाको विषय कहाँ गएर थन्कियो त्यो पनि कसैको खोजीको विषय भएन । बारा–पर्सा गरी ६—७ दर्जनजति उद्योगले आफ्नो फोहोर तथा प्रदूषित पानी सोझै नदीमा मिसाउने गरेको देख्दा पनि कुनै निकायले उनीहरूलाई के–कति करणले उन्मुक्ति दिएको हो यो पनि यतिखेर यक्षप्रश्न बनेको छ । सिर्सिया तथा उसका सहायक खोला कियासोतमा दिनहुँ हजारौँ लिटर फोहोर पानी फाल्नेमा डाबर पहिलो नम्बरमा देखिएको छ । उसले कारखानाको फोहोर पानी तथा बिग्रेको हजारौँ लिटर जुस सिधै लगेर कियासोत खोलामा मिसाउँदा कतै त्यसको विरोध गरिन्न । त्रिवेणी टेक्सटाइल तथा अमृत घ्यू उद्योग अन्नपूर्ण भेजिटेबल र सोप उद्योगले हजारौं लिटर प्रदूषित पानी खोलामा मिसाउँदा उनीहरूमाथि कुनै ऐन कानुन नलाग्नु त्यो पनि आफैमा रहस्यमय विषय बनेको छ ।
गंगा नदीको भूगोल, इतिहासबारे बुझपचाएका सीमावर्ती शहर रक्सौलका ती अभियान्ताले प्रथम त गंगा नदी कहाँबाट प्रदूषित हुँदै आएको छ। त्यसको खोजी नगरी वीरगञ्जवासीमाथि आरोप लगाउनुले उनीहरूको बौद्धिकतामाथि पनि यतिखेर शंका उब्जेको छ । सन् २०१४ मा भारतको केन्द्रीय सत्तामा भाजपाले कब्जा जमाएपछि उसका नेतृत्वकर्ताले गंगा नदीलाई प्रदूषणरहित बनाउन जनतासामु कसम खाएका थिए । चर्चित नेत्री एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेकी उमा भारतीले गंगा स्वच्छ तथा प्रदूषणरहित नबनाइए आफू गंगामा जल समाधि लिने कसम पनि खाएकी थिइन् । तर, भयो के ? गंगा किनारमै रहेको ब्रिटिशकालमा एशियाको मेनचेस्टर सिटी कहलिएको कानपुर शहरमा सयौँजति ठूला छाला कारखाना छन् उनीहरूले लाखौँ लिटर प्रदूषित पानी गंगामै फ्याँक्ने गर्छन् ।
खोइ त उनीहरूमाथि कारबाही ! हिमाञ्चल प्रदेशको शिखरबाट बग्दै आएको अर्को ठूलो पवित्र नदी यमुनाको हविगत के छ ? दुनियाँलाई थाहा भएको विषय हो । भारतको राजधानी दिल्लीदेखि तल बग्दै गरेको उक्त नदीमा दिल्ली शहरबाट निस्किने फोहोर मैला तथा विषादीयुक्त पानीले सेतो रंगको फिँजै फिँजबाट भरिएको उक्त पवित्र नदीमा फासफोरस पदार्थ पनि मिसाइएको एक अन्वेषणले देखाएको छ । पवित्र नदीको पानी दिल्ली हुँदै आगरा त्यसपछि इलाहावादमा गंगामा मिसिने गर्छ । उक्त नदीमा आगराको छाला कारखानाबाट निस्केको फोहोर पदार्थ पनि सँगै ल्याई गंगामा मिसाउँदा त्यो भने पवित्र हुने भारतको धार्मिक नगरी ऋषिकेश तथा हरिद्वार हुँदै बग्ने गंगा नदीमा दिनहुँ बिसौँ लाख लिटर प्रदूषित पानी प्रभावित हुँदा त्यहाँका तथाकथित अभियान्ताले त्यसको विरुद्धमा किन अभियान नचलाएका हुन् ? गंगालाई प्रदूषित गर्नेमा काशी बनारसको के–कति योगदान छ त्यो यहाँ बताइरहनुपर्ने अवस्था रहेन ।
सिर्सिया नदी रक्सौल शहरबाट १२ देखि १५ किमि दक्षिणमा हर्दिया कोठीको उत्तर–पूर्वमा बंगरी खोलामा मिल्ने गर्छ । बंगरी गएर चिताहा (सिमरहीया) को पूर्वपट्टि तिलावे खोलामा आफ्नो पहिचान मेटाई तिलावे खोलाको परिचय बनाई त्यहाँबाट तिलावे खोला दक्षिणमा पर्ने अजगरवा गाउँको पूर्व सिकरहना (बूढीगण्डक) मा आफ्नो सम्पूर्ण पहिचान मिटाई बूढीगण्डक बनेर मोतीहारीको पूर्व हुँदै हान्निएर मोजफरपुर, समस्तीपुर तथा त्यहाँबाट बग्दै तारापुर दियारामा गएर गण्डकले आफ्नो पहिचान बिर्साइदिन्छ । लगलभ सिर्सिया खोला मिसिएको पानी अन्दाजी ५ सय किमि यात्रा तय गरी गंगामा गई मिसिने हो त्यसअघि चिताहामै बंगरी खोला तिलावेमा मिलन हुँदा त्यहाँ प्रदूषणरहित पानी भइसकेको देखिन्छ । माथिबाटै प्रदूषित हुँदै आएको गंगालाई प्रदूषित बनाउने सिर्सिया नदीको कति ठूलो योगदान छ ! यो यतिखेर खोजी तथा गम्भीर अनुसन्धानको विषय बनेकोे छ ।
टिप्पणीहरू