महिलाको कार्यक्रममा बाबुरामको सम्बोधन : डलरको खेती गर्नेहरुले अदालतलाई प्रयोग गरेर खतरा निम्त्याए !
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तरखरमा रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तारीको मुद्दा चलाएर राजनीतिक प्रणाली उल्ट्याउने खेल भइरहेको बताउनुभएको छ ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रिया उल्ट्याएर संविधान मास्ने षड्यन्त्र भइरहेकाले सबै प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकतामा जोडसमेत दिनुभयो ।
’अहिले राजनीतिक प्रणालीमा खतारा उत्पन्न भएको छ । बहालवाला प्रधानमन्त्रीलाई सानो निहुँमा गिरफ्तारीको मुद्दा चलाउनु अत्यन्तै गम्भीर कुरा हो,’ डा. भट्टराईले भन्नुभयो, ‘हाम्रो अदालतको आदेश अनादर गर्ने मनसाय होइन । तर, शान्ति प्रक्रिया संविधानको एउटा अंग भइसकेकाले जनयुद्धकालीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निरुपण गरिनुपर्छ ।’
देशमा द्वन्द्व चाहने शक्तिहरुले डलरको खेती गर्न यसअघि आयोग बन्नै नदिएको उल्लेख गर्दै उहाँले अहिले आयोगलाई निकम्मा बनाएर जनयुद्धका मुद्दा नियमित अदालती प्रक्रियामा लैजाने षड्यन्त्र गरिरहेको दाबी पनि गर्नुभयो । ‘केही डलरका खेती गर्नेहरुले विभिन्न बहानामा आयोग बन्न दिएनन् । हामी ऐन कानुन बनाउछौँ, उनीहरू अदालतमा गएर मुद्दा हाल्ने र स्टे अर्डर लिई सत्य निरुपण मेलमिलाप आयोगमार्फत काम गर्न दिँदैनन्’, उहाँले भन्नुभयो ।
हलो अड्काएर गोरु चुट्ने प्रवृत्तिले जनयुद्धकालीन मुद्दाले अदालतमा प्रवेश पाएको डा. भट्टराईको भनाइ छ । ‘म प्रधानमन्त्री भएको बेलामा नै अध्यादेश जारी गरेर सत्य निरुपण मेलमिलाप आयोग ऐन बनाइयो तर अदालतले लागू हुन दिएन’, उहाँले भन्नुभयो ।
टिप्पणीहरू