दायाँ–बायाँ नै दलालको दैलो
दायाँ हेरे दलाल, बायाँ हेरे दलाल । अर्थात्, सत्तामा जोसुकै आओस्, उही दलालको हालिमुहाली देखिने क्रममा फेरि पनि ओलीकालीन एक जना दलाल आयल निगमतिर चम्किएका छन् ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेश थानी, जसलाई अघिल्लो सरकारमा शेरबहादुर प्रधानमन्त्री हुँदा नियुक्त गरियो । उनी कांग्रेस नेता हृदयराम थानीको भतिजो, पूर्वकर्मचारी नेता भवानीका छोरा । आजीवन वैदेशिक रोजगार विभागमा बसेर अकुत सम्पत्ति कमाएका उनले मंसिर ४ को चुनावको मुखैमा ३५ करोड रूपैयाँ हजम गरे । अहिले फेरि देउवा शक्तिमा आउने भएपछि हाइसञ्चो मानिरहेका छन् ।
एक वर्षअघि ६० करोडमा ठेक्का लगाउने तयारी गरिएको अमलेशगञ्ज इन्धन भण्डारण डिपोको ठेक्का एक वर्षपछि २० करोड बढीको सेटिङमा दिइयो । त्यो काम समानान्तर कम्पनीका अच्युतप्रसाद खरेल र रेलिगेयर कन्स्ट्रक्सनका शेरबहादुर केसीले पाए । अच्युत तिनै व्यक्ति हुन्, जसले केपी ओली प्रधानमन्त्री हुँदा ठाडो आदेशमा सर्वोच्च अदालतको नयाँ भवनदेखि गोदावरी कन्भेन्सन सेन्टरसम्मको निर्माणको काम पाएका थिए । कमसल काम गरेर पैसा बिचौलियालाई बुझाउँथे । अहिले इन्धन भण्डारण डिपोको काम गरेको अनुभवको अभावकै बीच ठेक्का हात पारेका छन् ।
अनुभवको कीर्ते प्रमाणपत्रका भरमा अमलेशगञ्जको काम उनीहरूले पाएका हुन् । उनीहरूले पोखरा इन्धन भण्डारण डिपोमा काम गरेका हुन् तर प्राविधिक इञ्जिनियरिङ हैन, सिभिलतर्फको । त्यहाँ भारतले ट्यांकको डिपो बनाउँदा उनीहरू सबकन्ट्र्याक्टर थिए । त्यस्तोमा प्राविधिक ठेक्काको प्रमाणपत्र दिन मिल्दैन । तर, आयल निगमबाट उमेश थानीले त्यही आधारमा अनुमति दिए । अर्कातिर, पोखरा डिपोको काम नसकिँदै त्यो संरचना बनाएको हो भन्ने प्रमाणपत्र दिइयो ।
यसबारे अख्तियारमा उजुरी परेपछि उद्योग मन्त्रालयले राधिका अर्यालको नेतृत्वमा चार सदस्यीय समिति बनायो । त्यसले ‘अनियमितता देखिन्छ, थप छानबिन गर्नुपर्ने’ भन्यो । आइतबार सरकार छाड्दा एमाले मन्त्री दामोदर भण्डारी पनि उद्योगबाट बाहिरिए । उनले छानबिन समिति बनाउने निर्णय गर्नासाथ मन्त्री छाडे । अहिले समानान्तरका अच्युत खरेलहरू ‘अब शेरबहादुर आए’ भन्दै खुशीयाली मनाइरहेका छन् । उनीहरूले चुनावको मुखमा ३५ करोड झ्वाम पारिसकेका छन् ।
टिप्पणीहरू