बैंकका कर्मचारीमाथिको आक्रमण रोक्न सरकार गुहार्दै सिबीफीन
बैंक तथा वित्तिय संस्था परिसंघ (सिबीफीन) ले बैंक तथा वित्तिय संस्थाका कर्मचारीमाथि आक्रमण तथा लुटपाटका शृंखलावद्ध घटनाले बैंकिङ क्षेत्र तरंगित भएको बताएको छ ।
कर्जा नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीमाथि भइरहेको आक्रमणले समग्र बैकिङ क्षेत्र नै तरंगित भएको सिबीफीनले बताएको हो । बैकिङ सेवाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भइरहेका उच्छुङ्खल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथिको आक्रमण रोक्न पनि उसको माग छ ।
त्यस्तै, कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरुलाई कारबाही गर्न सिबीफीनले भनेको छ । ‘कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’, आज जारी विज्ञप्तिमा भनिएको छ ।
मुलुकको अर्थ व्यवस्था धरासायी बनाउने गरी रचिएका यसप्रकारको क्रियाकलापबाट हुने क्षति राज्य र आम नागरिकले नै व्यहोर्नपर्ने सिबीफीनको भनाइ छ । साथै, अर्थतन्त्रको रक्तसञ्चारको रुपमा रहेको बैकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन गर्ने अवस्थाको सृजना गर्न आग्रह गरेको छ ।
पछिल्लो समय मेडिकल बिचौलिया भनेर चिनिने दुर्गा प्रसाईं 'मार्सी' को राजसंस्था पुनर्स्थापित गराउने महाभियान 'कालोमोसो अभियान दस्ता' नै बनाएर बैंक तथा वित्तीय संस्थाविरुद्ध आक्रमकरुपमा लागेको छ ।
टिप्पणीहरू