शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग राख्न मिल्दैन्’
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग राख्न नमिल्ने बताउनुभएको छ ।
शान्ति प्रक्रियालाई भाँड्न खोज्नु सिङ्गो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षडयन्त्र भएको बताउँदै उहाँले यसलाई संविधानको मर्म र भावनाबाट अलग राख्न नमिल्ने धारणा व्यक्त गर्नुभएको हो । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुयाउनुको विकल्प नभएको उल्लेख गर्नुभएको छ ।
‘शान्ति प्रक्रियालाई संविधानको मर्म र भावनाबाट अलग गर्न मिल्दैन । यस प्रक्रियालाई भाँडन खोज्नु सिङ्गो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षडयन्त्र हो’, शर्माले भन्नुभएको छ,‘प्राप्त उपलब्धिको रक्षा गर्न शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुर्याउनुको विकल्प छैन् ।’
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध फौजादारी ऐन आकर्षित हुनेगरी सर्वोच्च अदालतमा रिट दर्ता भएको सन्दर्भमा शर्माको यस्तो धारणा आएको हो ।
प्रधानमन्त्री प्रचण्डको तीन वर्ष पुरानो अभिव्यक्तिलाई आधार मान्दै सर्वोच्चमा फौजदारी मुद्दा दर्ता भएपछि राष्ट्रिय राजनीति तरंगित भएको छ । आफूलाई १७ हजारको हत्याराको रुपमा सार्वजनिक टिप्पणी गरेपछि तीन वर्षअघि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धमा त्यतिबेलाको राज्यपक्षबाट १२ हजारभन्दा बढी मानिस मारिएको भन्दै माओवादीबाट भएको क्षतिको जिम्मा आफूले लिने बताउनुभएको थियो ।
टिप्पणीहरू