फ्रान्स र रुसको भारत हडप्ने चाहना

फ्रान्स र रुसको भारत हडप्ने चाहना

त्यहाँबाट अलग अलग बाटो भएर पर्सिया तर्फ निस्कने योजनाअनुरूप क्रिस्टी हेरातको बाटो भएर मेसाद हुँदै इस्फाहानतर्फ लागे भने पोटिंगर नुस्की, हेरात, कुलुगान, मक्रान, करमान, गुल, मुग्सी हुँदै अनेकों बाधा ब्यवधान, लुटेरा डाँकुहरूको बिगबिगी, सर्वत्र मुस्लिम मुल्लाहहरूको केरकार, भेष बदल्नु पर्ने स्थिति पार गर्दै प्रसिया भित्रिए । एउटाले २२५० र अर्कोले २४१२ माइलको यात्रा तय गर्दै अलग अलग बाटोबाट तीन महिनापछि पर्सियाको इस्फाहानमा एक आपसमा भेटे । खतरनाक, दुर्गम तर सामरिक महत्वको क्षेत्रको साहसिक यात्रा गरेको कारण रोयल ज्योग्राफिकल सोसाइटीले उनीहरूलाई गोल्ड मेडल प्रदान गर्‍यो । 

यसैबीच नेपोलियन र जारको मित्रता टुट्यो किनकि नेपोलियनले भारत हैन पहिला रुसमाथि करीव ४ लाख फौजद्वारा आक्रमण गरे । रुसको पतन भयो भन्ने हल्ला युरोपभरि फैलियो । तर बेलायती जासुसहरूद्धारा विस्तारै फ्रान्सेलीहरूको नराम्रो हार भएको जानकारी लिन सफल भए । रुसीहरूले डटेर नेपोलियनका सैनिकहरूको सामना गरे । स्कर्च अर्थ पोलिसी अपनाएर आफ्ना सारा खाद्य मैदानहरू जलाए, जाडोको याम पर्खिए । एक आपसको लडाइँले भन्दा हिमपात र भोकमरीले फ्रान्सेली मारिए । भनिन्छ, फ्रान्सेली सैनिक भोक मेट्नको लागि मान्छेको मासु समेत खान बाध्य भए । विश्व विजय गर्छु भन्ने नेपोलियन भिल्नियसको बाटो फर्कंदा जम्मा ९ हजार सैनिक मात्र साथमा थिए । १८१३ मा भएको भियना सन्धिमा रुसी जार अलेक्जाण्डरले युरोपको नयाँ नक्सा बनाउन सुझाव दिए तर बेलायतीहरू यसमा सहमत हुन सकेनन् । 

रुसले ब्यापक सैनिक शक्ति बढाएको रिपोर्ट जनरल रबर्ट विल्सनले पाए । यसले बेलायतीहरूको कान ठाडो भयो । नेपोलियनको युद्धमा ककेसस क्षेत्रबाट रुसी सैनिकहरूको कटौती गरेको कारण पर्सियाले मौका छोपेर रुसले गाभेको क्षेत्रहरू प्राप्तिको लागि आक्रमण गर्‍यो । नेपोलियनलाई घुँडा टेकाएपछि रुसले पर्सियालाई बदला लिन २९ वर्षे जनरल कोतालिरेभ्स्कीको कमाण्डमा पर्सियाविरुद्ध सैन्य परिचालन गर्‍यो । शाहले आफ्ना छोरा अब्बास मिर्जालाई सैनिक नेतृत्व दिएर पठाए । त्यतिबेलासम्म क्याप्टेन क्रिस्टी पर्सियन सेनाहरूलाई तालिम दिंदै बसेका थिए । बेलायती जनरल माल्कोमले नेपोलियन युद्धको कारण रुस सँगको सम्बन्ध राम्रो रहेको कारण सवै बेलायतीलाई फर्कन आदेश दिए । तर क्याप्टेनले बेवस्ता गरेर पर्सियन सेनालाई साथ दिए । पर्सियन राजकुमारले सैनिकलाई वापस गर्न थाले । यसैबीच, क्याप्टेन क्रिष्टी रुसी गोलीबाट घाइते भए । रुसी गस्तीले बेलायती सैनिक घाइते भएको खबर जनरललाई गरायो र बेलायती क्याप्टेनलाई आत्मसमर्पण गर्न भन्यो । तर रुसीहरूको कब्जामा पर्नुभन्दा क्याप्टेन क्रिष्टी मर्न निको ठानेर घाईते अवस्थामा रुसी ६ जना सैनिकलाई मारिदिए । 

अन्ततः रुसी कजाक सेनाको गोलीबाट पर्सियन भूमिमा क्याप्टेन मारिए । यो युद्धमा पर्सियन सैनिकको ठूलो क्षति भयो र रुसी सेना क्यास्पियन सागरतर्फ अघि बढ्यो । लेक्नोरानमा रहेको अभेध्य किल्लामा आक्रमण गर्‍यो । किल्लामा बम बिस्फोटन गराउँदा रुसी जनरल कोतालिरेभ्स्की नराम्रो घाइते भए । उनले जारलाई जानकारी गराए कि ४००० पर्सियन कुनै पनि भाग्न नदिइकन संगिनको निशानामार्फत ध्वस्त पारियो भनेर । जारले अदम्य साहसको कदर गर्दै जनरललाई उच्चतम पदक ‘अर्डर अफ सेण्ट जर्ज’द्वारा विभूषित गरे । रुसीहरूको थप यात्रा रोक्न बेलायतले पर्सियालाई युद्धविराम मार्फत अघि बढ्न सुझाव दियो । शाहले रुसीसमक्ष आत्मसमर्पण गरे । परिणामस्वरूप जर्जिया, बाकु रुसीको हातमा गयो भने क्यास्पियन सागर रुसी सागरको रूपमा परिणत भयो । नेपोलियनको भारत आक्रमण गर्ने समस्या भने सदाको लागि अन्त भयो । शाह बेलायतको भूमिकाबाट निरास बने । बेलायतले पर्सियाको सैन्य मिसनमा ब्यापक कटौती गर्‍यो । कुनै पनि बेलायती सैनिकलाई अर्को आदेश नहुन्जेलसम्म पर्सियाको तर्फबाट रुसीविरुद्ध लडाइँमा भाग नलिन कडा आदेश जारी भयो ।

टिप्पणीहरू