जर्नेललाई सत्ताइस लाख जरिवाना
जर्नेल प्रेम शाहीले ५९ दिनको हिरासत बासपछि २७ लाख रूपैयाँ जरिवाना तिरेर छुटकारा पाएका छन् । हतारहतार यो फैसला पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका पालादेखि महत्वपूर्ण विभागीय जिम्मेवारीप्राप्त ताराध्वज पाण्डेको कोर्ट मार्शलले गरेको हो । पूर्णचन्द्र र पाण्डेकी आमा दिदीबहिनी नाताका भएकाले त्यतिबेला शाहीसँगै यी पाण्डेको विशेष चहलपहल हुने गथ्र्यो । यसैअनुसार लाठी नभाँचिने र सर्प पनि मर्ने सिद्धान्तअनुरूप हल्का सजायँ गरिएको र सेनापति प्रभुराम शर्माले जस्ताको तस्तै पास गरेको बुझिएको छ ।
शाही काठमाडौंस्थित बूढानीलकण्ठ स्कूलबाट २०३८ सालका एसएलसी ब्याची हुन् । त्यसबेला सच्याउन नपरेको जन्ममिति एकाएक ३८ वर्षको जागिरे जीवनपछि किन मिलाउनुपरेको होला ? उनले स्कूलको साधारण लेटरप्याडमा जन्ममिति २०२२ साल नभएर २०२३ साल भएको पत्र २०७६ सालमा पेश गरेको देखिन्छ । पहिला जारी भएको क्यारेक्टर सर्टिफिकेटमा भने अघिल्लै मिति कायम छ । उमेर सच्याएर चिफ हुने ध्याउन्नका कारण शाहीले यस्तो काम गरेको ठहर छानबिनको क्रममा भएको छ । त्यसबेला नागरिकतामा जन्म मिति नभएर उमेर खुलाउने चलन थियो । यसै आधारमा पछि महिना र गते सच्याई ५।६ महिना उमेर घटाएर जागिर खाइरहेका तीन तारे जर्नेलद्वय सीताराम खड्का र सरोजप्रताप राणाको सिको भएको दाबी पनि कसै–कसैले गरेका छन् ।
भनिन्छ, शाहीले उमेर सच्याइएको पछिल्लो नागरिकताका आधारमा किताब खानाबाट उल्लिखित मिति सच्याउने र अनुकूल समयमा वरिष्ठ जर्नेलहरूलाई पाखा लगाउँदै प्रधानसेनापति बन्ने सपना देखेका थिए । यसनिम्ति पहिलो चरणमा आपूmभन्दा अघिका जर्नेलहरू अशोक सिग्देल र ताराध्वज पाण्डेलगायतलाई फाल्ने, सिनियर जर्नेलहरूबीच फाटो ल्याउने, दुई वटा गुट चलाउने कामसमेत भएको भुक्तभोगीहरू बताउँछन् ।
एकादुई अफिसरबाहेक शाहीसँग झगडा परेका अधिकृत धेरै छन् । पूर्णचन्द्र सेनापति हुँदा ६ जना जर्नेलको जागिर गएको थियो तर ती कोही पनि अदालत गएनन् । उनले भने सर्वोच्च अदालतको स्टेअर्डरवाला पत्र प्रक्रियागत तवरले दर्ता नगरी सोझै कार्यालयमा हाजिर भएर ४–५ वटा पत्र जारी गरेका थिए । शाहीले अनन्त कार्कीलाई सेनापति बनाउने खेल पहिले नै सुरु गरे । त्यसपछि ४।५ जनाविरुद्ध फन्डा गर्न सके बाँकी एक दुई सिनियरलाई त्यत्तिकै तर्साउन र चिफ हुन सक्ने आकलन गर्दै फन्डामाथि फन्डा हाने भनिन्छ ।
विभिन्न समयमा शाहीविरुद्ध राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा दश वटाभन्दा बढी उजुरी परेको समेत जंगी अड्डातिर चर्चा छ । तर, तीमाथि कुनै सुनुवाइ भएन । यसै कारण उनले नेतृत्व र नीतिविरुद्ध नैं सर्वोच्च अदालतमा हाँक दिन हिम्मत गरेको सहकर्मीहरू बताउँछन् । ताराध्वजको फैसलाअनुसार २७ लाख रूपैयाँ जरिवाना तिर्नुपरे पनि शाही अस्पताललगायत कल्याणकारीको सुविधाबाट भने वञ्चित हुने भएका छन् ।
पूर्णचन्द्र थापाको कार्यकाल कम्तीमा १ वर्ष थप्ने र प्रभुराम शर्मालाई प्रधानसेनापति हुन नदिने उद्देश्यसहित खेल सुरु गरिएको पोल इमेल पत्राचारले खोलेको दाबी स्रोतले गरेको छ । शाहीको पक्षमा स्टेअर्डर जारी भएपछि सेनापति शर्माले करिब १५ जना भूतपूर्व सेनापति र विशिष्ट सैनिक अधिकृतलाई २८ पेजको रणनीतिक पत्र पढ्दै ‘अब के गर्ने’ भनी रायसुझाव मागेको जानकारी स्रोतले जनआस्थालाई बतायो । उनले अदालतको आदेश र युद्धको अवस्थालाई तुलना गर्दै चेनअफ कमाण्ड भङ्ग गर्नेविरुद्ध के गर्दा ठीक होला भन्दै चिन्ता प्रकट गरेका थिए । आनन्द अधिकारीलेझैँ खुरुखुरु रिटायरमेन्टलाई स्विकारेको भए शाहीलाई कुनै कारबाही हुने थिएन । तर, त्यसो नगर्दा पूर्वाग्रह र पुराना तुष पनि पोखिन गएको प्रष्ट देखिन्छ ।
अब हुने सेनापति को ?
भावी चिफका रुपमा प्रचारित हालका युद्धकार्य महानिर्देशक ताराध्वज पाण्डेलाई हेटाैँडामा हुँदा ठेक्कापट्टासम्बन्धी मुद्दा परेको थियो । तर, पूर्णचन्द्र थापाले जोगाए । २०५९ सालको संकटकालीन अवस्थामा गणपति रहेका पाण्डे युद्ध लड्न छोडेर घाइते सैनिक जवानहरूलाई छोडी भागेका थिए । त्यसबेला उनले कमाण्ड सम्हालेको ७ महिना मात्रै भएको थियो । यो घटनापछि तत्कालै फिर्ता बोलाउने निर्णय भयो र जगदल गणका भरत खड्कालाई फिल्डमा खटाइयो । त्यसबेला फिल्ड कमाण्डर रुक्मांगद कटवाल थिए । त्यसबेला उनलाई जोगाउन पवन पाण्डेहरू मरिहत्ते गरेर लागे ।
सरोजप्रताप राणाको तीनतारेमा पदावधि २०८० साल कात्तिक १२ गते दुई वर्ष पुग्छ । थप म्यादको प्रावधानअनुसार उमेर सच्याएका कारण उनले ३ महिना बढी जागिर लम्ब्याउन सक्ने अवस्था छ । उनको अवधि थपियो भने ताराध्वज रिटायर्ड हुने उमेरमा पुग्नेछन् । यसैले ‘युद्धमा भगुवा– ठेकेदारसँग मगुवा’ भनेर टिप्पणी गरिएका पाण्डे प्रधानसेनापतिको लाइनबाट कट्ने खतरा पनि उत्तिकै छ भनिन्छ ।
टिप्पणीहरू