ओलीद्वारा त्यसदिन झलनाथको नाममा ठाडै आपत्ति :

पार्टी मिलाएर आफैँ प्रधानमन्त्री

ओलीद्वारा त्यसदिन झलनाथको नाममा ठाडै आपत्ति :

‘प्रचण्डले छोडे पनि शेरबहादुरले हामीलाई हुन दिन्न । त्यसैले पार्टी मिलाऔँ, ठूलो पार्टी बनौँ !’ एमाले अध्यक्ष केपी ओलीका यी धारणा सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, ‘उसो भए राष्ट्रपति जेएन कमरेडलाई बनाएर जाऔँ न त !’ अनि, केपीले कड्किँदै भन्नुभयो, ‘कुरै नगर्नुस्, त्यो त हुँदै हुँदैन ! जेएनलाई राष्ट्रपति बनाएर पनि केही पार लाग्छ र ?’

भोलिपल्ट, अर्थात् फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने दिन, त्यसको अघिल्लो दिन, १२ गते दिउँसोको कुरा हो यो । जतिबेला समय थियो, त्यतिबेला ओलीले आफ्नो कुरामा टसमस नभई अडान लिइरहनुभयो । जब सब चिज आफूबाट फुत्किने भयो, केही नपाइने भएपछि बनिसकेको समीकरण पनि किन सग्लो राख्ने ? भन्ने मानसिकताका साथ उक्त भेट भएको थियो ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालको कम्पाउण्डभन्दा ठीक पछाडि पूर्व श्रममन्त्री किसान श्रेष्ठको घरमा केपी–माधव भेटिनुभएको हो । आफू प्रधानमन्त्री बन्नका निम्ति कांग्रेस बाधक बन्ने कारण ‘मिलौँ र ठूलो पार्टी बनौँ’ भन्न रहेछ केपी त्यहाँ पुग्नुभएको । अघिल्लो भेट पनि त्यहीँ भएको थियो ।  उक्त भेटमा माधवले झलनाथलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा धुँवादार विरोध गर्ने केपी १२ गते पुग्दाचाहिँ ‘सबैथोक गरौँ, अब तपाईं पनि धेरै नअल्मलिनुस्, राष्ट्रपतिमा तपाईंले नै नोमिनेशन गर्नुस्’ भन्न पुग्नुभयो । यसरी आफ्नो प्रधानमन्त्री पदका लागि ‘मिलौँ’ भन्ने उहाँले माधवले अगाडि सार्नुभएका प्रस्तावचाहिँ नमिल्ने मात्रै हैन, ‘हुँदै हुँदैन, वाहियात कुरा’ भन्दै सीधै नकारिदिनुभयो । अघिल्लो भेटमा ‘राष्ट्रपति त माओवादीले हामीलाई पुस १० मै दिइसकेको हो । अब अर्को कुरै हुँदैन’, भन्ने ओलीको अडान थियो । १२ गते कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति भइसकेपछि महाराजगञ्ज पुग्दा ‘हैन, हैन, तपाईं नै हुनुस्’ भन्नका लागि उहाँ पुग्नुभएको थियो । 

माधवले एमाले र एकीकृत समाजवादीमात्रै एकता गर्नेभन्दा पनि २०७५ जेठ २ कै स्थितिमा फर्किएर नेकपालाई नै ब्युँताउनका लागि आफूहरुको तर्फबाट केपीलाई पठाइएको सन्देशबारे उहाँको धारणा माग गर्नुभयो । किनभने, माओवादी र जसपासहितको छलफलमा ओलीले नेकपा व्युँताउन मानेको अवस्थामा मिलेर जान सकिने सहमति भएको थियो । तर, बालकोटबाट त्यसबारेको सन्देशमा कुनै प्रतिक्रिया आएको थिएन । १२ गतेको भेटमा ओलीले भन्नुभयो, ‘खै, मलाई थाहा छैन, केही खबरै आएको छैन । कुन नेकपा ? कस्तो नेकपा ? मलाई कसैले यसबारेमा भन्दै भनेनन् !’ केपीको यस्तो कुरा सुनेपछि अब कड्किने पालो आयो किसान श्रेष्ठको । ‘ए कमरेड, के भन्नुभएको ? तपाईं यसरी सीधासिधी ढाँट्ने ? जे पायो त्यही बोल्ने ? मैले नै भन्या हैन र तपाईंलाई, मलाई यसो–यसो भन्नु भनेर पठाउनुभएको छ भनेको ?’ किसान कड्किएपछि केपी चुप लाग्नुभयो ।

यो घटनासँगै एमालेले पाएर बाँकी रहेका तीन वटा प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु, संघीय संसदमा सभामुख र एमालेकै चाहनाअनुसार रास्वपाले पाएको उपसभामुखका पदहरु पनि संकटमा परेका छन् । तत्कालका निम्ति अबको राजनीतिक परिदृश्यमा एमालेले खेल्न सक्ने एक मात्र ठाउँ हो, संवैधानिक परिषद् । त्यसको बनावटभित्र ऊ प्रष्ट बहुमतमा छ । यद्यपि, उक्त परिषद् बहुमत–अल्पमतका आधारमा नभई सर्वसम्मत ढंगले चल्नुपर्ने संविधानको भावना छ । संवैधानिक परिषद्को सदस्य हुनेमध्ये राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको सभामुख र विपक्षी दलको नेता एमालेसँग हुने छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ओलीप्रति सदाशयता राखेमा त्यहाँ पनि एमालेले खेल्ने ठाउँ हुन्छ । इन्दिरा रानामगरलाई उपसभामुख आफूले बनाएको जस लिइरहेको कारण एमालेले उनलाई आफूसँग निकट राख्ने स्थिति हुन सक्छ ।

– विश्वमणि सुवेदी

 

टिप्पणीहरू