न्यायाधीशको बुहारी नै तस्करीमा !
लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा तस्करी उस्तै छ । संसदीय निर्वाचनताका खुलेआम चलेको तस्करीको अनुपात त्यतिबेला भन्दा अहिले केही घटेकोे भए पनि अझै नियन्त्रणमा आउन नसकेको देखिएको छ । जिल्लाको साढे ५९ किमि खुला बोर्डरको फाइदा उठाउँदै तस्करहरूले धन्दा चलाउँदै आएका छन् ।
बुटवलको रामनगर र हाटबजार लाइनका व्यापारीले महिला क्यारियर राखेर तस्करी गराइरहेका छन् । स्रोतका अनुसार दैनिक १५ थानसम्म साडी सुनौलीबाट ल्याउने महिला क्यारियरले बुटवलको पसलमा पुर्याउने गरेका छन् । चलनचल्तीको भाषामा पोके भनेर चिनिने तिनले दैनिक सामान ओसारेर गुजारा चलाउनेको देखिन्छ । स्रोतका अनुसार पोकेहरू गरिब र विपन्न परिवारका मात्रै नभएर सम्भ्रान्त परिवारका पनि छन् ।
केही दिनअगाडि पोके व्यापारीको रूपमा रहेकी महिला क्यारियर्सलाई पक्राउ गरी दुई दिन थुनामा राख्दा उनी न्यायाधीशको बुहारी रहेको खुलेको थियो । एक जना न्यायाधीशले उच्च तहका कर्मचारीलाई फोन गरी अन्ततः ती बुहारीलाई छोरा पठाएर बुझी लगेका थिए । ‘ममी कहिले साथीकोमा जान्छु, कहिले बजार जान्छु भनेर निस्कने गरेको त यस्तो काममा पो हुनुहुँदोरहेछ’ छोराले अचम्म मान्दै भने ।
दैनिक ४०–५० जनाजत्ति महिलाले यतिबेला सीमावर्ती बजार सुनौलीदेखि भैरहवा–बुटवलसम्म सामान पु¥याउने काम गर्छन् । उनीहरूलाई रोक्न खोज्दा केही हप्ता पहिले सशस्त्र प्रहरीका केही जुनियर अधिकृतले पिटाइ खानुपरेको चर्चा छ । प्रहरीका घुमुवासँग दोस्ती गरेर उनीहरूले भारतबाट सहजै समान ल्याउने गरेको स्थानीयले बताएका छन् ।
एकजना स्थानीयले भने, ‘घुमुवालाई सबै पोकेको बारेमा थाहा हुन्छ तर उनीहरूले केही गर्दैनन् । यसो मिडियाले लेख्यो, माथि मन्त्री फेरियो, पुलिसको हाकिम फेरियो भने हप्ता दिन पूरै ठप्प हुन्छ, फेरि विस्तारै खुल्दै जान्छ ।’ यतिबेला रूपन्देही जिल्लामा मर्चवारबाट मियाँ भन्ने व्यक्तिले चिनीको, चिनक र बेचनले कुखुराको तस्करी गरिरहेका छन् ।
यसैगरी, सप्तार र सञ्जयले पारु र राजकुमार नामक २ जना भारतीयसँगको सहकार्यमा हार्डवेयर र मोबाइल फोनको तस्करी गराइरहेका छन् । शंकरापुर नाकाबाट प्रमोद र अनिलले साइकलमार्फत चिनी ल्याइरहेका छन् । शेषमान, अशोक, रामजीले किराना र हार्डवेयरको, पाठकले मिठाइको, नैन र अब्दुलले कपडाको कारोबार गर्ने गरेको स्रोतले बताएको छ ।
टिप्पणीहरू