सुन समात्न झन् सजिलो
हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बनोट या अध्यागमनको विडम्बना नै यस्तो छ कि, त्यहाँबाट सुनसहित विदेशी नागरिकहरु समातिएका समाचार त प्रशस्तै सुनिँदै आएको छ । तर, त्यसभित्र कस्तो पीडा रहेछ भन्नेमा सरकारले ध्यान दिएकै छैन ।
जहाजबाट ओर्लेर भेडाबाख्रासरि ग्वाग्र्वारी अराइभलतर्फ आउँदा यात्रुहरु सीधै अध्यागमनतिर ठोक्किन्छन् । ट्रान्जिट कता हो तिनलाई हेक्का नै रहन्न । त्यहाँ केही जाँच हुँदैन । त्यसो भएपछि कसैमा केही कैफियत रहेछ भने पनि भ¥याङ मुन्तिर भन्सारको घानमा पर्ने भयो । कतिपय यात्रु ट्रान्जिटका लागि ओर्लिएका हुन्छन् । त्यस्ता यात्रुले कता जानुपर्छ भन्ने कुराको खासै संकेत, सूचना छैन ।
नेपालको भन्सार नियमअनुसार विदेशबाट आउने यात्रुले ५० ग्रामसम्म सुन ल्याउन पाउँछ । जबकि छिमेकी बंगलादेशको हकमा एक यात्रुलाई १ सय ५० ग्रामसम्म ल्याउने छूट छ । यसैकारण कुनै देशबाट बंगलादेश जानका लागि काठमाडौं हुँदै अर्को जहाज चढ्नुपर्ने थुप्रै यात्रु ‘अवैध’ भनिने सुनसहित समातिएर हैरानीसहित जेल सजायँ खेप्दैछन् । त्यसो गर्दा नेपालको कानुनअनुसार बढी ल्याउने मान्छे समातिने र नेपालमा तस्करी बढी हुन्छ भन्ने प्रचार हुने भयो । यसको सोझो मारमा परेका छन्, विदेशी । किनभने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट एयरपोर्ट हैन ।
तर, हङकङबाट आउने ड्रागन एयरले ढाकालाई गन्तव्य बनाएर काठमाडौंलाई ट्रान्जिट बनाउँछ । मलेसिया रुटमा उड्ने हिमालय एअरलाइन्स र भुटानबाट दिल्ली जाने ड्रुक एअरले पनि गर्ने यही हो । सिष्टमबाट अनअराइभल भिसा लिएपछि कुनै पनि यात्रुलाई अध्यागमन कानुनले ट्रान्जिट मान्दैन । अर्थात्, ती यात्रु अर्को देश जानका लागि ओर्लिएको बुझिँदैन, नेपाल नै छिरेको ठानिन्छ । भन्सारले त्यही बुझेर सुन बरामद गर्ने भयो । यसरी दुःख विदेशीले पाउने, तस्करीको बदनामीचाहिँ नेपालले बोक्नुपर्ने अवस्था छ ।
टिप्पणीहरू