कमिटी प्रणालीको के काम लाग्यो र कमरेड ?

कमिटी प्रणालीको के काम लाग्यो र कमरेड ?

विशाल पार्टी छ, केन्द्र, प्रदेश, क्षेत्र, जिल्ला गाउँ, वडासम्म कमिटी छन् र ती सबैमा अध्यक्षदेखि सदस्यहरू चुनिएर काम गरिरहेका छन् । तिनले छलफल गर्छन्, वादविवाद गर्छन्, सहमति गर्छन् र एउटा निश्कर्ष पनि निकाल्छन् । तर तिनका ती वादविवाद, छलफल र निश्कर्षको उतिधेरै महत्त्व हुँदैन । कमिटीका जिम्मेवार पदाधिकारीको पनि कुनै गणना हुन्न । कमिटीहरूलाई आफ्नो अधिवेशन उद्घाटन गर्ने अधिकार/अनुमति रहन्न । कमिटीले आफ्नो पदाधिकारी छान्ने अधिकार राख्दैन ।

अधिवेशनको उद्घाटन अध्यक्षले केन्द्रबाटै गर्छन् । महाधिवेशन हलमा प्रतिनिधिको अघिल्तिर उभिएर कोटको खल्तीबाट उम्मेदवारको नाम घोषणा गर्दिन्छन् र तिनका विरुद्ध प्रतिस्पर्धामा खडा भएका जतिलाई भोट नदिन र हराउन भनेर पम्प्लेट नै वितरण गर्छन् । हालसालैको ताजा कुरा गरौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार माकेसँग मिलेर बनाउने भन्ने रहँदासम्म अरु नै थिए । तिनीहरूको नामको चिर्कटो अध्यक्षको खल्तीमा पहिलेदेखि थियोे । तर जब ती उम्मेदवार पराजित हुने अवस्था उत्पन्न भयो तिनको चिर्कटो खल्तीमै लुकाएर सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्यको नाम लेखिएको नयाँ चिर्कटो सार्वजनिक भयो र उम्मेदवार नै बनाइयो ।

माथि उल्लेख गरिएका कुराजति सबै एकल निर्णयमा गरिएका थिए । व्यक्तिगत चाहनामा गरिएका थिए । तर, यसका विरुद्ध वा विपक्षमा एमालेभित्र आवाज उठेन । जे–जतिले उठाउने कोसिस गरे तिनीहरूलाई महाधिवेशनबाट ठेगान लगाउने र त्यहाँबाट ठेगान लाग्न नसकेकालाई संसदको चुनावमा टिकटबाट वञ्चित गरेर पाखा लगाउने काम भयो । आज ती असहमति जनाउनेहरूमध्ये केही पार्टीबाट अलग हुन बाध्य भए भने केही भूमिकाविहीन बनाइएका छन् । यस्तो परिस्थिति पनि एकल चाहनामा बनेको हो । पार्टीको पुरापुर संरचना छ, मान्छेहरूले काम पनि गरिरहेका छन् तर जब पार्टीले निर्णय के लिने भन्ने अवस्था बन्छ त्यो बेला पार्टी मनोविज्ञानको विपरीत, अरु नेता–कार्यकर्ता र जनताकै समेत भावना र आवश्यकताको विपरीत एक व्यक्तिको निर्णय लागू हुन्छ । यो कुरा न जनवाद हो न त लोकतन्त्र नै र त्यो केन्द्रीयता पनि होइन । हो त तानाशाही । 

अहिले एमालेसँग मित्रशक्तिहरू छैनन् । ऊ नितान्त एक्लो छ राजनीतिमा । एमालेसंग मित्रशक्तिको होइन कि जनआन्दोलनले फालेको, क्रान्तिले फालेको शक्तिको सामिप्य देखिन्छ । यसको प्रमाण नै छ । यसपटकको चुनावमा आफ्ना मित्र शक्तिहरू मात्रै नभएर आफ्नै विचारधारामा समाहित हुनसक्ने शक्ति र व्यक्तिहरूलाई हराउन एमालेले क्रान्तिले फालेको शक्तिसंग गठजोड गर्न पुग्यो । अध्यक्ष स्वयंले आफू समेतले लडेर फालेको व्यवस्थाका पक्षमा रहेको दलको समर्थनमा चुनाव जितेका हुन् र उनले त्यस दललाई देशभरिबाट जिताउन पूरापुर सहयोग पनि गरेरै हुन् । एउटा वामपन्थी तथा लोकतान्त्रिक दलले यसरी आफू जित्न र आफूसँग असहमति राख्नेहरूलाई हराउन दक्षिणपन्थीसँग गठजोड गर्नु सर्वथा अनुचित, लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम त हो नै, अलि गहिरिएर हेर्ने हो भने यो गणतन्त्र र संविधानविरोधी काम पनि हो ।

कुनै पनि भक्तले कहिल्यै पनि प्रश्न गर्दैन, उसको काम  प्रवचन सुन्ने, प्रसाद खाने हो । 

जब कमिटीको निर्णय कागजको खोस्टोसरह हुन्छ, त्यसको कुनै महत्त्व रहँदैन त्यसपछि त्यहाँ एक व्यक्तिको निर्णयमा सबै कुरा हुन संभव हुन्छ । त्यहाँ असहमतिको अ उच्चारण गर्ने कोही रहँदैन । किनभने त्यहाँभित्रकाहरू पार्टीका कार्यकर्ता नभएर व्यक्तिका भक्तमा रूपान्तरण भएका छन् । कुनै पनि भक्तले कहिल्यै पनि प्रश्न गर्दैन, उसको काम केवल प्रवचन सुन्ने, भक्ति गाउने, स्तुति गाउने र प्रसाद खाने हो । यही प्रसादको लोभमा भक्तगण आइ लभ यु बा भन्न अभिशप्त छ । यस्तो कुराले एमालेमा जनवाद होइन व्यक्तिवाद छ, पार्टी सामुहिक निर्णयमा होइन एकल निर्णयमा चल्छ र त्यहाँ असहमत हुनेहरूको निम्ति लोकतान्त्रिक ठाउँ छैन भन्ने कुरालाई नै दर्शाउँछ । 

एमालेलाई एक हिसाबले हिन्दूवादी बनाएर बहुसंख्यक हिन्दूहरूलाई धु्रवीकरण गर्ने काम पनि अध्यक्षकै नेतृत्वमा शुरु भएको देखिन्छ । यसतर्फ धेरैको ध्यान पुगेको पाइन्न । एकापट्टी पशुपतिमा सुनको लेपन लाउन राज्यकोषबाट पैसा खन्याउने काम भएको हामीले देख्यौं भने त्यसको साथसाथै रामको जन्म नेपालमा भएको भन्दै मूर्ति निर्माण गरी त्यसमा प्राण भरेर ठोरीतिर रथ पठाउने काम भएको पनि देख्यौं । एमालेका मन्त्री र सांसदहरू गाउँ–गाउँमा गएर सप्ताह, रुद्री तथा सत्यनारायण पूजामा सहभागी हुन थालेका छन्, भजनकिर्तन गाउँदै चन्दन लगाएर नाच्दै हिँडेका छन् । अध्यक्ष स्वयंले रुद्राक्षको माला लगाएर सूर्यलाई भगवान भन्दै सन्देश बाँडिरहेका देखिन्छन् । यो भनेको हिन्दूहरूलाई खुशी पार्ने, उनीहरूको पोलराइजेशन गर्ने र चुनावमा भोट लिने उद्देश्य हो ।

अर्थात् एमाले र खास गरेर यसका अध्यक्षले धर्मलाई चुनाव जित्ने अस्त्र बनाउन खोजिरहेका छन् । । अर्कोतर्फ देशले मिल्काएको दक्षिणपन्थी हिन्दूवादी शक्तिसँग निरन्तरको गठजोडले पनि हिन्दु पोलराइजेशनलाई नै सहयोग गर्नेछ । आज त ठीकै जस्तो देखिन्छ किनभने यसो गर्दा चुनावमा ओलीले जित्ने र असहमत हुनेहरूलाई हराउने सफलता मिलेको छ । तर, यसले भविष्यमा धार्मिक असहिष्णुता र बहुसंख्यकवादी विचारलाई बढावा दिने कुरालाई मनन गरेको देखिन्न । हामीले ओलीको मनभित्र रहेको यो हिन्दूत्ववादी बहुसंख्यकवादी राजनीति गर्ने मनसुवालाई चिन्नुपर्छ । यो धेरै खतरनाक छ । यस्तो राजनीतिले समाजमा द्वन्द्व मात्रै ल्याउने काम गर्छ, समाजको हित गर्ने काम कहिले पनि गर्न सक्दैन । त्यसकारण यसको सशक्त विरोध र प्रतिवाद गर्नु आवश्यक छ । 

आजको दिनमा वामपन्थी कहलिएको ठूलो दल एमाले नै हो । यो दलले लिने कुनै पनि निर्णयले देशमा कुनै न कुनै किसिमको प्रभाव पार्छ नै ! यो दल वामपन्थी विचारधारामा चल्दा देशमा लोकतन्त्र मजबुत हुन बल पुग्छ । सामाजिक न्याय, भाइचारा र विकासको काम हुन सक्छ । एमाले वामपन्थी बन्दा देशको वामपन्थी बलियो हुन्छ । वामपन्थी बलियो हुनु भनेको देशमा शान्ति, समृद्धि, न्याय, समानता र लोकतन्त्र सुदृढ र बलियो हुनेतर्फ अघि बढ्ने वातावरण बन्नु हो । त्यसकारण एमालेको आजको रुझान जो वामपन्थीविरुद्ध छ त्यसको कडाभन्दा कडा तरिकाले विरोध गरिनुपर्छ । एमालेलाई सच्याएर वामपन्थी बाटोमा ल्याउन सबैले कोसिस गर्नुपर्छ तर यसको निम्ति धेरै मिहिनेत भने एमालेजनहरूले नै गर्नुपर्नेछ । र अर्को कुरा कि छिटोभन्दा छिटो गैरएमाले वामपन्थी दलले सही वामपन्थीको विकल्प दिन पहलकदमी लिनुपर्छ । आजको आवश्यकता वामपन्थी राजनीति नै हो दक्षिणपन्थी होइन । 
 

टिप्पणीहरू