ओलीको ‘३ बजे’ र वामदेवको विश्वास

ओलीको ‘३ बजे’ र वामदेवको विश्वास

कुनै दिन ‘म जाँदैछु’ भन्ने नक्कली रिपोर्ट देखाएर आफ्नै सहकर्मीलाई समेत भावुक बनाई काम लिन माहिर एमाले अध्यक्ष केपी शर्मा ओलीले  पुस १० मा शेरबहादुर देउवासँग खेल्नुभएको ‘३ बजे’ को खेलपछि उहाँमाथिको विश्वसनीयताबाट नेपाली कांग्रेस पूर्णतः मुक्त भइसकेको छ । त्यसैले देशमा कांग्रेस–एमालेको सरकार बन्दैछ भन्ने कुरा हल्लामात्रै हो ।

बरु, जसपाले उठाउने उपराष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने भनी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच सम्झौता भएकै दिन यी चार दलबीच एउटा कागजमा हस्ताक्षर भएको छ । त्यसमा लेखिएको छ, ‘राष्ट्रपति नेपाली कांग्रेस, उपराष्ट्रपति जसपा, प्रधानमन्त्रीमा माओवादी केन्द्रलाई दुई वर्ष, नेपाली कांग्रेस र एकीकृत समाजवादी साढे एक–साढे एक वर्षका दरले आलोपालो !’ र, अबको राजनीति यही लयमा अगाडि बढ्दैछ । त्यसैले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको दिन एमाले अध्यक्ष ओलीले कांग्रेससँग आगामी दिनमा सहकार्य हुने भनी गर्नुभएको संकेत भ्रम सिर्जना गर्ने, अन्यौलता फैलाउने उद्देश्यबाट प्रेरित रहेको चार दलीय सहमतिका साक्षी तथा जसपा नेता राजेन्द्रप्रसाद श्रेष्ठले जनआस्थालाई बताउनुभयो ।

ओली झुक्याउन कति माहिर हुनुहुन्छ भन्ने कुराको  भुक्तभोगी अहिले एकता अभियान चलाएर बस्नुभएका नेता वामदेव गौतम भुक्तभोगी हुनुहुन्छ । ०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा ओलीले वामदेवसँग आफूलाई समर्थन गर्न भन्नुभयो । वामदेवले सोध्नुभयो, ‘किन ?’ ओलीको भनाइ थियो, ‘मलाई एकचोटि पार्टीको अध्यक्ष हुने अन्तिम इच्छा छ ।  मपछि अध्यक्ष, प्रधानमन्त्री के–के हुने हो, त्यो तपाईं नै हो नि †’ वामदेव ‘यस्तो हावादारी कुरा नगर्नुस्’ भन्दै झर्किनुभयो । ओलीले ‘पत्याउनुस् न’ भन्नुभयो । वामदेवले ‘कसरी पत्याऊँ ?’ भनी सोध्नुभयो । फोनमा यस्तो कुराकानी भएको केही समयपछि विष्णु रिमाललाई ओलीले एउटा कागज दिएर वामदेवको पुल्चोकस्थित मन्त्री निवास पठाउनुभयो । त्यो थियो, कुनै विदेशी अस्पतालको प्रेसक्रिप्सन ! त्यसमा ओलीको निधन केही महिनाभित्र हुन्छ भन्ने व्यहोरा लेखिएको थियो ! यस्तो देखेपछि वामदेव भावुक हुनुभयो र ओलीलाई फोन गरेर भन्नुभयो, ‘कमरेड, तपाईं नआत्तिनुस्, सबथोक हुन्छ ।

अध्यक्ष तपाईंलाई बनाइन्छ, प्रधानमन्त्री पनि तपाईं नै । म तपाईंको साथमा छु । तपाईंको मृत्यु–सृत्यु केही हुँदैन, हामी तपाईंलाई बचाउँछौँ !’ लाग्न पनि वामदेव ओलीलाई अध्यक्ष बनाउन यसरी लाग्नुभयो कि, देख्नेहरु नै चकित परे । ओली अध्यक्ष हुनुभयो, त्यसबेला वामदेव गृहमन्त्री हुनुहुन्थ्यो । ओलीले आफू अध्यक्ष भएपछि वामदेवलाई प्रधानमन्त्री वा आफू प्रधानमन्त्री भएमा उहाँलाई पार्टी अध्यक्ष बनाउने भन्नुभएको थियो । तर, ओली अध्यक्ष हुनुभयो, वामदेव प्रधानमन्त्री हु्नुभएन । ०७२ असोजमा ओली प्रधानमन्त्री हुनुभयो, तैपनि वामदेव पार्टी अध्यक्ष हुनुभएन । वामदेवलाई साक्षी राखेर प्रचण्डसँग ६–६ महिनाको आलोपालो प्रधानमन्त्रीको सहमति भयो, ओलीले त्यो पनि कार्यान्वयन गर्नुभएन । उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि बल्ल राजीनामा दिनुभयो ।

वामदेवले पाउने कुरा त टाढाको भयो, भएका भूमिका, जिम्मेवारी पनि खोस्दै–खोस्दै पेण्डुलम बनाइयो । आज उहाँ यता न उता हुनुभएको छ । ‘तपाईंले साथ नदिएको भए ओली पार्टी अध्यक्ष बन्दैन थिए, प्रधानमन्त्री त झन् टाढाको कुरा थियो । आखिर किन ओलीलाई साथ दिनुभयो त ?’, एक महिनाअघि उहाँको घरमा पुगेका माधव नेपालपक्षीय केही पत्रकारले यस्तो प्रश्न गरेपछि उहाँले भन्नुभयो, ‘डाक्टरको रिपोर्ट देखाएर म मर्दैछु, मलाई साथ देऊ भनेपछि भावुक हुनुपरेन ?’

यसरी आफू ‘मर्दैछु’ भनेरसमेत झुक्याउने ओलीले पुस १० मा शेरबहादुरलाई ‘३ बजे’ भन्दै झुक्याउँदा अन्ततः आफैँ झुक्यानमा पर्नुभएको छ । प्रचण्डले उहाँलाई सभामुखको निर्वाचनसम्म मात्रै साथ दिनुभयो । त्यसपछि पुस १० अघिका सहयात्रीको बीचमा प्रतिवद्धता जनाउनुभयो, ‘अब कहिले पनि ओलीजीसँग मिलेर जाने कुरा हुँदैन । उहाँले सहकार्यको यति छोटो समयमै जे–जस्ता भूमिका, भनाइ र कार्यशैली देखाउनुभएको छ, त्यसले उहाँसँग मिलेर जान नसकिने भएको छ ।’ छलफलका क्रममा कांग्रेस सभापति देउवा र अन्य नेताले पनि ओलीलाई विश्वास गर्ने कुनै पनि आधार र कारण नभएको बताएका छन् । तसर्थ, छिट्टै एमालेसहित कांग्रेसको सरकार बन्ने कुरा सत्य हैन । नेताहरु भन्छन्, ‘भ्रम फिँजाएर धमिलो पानीमा माछा मार्ने चालबाजी मात्रै हो ।’ 

पुस १० गते बिहानभरिको कुराकानीमा देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न मान्नुभएन । कारण थियो, घरी विष्णु पौडेलहरुलाई पठाएर त घरी आफैँले फोन गरेर ओलीले देउवालाई तीन बजेको समय दिनु । ‘कुनै हालतमा हामी प्रचण्डलाई समर्थन गर्दैनौँ । तपाईं तयार हुनुस् । ठूलो दलको हिसाबले हैन, दुई वा दुईभन्दा बढी दलको प्रधानमन्त्री तपाईं नै हुनुस्, हामी नै मिलेर सरकार बनाऔँ’ भन्ने उहाँको भनाइ थियो । तर, तीन बज्दा पनि ओली बालुवाटार जानुभएन । बरु देउवाले समाचार सुन्नुभयो, प्रचण्डलाई बालकोट बोलाएर त्यहाँ अन्य दलको समर्थन जुटाई शीतल निवासतिर बीचैमा जान लागेको ।

देउवाले साढे तीन बजेतिर माधव नेपाललाई फोन गरेर भन्नुभयो, ‘प्रचण्डजीलाई लिएर आउनुस्, अब प्रधानमन्त्री उहाँलाई नै बनाउने हो !’ माधवले हाँसीहाँसी भन्नुभयो, ‘अब कहाँ आउनुहोला, उहाँ त अन्तै गएर प्रधानमन्त्री हुने हुनुभयो । त्यही पनि म प्रयास गर्छु ।’ त्यसबेलासम्म बालकोटमा सबै दलको हस्ताक्षर भई राष्ट्रपतिकोमा जाने तयारी चल्दै थियो । माधवले प्रचण्डलाई सोध्नुभयो । उहाँले ‘अब कुरा अर्कै भइसक्यो’ भनेर फोन राख्नुभयो । त्यतिबेलासम्म कांग्रेसका नेताहरुमध्ये कोही संघीय सरकारमा, कोही प्रदेश सरकारमा मन्त्री, मुख्यमन्त्री बन्नका लागि दौरासुरुवाल ठीक पारिरहेका थिए । तर, केही घण्टाको अन्तरालमा राजनीति यसरी बिग्रियो कि, कांग्रेसका सारा सपना चकनाचुर भयो । एउटा सानो छालले बालुवाको घर बगाएझैँ कांग्रेस नेताका इच्छाहरु शोकमा बदलिए । यसो हुनुको कारण थियो, ओलीको झुक्यान । 

त्यसैले अहिल्यै दुई प्रमुख दल कांग्रेस र एमाले मिलेर जाने सम्भावना देखिन्न । कांग्रेसले पाउने राष्ट्रपति पाइसक्यो । सरकारमा जानका लागि बाटो खुलिसक्यो । एमालेसँग जाँदा भन्दा प्रचण्डसहितको गठबन्धनमै ठूलो पार्टीका हिसाबले फाइदा हुने भयो । रामसहायलाई उपराष्ट्रपति दिने भन्ने हुँदा लोसपा र जनमत असन्तुष्ट थिए । किनभने, उनीहरु उपेन्द्रभन्दा बढी यादवविरोधी पार्टी हुन् । त्यसैले उनीहरुले समर्थन गरेनन् । सिके राउतहरु त पहिला महिला भन्दै थिए । उन्मुक्ति पार्टी पछि आफैँ मिसिन पुगेको हो । सिके राउतको भनाइ थियो, ‘हामीलाई नभनी चार दलले मात्रै किन निर्णय गर्नुभएको ? तपाईंहरु आफैँ निर्णय गर्ने भएपछि हामीले पनि मान्नैपर्छ भन्ने के छ र ?’ गर्न त उनीहरुले पनि आफैँ–आफैँ निर्णय गरेर गए । प्रचण्डले, ‘हैन, यसैलाई मान्नुस्’ भन्नुभयो । सिके राउतले ‘मित्रवत् प्रतिस्पर्धा गरौँ न त’ भन्दै कुरा टुंग्याए । 

– विश्वमणि सुवेदी
 

टिप्पणीहरू