कार्यालय खुल्दा मात्रै पुलमा हिँड्न पाइने

कार्यालय खुल्दा मात्रै पुलमा हिँड्न पाइने

सरकारी कार्यालय सञ्चालन बिहान १० देखि अपराह्न ४ वा ५ बजेसम्म हुने गर्छ । तर, महाकाली नदीमा राखिएका नेपाल—भारत जोड्ने दुइटा झोलुंगे पुलसमेत कार्यालय समयमा मात्रै सञ्चालन भइरहेका छन् । एक महिनाअघि मात्रै उद्घाटन गरी सञ्चालित मलघट्टे र मालघाट झोलुंगेपुल बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुरक्षाकर्मी परिचालनमा समस्या भएको बताउँदै कार्यालय समयमा मात्रै पुल खोलिरहेको छ । 

व्यास गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नम्बर ४ को सुन्सेरा र व्यास गाउँपालिका–२ को मालगाउँ जोड्ने गरी नेपाल सरकारको लगानीमा निर्माण गरिएका झोलुंगेपुल एक महिनाअघि मात्रै उद्घाटन गरिएका थिए । एसएसबीले पुल सुरक्षामा खटिने सुरक्षाकर्मीको आवास, खानेपानी, विद्युतलगायतको व्यवस्थापन नभएको भन्दै दैनिक १० देखि ४ बजेसम्म मात्रै पुल सञ्चालन गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । 

फागुन ४ गते पुल उद्घाटन भएकै दिन एसएसबीका अधिकारीहरूले दुबै पुलको सुरक्षामा खटिनेका लागि भरपर्दो सुरक्षा पोष्टको संरचना निर्माण नभएकाले पुल सञ्चालन १० देखि ४ बजेसम्म मात्रै गर्न सकिने बताएका थिए । हाल धारचुलाको पाङला र तावाघाटस्थित एसएसबीको सुरक्षा पोष्टबाटै पुल सुरक्षाका लागि एसएसबीका सुरक्षाकर्मी दिउँसोको समयमा मात्र पुलछेउ जाने गरेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । ‘पाङला र तावाघाटबाट दैनिक गाडीमा एसएसबीका सुरक्षाकर्मीहरू पुल सुरक्षाका लागि जाने गरेका छन्’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो । तावाघाटबाट मलघट्टे पुल ४ किलोमिटर दूरीमा पर्छ भने पाङलाबाट मालघाट पुल ३ किलोमिटर टाढा छ । 

झोलुंगे पुल निर्माणसँगै पुलको दुबैतर्फ सुरक्षा पोष्टको संरचना पनि नेपाली ठेकेदारले निर्माण गरिदिएको छ । तर, मलघट्टे पुलमा भारततर्फ बनाइएको सुरक्षा पोष्टको संरचना चर्किएर कमजोर भएकोभन्दै एसएसबीले २४सैं घण्टा सुरक्षाकर्मी उक्त ठाउँमा राख्न नसकिने बताएको छ । 

भारततर्फको पुलछेउमा खानेपानी र विद्युतको सुविधासमेत नभएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । भारततर्फबाट खानेपानी र विद्युत सुविधा तत्काल व्यवस्थापन गर्न नसकिने भएपछि नेपालबाटै खानेपानी र विद्युत सेवा पु¥याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । 

भारतको गस्कोक्षेत्र र नेपालको मालगाउँ जोड्ने अर्को झोलुंगे पुल (मालघाट)मा भारततर्फ पुलछेउदेखि सुरक्षा पोष्टसम्म हिँड्ने बाटो क्षतिग्रस्त छ । बाटोको कारण देखाउँदै मालघाटको पुल सञ्चालन पनि विहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै भइरहेको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । 

दुई देश जोड्ने दार्चुलाका अन्य सबै पुल बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने गरेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हेडक्वार्टर दार्चुलाले जनाएको छ । मलघट्टे र मालघाटका पुल पनि बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालनमा ल्याउन आग्रह गरिएको सशस्त्र प्रहरीका गणपति एसपी डम्बरबहादुर विष्टले बताउनुभयो । 

भारततर्फ एसएसबीका सुरक्षाकर्मी परिचालनमा समस्या भइरहँदा नेपालतर्फ भने पुलको सुरक्षा र सञ्चालनमा कुनै समस्या छैन । मलघट्टेमा नेपाल प्रहरी र मालघाटमा सशस्त्र प्रहरीको टोलीले नियमित सुरक्षा र सञ्चालन गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेयले बताउनुभयो । 

दार्चुलामा नेपाल—भारत जोड्ने ९ वटा नाका छन् । तीमध्ये व्यासको सीतापुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ भने बाँकी ठाउँमा झोलुंगेपुल बनाइएका छन् । मलघट्टे र मालघाटबाहेक बाँकी ६ वटा नाका बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुँदै आएका छन् । सदरमुकाम खलंगाका साथै तिगरम, दत्तु, जोलजीबी, बाकु र लालीमा दुई देश जोड्ने झोलुंगेपुलहरू सञ्चालनमा छन् । 
 

टिप्पणीहरू