‘विप्लव जुम्रा मार्दै, घाम ताप्दै हुनुहुन्थ्यो’

‘विप्लव जुम्रा मार्दै, घाम ताप्दै हुनुहुन्थ्यो’ – राजकुमार शर्मा, हाल कर्णाली प्रदेशका मुख्यमन्त्री

रुकुमबाट जनयुद्धको उद्घोषसँगै केही समय जिल्लामै काम गरें । ०५४ को अन्त्यतिर कर्णालीमा सरुवा भयो । दाङ झरें । कृष्णबहादुर महरा सरसँग भेट भयो । उहाँ उपब्युरो इञ्चार्ज हुनुहुन्थ्यो । तपाई कर्णाली जाने कुरा भा’छ, विप्लव र तिलकजी त्यतै हुनुहुन्छ भन्ने जानकारी दिनुभयो । विप्लब एक–दुई महिनाअगाडि मात्र कर्णाली जानुभा’को रै’छ । 

म गाडी चढेर कोहलपुर पुगेँ । सँगै कर्णाली जाने एकजना साथी त हुनुहुन्थो  तर आफ्नो विषयमा केही बताउनुभएको थिएन । चैते दशैँ आएको छ, मानेर जाउँला भन्नुभयो । मैले मानिनँ । बाध्य भएर मसँगै हिँड्नुभयो । पैदल जाँदै गर्दा साँझ प¥यो । बासस्थानको खोजी भयो । जहाँनेर सेनाको ब्यारेक छ, त्यहीँनेर बास बसाल्नुभयो– चिसापानीमा । मैले झोलामा केही किताब र डकुमेन्ट हालेको थिएँ ।

भोलिपल्ट गाडीमा जाने कुरा भयो । किताब र डकुमेन्ट रिस्क मोलेरै बोकें । गाडीको सिटमुनि खुट्टाले छलेर झोला राखेको थिएँ । सेना आएर हे¥यो, देखेन । ब्यारेक कटेपछि लामो सास तानेँ । त्यो दिन सुर्खेत पुगेर बसपार्कमा बास बसियो । गोजीमा धेरै पैसा थिएन । झोलामा दाल–चामल बोकेर हिँडेका थियौँ । भोलिपल्ट बिहान दैलेखको गाडी चढेर चुप्रा पुगियो । अलि अगाडि एउटा घरमा बास बस्याैँ । भाँडाकुँडा जुटाएर खाना पकायाैँ । पराल ओछ्याएर सुत्याैँ । एसएलसी चलिरहेको थियो । बिहानै प्रहरीसँग भेट भैहाल्यो । खानतलास गर्न थाल्यो ।

पाँच जनाको जिल्ला कमिटी थियो । दुई जना भागेर गएपछि तीन जना मात्रै भएका हौँ । अहिले त आकाशबाट खसेकाे, धर्तिबाट उम्रेजस्ताे ठान्छन् । 

हपार्दै सोध्यो : तिमीहरू काँबाट आयौ ?
मेरो बोली पनि टर्रो नै थियो । भनेँ, ‘जुम्ला जान लाग्या हौं ।’

प्रहरी : के काम गर्नुहुन्छ ? कहाँबाट आउनुभयो ?
‘नेपालगञ्जबाट आ’को, जुम्लाको टिचर हो ।’

स्कुलको नाम र ठेगाना के हो ? धन्न यो सोधेन । यो सोधेको भए सायद केही गडबडी हुने थियो पक्कै । ए, सरहरू हुनुहुँदोरहेछ, जानोस् भनेर प्रहरीले पठायो । अलि माथि गएका थियाैँ, खम्बा खारेनेर चौकी रहेछ । त्यसैबेला पर्यटकका आठ/दश जना भरिया भेटिए । मैले सानो टेप रेकर्डर किनेको थिएँ । त्यसमा अल्लारे गीत घन्काएर हल्ला गर्दै गयौँ । म ती भरियाकै बीचमा घुसें । तिनीहरू त प्रहरी चौकीनेरैको चौतारामा अडेश लाएर पो बसे । यसो कोल्टे आँखाले चौकीतिर हेर्दै अलि माथिसम्म गयौँ । त्यसपछि सास फुत्किने गरेर दौडियौँ । दैलेखको सीमा क्रस गरेर कालिकोटको हाउडी पुग्यौँ । हाउडीभन्दा तल पुगेर सुरक्षित बास खोज्न थाल्याैँ । एउटा होटल थियो । बास पाइन्छ कि ? मैले सोधें । साहुजीले पाइन्छ पाइन्छ भनेर बस्न भन्नुभयो । मैले सुरक्षा व्यवस्था के कस्तो छ ? भनेर जिज्ञासा राखें । 

साउजी : सर, चिन्ता मान्नै पर्दैन, नजिकै प्रहरी चौकी छ ।
मुटुमा चिसो पस्यो, फसाद प¥यो । 
म : अगाडि कति हिँडेमा बास पाइन्छ होला ?
साउजी : सर, टाढै छ । अबेला भयो अब त । 
थाकेको शरीर, हिँड्न सक्ने अवस्था थिएन । भोक साह्रै थियो । 
मैले भनेँ, ‘ल त्यसोभए चौकी यतै रै’छ, आनन्दै भो । यतै बस्छाँै ।’ 
बिहानै झिसमिसेमा हिँड्यौँ । लुखुरलुखर हिँडिरहेको बेला प्रहरीले बोलायो । हामी उभियौं । प्रहरी त्यहीं आइपुग्यो । 
मैले शुरुमै सोधेँ : के छ सर ? तपाईहरूको भान्सातिर खानपिन पाक्यो कि ? कि हिजोकै बचेको छ ?
प्रहरी : हामीले त खाइसक्यौं । बचेको छैन । 
यहाँबाट होटल कति टाढा होला भनेर सोधें । अलि परै छ भन्ने जवाफ आयो । 
प्रहरीको नजिक बनेर छुटकारा पाउँला भन्ने सोचेको, भएन । 
केरकार शुरु भयो : कहाँ जाने हो ? के काममा जाने हो ?
म : जुम्ला जाने हजुर, शिक्षक हो । 
प्रहरी : के पढाउनुहुन्छ । 
म : साइन्स पढाउँछु । 
साथी : म म्याथ टिचर हो । 
प्रहरीले पानतरीसम्म खान पाइन्छ, जानोस् भनेर बिदा ग¥यो ।

राँचुली भन्ने गाउँमा पुग्याैँ । साथीले नेमकिपामा काम गर्दा चिनेको एक जना साथी शिक्षक हुनुहुँदो रै’छ, कृष्ण शाह । खानपानको राम्रै व्यवस्था गर्नुभयो । उहाँले मलाई आधार इलाकाबाट आएको भनेर भन्दिहाल्नुभएछ । कृष्ण सरले धेरै जिज्ञासासाथ मलाई सुत्नै दिनुभएन । राति २ बजेसम्म कुरा गरेरै बस्यौं । बिहान एउटा रुट बनाइदिनुभयो प्रहरी चौकी छलेर जाने । त्यहीअनुसार ग¥यौँ । मेरो साथी जुम्लाकै हुनुभएकाले थप सहज भयो । तोकिएको समयमै गन्तव्य पुग्नु थियो । राति, वर्षा नभनेर हिँड्नुपर्ने । सँगैको साथीलाई अनुरोध गरी–गरी साथमै हिँडाएँ । जुम्ला क्रस गर्ने बेला साथीले सदरमुकाम हुँदै जाने भन्नुभयो । मैले नाइँ भन्दा पनि मान्नुभएन । मेरो झोलामा डकुमेन्ट थिए । सदरमुकाम जानु त्यसै रिस्क थियो । साथीेले केही हुन्न,जाऔँ भन्दै सदरमुकामको बजार समात्नुभयो । 
मैलै सोधेँ ‘कहाँ बस्ने त ?’
उहाँले भन्नुभयो : मेरा भिनाजु छन् । 
‘के गर्नुहुन्छ ?’
‘सेना हुन् ।’

मुटुमा चिसो पस्यो तर डर देखाउनु भएन । गयौँ । च्यांग्राको मासुको सुकुटी रै’छ । सिमीको दाल, मार्सीको भात खायौँ । त्यसपछि साला–भिनाको गुनासो पोखापोख भयो । किन आ’को ? यो (म) को हो ? यस्तै–यस्तै । मप्रति शंका भएछ । केरकार गर्न थाले । व्यापार गर्न आ’को, साथीले जडीबुटीको ब्यापारी हो भन्नुभयो । मैले नि हो भनेँ र सुतिहालेँ । 

बिहान हिँडेर नरेश भण्डारी सरको गाउँमा पुग्याैँ । उहाँका काका गाविस उपाध्यक्ष हुनुहुँदोरै’छ । आमाले औलाबाट आएका छोराहरू भन्दै मीठो खाना पकाएर खुवाउनुभयो । सदरमुकामनजिकै विप्लव र तिलक बस्नुभएको रै’छ । म जाँदा घाममा बसेर जुम्रा मार्दै हुनुहुन्थो । मैले ‘लालसलाम’ भन्नेबित्तिकै ए, आउनुभयो भनेर उठ्नुभयो ।

अलिबेर कुराकानी भयो । त्यो बेला पाँच जनाको जिल्ला कमिटी थियो । दुई जना भागेर गएपछि तीन जना मात्रै भएका हौँ । प्रहरीले बेला–बेला हामी बसेको घर घेरा हाल्थे । हामी भागेर जोगिन्थ्याेँ । घरको बुइँगलमा लुकेर बस्थ्यौँ । म भिडन्तहरूमा त परिनँ, तर धेरै पटक घेराबन्दीमा परेको छु । 

टिप्पणीहरू