कुरा नकाटेर पनि त काम बन्छ नि कमरेड !

कुरा नकाटेर पनि त काम बन्छ नि कमरेड !

अहंकार, दम्भ, रिस र बदलाको भावना राखेर काम गर्दा कस्तो परिणाम भोग्नुपर्ने रहेछ भन्ने कुराको राम्रो शिक्षा निकट विगतका घटनाबाट लिन सकिन्छ । लिने नलिने आफ्नो कुरा हो । प्रचण्डले एमालेसँग घाँटी जोड्न पुग्दा पनि माधव नेपाल उनीसँग रिसाएनन् र शेरबहादुर देउवा पनि ठुस्किएनन् । प्रचण्डले पनि शेरबहादुर देउवालाई धोका दिएको भनेर एकशब्द गाली गरेनन् न त ओलीको तारिफ नै गरे । उनीहरू सबैजना शान्तिका साथ केही नबोली उचित समयको प्रतीक्षा गरेर बसे । घनश्याम भुसालहरूले प्रचण्डको अप्ठ्यारोलाई बुझिसकेका थिए, उनको मात्र होइन देउवा र माधव नेपाललगायत अरुको मनस्थितिलाई पनि बुझेर बसेका थिए । मनशाय बुझेपछि अरु छुद्रता छैन भने काम गर्न सहज हुन्छ । 

एमालेले प्रचण्ड आफूसँग घाँटी जोड्न आएको कुरालाई उनको कमजोरी ठान्ने गल्ति गर्‍यो । प्रचण्डलगायत अरुको मनस्थिति र बन्दै गइरहेको नयाँ परिस्थितिलाई एमालेको दम्भले बुझ्न दिएन । प्रचण्ड कति गतिशील मान्छे हुन् र उनले कति छिटो पहलकदमी लिएर परिस्थितिलाई आफ्नो काबुबाट बाहिर जान दिन्नन् भन्ने कुरा एमालेले बुझ्नै सकेन । पहिला पनि प्रचण्ड कांग्रेस सरकारमा सहभागी हुँदाहुँदै उसलाई छोडेर एमालेसँग आएकै हुन् । नेकपा यत्तिकै बनेको थिएन । यो कुरा प्रचण्डको पहलकदमी लिने, आफ्नो र पार्टीको हितमा तत्काल निर्णय लिने क्षमताको एउटा उदाहरण थियो । एमालेले, जो आफूलाई राजनीतिको धुरन्धर खेलाडी ठान्छ, बुझेन । देउवाले इमान गुमाएपछि एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बने, आफ्नो दललाई सरकारमा पुर्‍याउने काम गरे ।

एमालेले पनि आफ्नो गुमेको शक्ति हासिल गर्ने अवसर पायो । तर, यो आफ्नोनिम्ति अनुकूल बन्दै गइरहेको अवस्था अहंकारमा बदलियो । एमाले नेतृत्वमा पलाएको अहंकारले माकेलाई एमालेसँग सहकार्य गर्न उति सहज नहुने अवस्थामा ल्याइदियो । परिस्थितिअनुसार चल्न सिपालु प्रचण्ड तुरुन्तै पुरानै गठबन्धनमा फर्किन, सहकार्य गर्न राजी भए र सहकार्य गरेर देखाए पनि । देउवा र माधवले पनि संयमता गुमाएर प्रचण्डलाई गाली गरेको भए यो सहकार्य सम्भव नहुन सक्थ्यो । अहिले उनी प्रधानमन्त्री त छँदैछन् यसको अलावा राजनीतिक पहलकदमी अहिले उनको हातमा आएको छ । अब एमालेले चाहेर पनि सरकारमा र गैरएमालेको बीचमा बनेको यो सहकार्यमा केही पनि तल–माथि हुनेवाला छैन । यसपालि पनि राजनीतिक नजरले हेर्दा प्रचण्ड सबैभन्दा स्मार्ट र गतिशील साबित भए । यसबाट खासगरी प्रचण्डले अझै ठूलो शिक्षा लिनुपर्नेछ । दम्भ, अहंकार र गाली गरेर सहकार्यको राजनीति चल्न सक्दैन भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ र सबैलाई समान व्यवहार गरेर अघि बढ्नुपर्छ । 

विश्वासको मत पाइनै हालिन्छ र सहमति भएअनुसार नै सरकार स्थीर रहन्छ, यसमा शङ्का छैन तर प्रचण्डको निम्ति आफ्नो नेतृत्वमा सरकार चलाएर जनताको हितमा काम गर्ने समय धेरै लामो भने छैन है ! त्यसकारण यो छोटो समयमा उनले अति नै जिम्मेवार बनेर देशको वर्तमान आर्थिक, सामाजिक तथा साँस्कृतिक ढाँचालाई बदली त्यसलाई समाजवादी ढाँचामा लैजाने प्रारूप तयार गर्नेतर्फ आफ्नो सम्पूर्ण ल्याकत र शक्तिलाई सदुपयोग गर्नुपर्छ । उतिबेला एमालेले सुचारु गरेको वृद्धभत्ता जो आज दक्षिणपन्थीहरूले पनि हटाउन नसक्ने कार्यक्रम बनेको छ, त्यस प्रकारको माइल स्टोन बन्ने कार्यक्रमहरू ल्याउनुपर्छ । सरकारमा पुगियो वा प्रधानमन्त्री बनिहालेँ अब केको फिक्री भनेर दिन काट्ने छुट छैन । 

वास्तवमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा सुन्नमा अति नै समाजवादी लाग्ने खालको थियो र छ पनि । त्यो नाराले सबैजना उत्साहित भएको पनि हो । तर त्यो हामीले भन्ने गरेको अथवा भनौं हामीले बनाउन खोजेको समाजवादको भावनालाई, आजको सामाजिक यथार्थलाई र जनताको आवश्यकतालाई पक्डिन सक्ने किसिमको भने रहेनछ । त्यो नाराले गिट्टी कुट्ने मजदुर, खेती गर्ने किसान, उत्पीडनमा परेका दलित, महिला, स्वरोजगार गरेर जीवन चलाउने साना व्यवसायी, सुकुम्बासी, विद्यार्थी, बिरामी पर्दा उपचार गर्न नसक्ने जनताको कुरालाई छुने किसिमको जनताको जीवनसँग जोडिएका मुद्दाजस्तो महँगाइ किन छ ? बेरोजगारी किन छ ? सामाजिक न्याय किन छैन भन्ने कुरासँग त्यसको कुनै किसिमको साइनो सरोकारै थिएन । पानीजहाज वा चुच्चे रेल नराम्रो होइन । रानीपोखरी र धरहरा बनाउने कुरा वा पशुपतिमा सुनले लिप्ने कुरा पनि ठीकै होला तर त्यसले जनताको, गरिखाने वर्गको जीवनमा केही फरक पार्थेन र पारेन पनि । समृद्धिको त्यो नाराले गरिखाने वर्गलाई छुन नसक्दा त्यो नाराले असफलता व्यहोर्नुपर्‍यो । अहिले पानी जहाज र चुच्चे रेलको कुरा हँसिमजाकको विषयमा बदलिएको छ । 

अब यो सरकारमा सहभागी हुनेजति सबैले त्यस्तो उडन्ते समृद्धिको सपना देख्न छोडेर जमिनमा आउनुपर्छ । किसानको उत्पादन कसरी बढाउने र त्यो उत्पादनको बजार कसरी खोज्ने भन्ने सपना देख्ने मात्रै होइन कि त्यस्तो सपना बुन्न लाग्नुपर्छ । उद्योग, कलकारखाना खोलेर रोजगारी दिने सपना बुन्नुपर्छ । गरिबको निम्ति राम्रो र सस्तो स्कुल, अस्पताल, सस्तो र भरपर्दाे यातायात कसरी चलाउने भन्ने सपना बुन्नतिर लाग्नुपर्छ । यस्तो सपना बुन्न सबैसँग हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्न पहल गरिनुपर्छ, सँगसँगै हिँड्न तयार हुनुपर्छ । अहंकार र दम्भ त्याग्नुपर्छ । 

माके र समाजवादीलगायत यो सरकारमा सहभागी हुनेहरूसँग हाम्रा छोराछोरीको भविष्य सुनिश्चित गर्ने के कार्यक्रम छ, त्यो जनतालाई बताउनुपर्छ । जनताले खोजेको पनि यही हो कि मेरो छोरा वा छोरीले अरबको मरुभूमिमा गएर होइन कि आफ्नै देशभित्र काम गरेर आफ्नो परिवारसँगै बसेर खुशीसाथ बाँच्न पाओस् । यस्तो बनाउने देशमा रोजगारी सिर्जना गरेर हो । उद्योग खोल्ने, सीपको विकास गर्ने र रोजगारी दिने शासन व्यवस्था आजको खोजी हो । र, सही मानेमा यस्तो व्यवस्था नै समाजवादी शासन व्यवस्था हो । यत्ति कुरा बुझेर काम गरेमा देश अघि बढ्नेछ । 
नयाँ गठबन्धन बनेर नयाँ सरकार बनेकै पलबाट यो सरकारको काउण्ट डाउन शुरु भइसकेको छ र इतिहासको आँखाबाट हेर्दा यो प्रचण्डको निम्ति ‘डु अर डाई’ को सिचुएसन पनि हो । बुझ्नेलाई इशारा नै काफी हुन्छ । हामीले त इशारा नै गर्ने हो । बुझे कुरा गहिरो छ, नबुझे सामुन्नेमै तारेभीर छ । 

 

टिप्पणीहरू