कसरी फुत्कियो उपराष्ट्रपति, कसरी चोख्याइए रवि ?
विद्यमान सत्तासमीकरण बन्नुपूर्व भित्रभित्रै सरकारको नेतृत्व सबैभन्दा ठूलो दलको हैसियत बनाएर एमालेले गर्ने, त्यसमा नेपाली कांग्रेस र माओवादीलाई बाहिर राख्ने, तीबाहेक संसदमा बाँकी रहेका सम्पूर्ण दललाई सरकारमा सामेल गर्ने तयारी भएको रहेछ । त्यसैको सूचना पाएर माओवादी आफ्नो भागमा परेको उपराष्ट्रपति हत्तपत्त उपेन्द्र यादवको जसपालाई दिन तयार भयो, रवि लामिछानेलाई राहदानी अपचलनमा उन्मुक्ति दिने सहमति पनि ओली रणनीतिलाई छेक्ने योजनाअन्तर्गतकै एक अंश थियो ।
राजनीति सरल रेखाबाट अगाडि बढिरहेको छैन भन्ने कुराको यो एउटा सानो नमुना हो । एमाले अध्यक्ष ओली चाहनुहुन्थ्यो, जसपा नेता अशोक राईलाई उपप्रधानमन्त्रीसहित रोजेको ३ मन्त्रालय दिएर सरकार बनाउने । तर, त्यसमा उपेन्द्र यादवले अत्तो थापे, ‘जसरी पनि उपराष्ट्रपति चाहिन्छ’ । जबकि, त्यसबेलासम्म राष्ट्रपति एमालेको र उपराष्ट्रपति माओवादीको भन्ने कुरामा दुई पार्टीबीच सहमति भइसकेको थियो । बीचमा उपेन्द्रले उपराष्ट्रपति दिए सरकारमा दुई मन्त्रालय भए पनि पुग्छ भन्दै जिद्धी कसिरहे कसैलाई पनि, सरकारमा पठाएनन् । यस्तो हुँदा अशोक राईको उपप्रधानमन्त्री बन्ने बाटो छेकियो र माओवादीले पाउने भनिएको उपराष्ट्रपतिको सम्भावना पनि एकैसाथ सकियो ।
यी सब कर्म र काण्डहरू किन भए ? मधेस प्रदेशमा पाँच वर्षसम्म मुख्यमन्त्री चलाएका उपाध्यक्ष लालबाबु राउत (गद्दी) लाई छेकेर उपेन्द्रले पार्टीमा नवप्रवेशी सरोज यादवलाई मुख्यमन्त्री बनाए । अर्थात्, चुनाव हारेकै दिनदेखि उपेन्द्रको एकोहोरो नजर परिरह्यो, बारा जिल्लामा । रामसहाय २०६० सालदेखि नै उपेन्द्रका ‘एसम्यान’ हुन् । उपराष्ट्रपति बनाउन नसकेको भए पनि अर्को कुनै महŒवपूर्ण अवसर दिँदै उनलाई त्यहाँबाट खालि गराउने दाउ थियो । त्यसैले लालबाबुलाई छिर्के मारेर सरोजलाई मुख्यमन्त्री बनाए । किनभने, यादव बाहुल्य उक्त क्षेत्रमा जित्नका लागि फेरि पनि यादवकै साथ चाहिन्छ, मुस्लिम लालबाबुबाट पार लाग्दैन । बारामा उपेन्द्रका निम्ति ठूलो चुनौति हुन्, रामकुमार यादव । एक्लै चुनाव उठेर ११ हजार भोट ल्याउने उनलाई नमिलाई त्यहाँबाट चुनाव जित्नु गाह्रो कुरा हुन्छ । यसर्थ जतिबेला उपराष्ट्रपतिको निर्वाचन भइरहेको थियो, त्यसबेला उपेन्द्र रामकुमारलाई फकाइरहेका थिए । जनमतबाट सिके राउतले मरिगए मैदान खाली गर्दैनन् । उपेन्द्रको पार्टी थारुविरोधी भएको भन्दै रेशम चौधरीहरू उनीसँग जाने देखिँदैन । उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवको भद्रताका कारण नागरिक उन्मुक्ति र लोसपाले मतसम्म दिएका हुन् ।
एमालेसँग आफूले लिइसकेको उपराष्ट्रपति पद प्रचण्डले जसपालाई सर्लक्कै दिनुको मतलव भित्री खेलको कुनै न कुनै सुइँको पाएरै हो । डर थियो, जसपालाई फुत्काएर ओलीले अर्को सरकार बनाउन सक्छन् । त्यसैले उहाँले आफूले पाउँदै आएको उपराष्ट्रपति जसपालाई दिनुभयो । ओलीले अशोक राईलाई परराष्ट्रसहित उपप्रधानमन्त्री दिन खोज्दा उनले ओलीलाई सुनाएका थिए, ‘आफ्नो फाइदाका निम्ति उपेन्द्र जे पनि गर्ने मान्छे हुन् ।’ प्रचण्डको संगतले पदबिना बस्नै हुँदैन भन्नेतिर लागेको कारण उपेन्द्र भरपर्दो पात्र नहुने सुझाव अशोकको थियो । नभन्दै उनी प्रचण्ड र ओली, दुबैतिर दोहोरो बार्गेनिङमा रहे । यही भित्री खेल बुझेर प्रचण्डले हत्तपत्त उपराष्ट्रपति बुझाउनुपरेको हो ।
अब उपेन्द्रले पाउने सम्भाव्य तीन मन्त्रालयमध्ये एउटी पात्र भइन्, प्रमिला यादव । उपराष्ट्रपति निर्वाचनमा पुरुष उम्मेदवार बदर हुने जोखिम हुँदा पार्टीको प्रतिष्ठाका निम्ति वैकल्पिक उम्मेदवारका रूपमा खडा भएबापत हो, उनले पाउन सक्ने मन्त्री । पार्टीमा पहाडे समुदायको पनि बाक्लो उपस्थिति छ । त्यसलाई दृष्टिगत गर्दै उपराष्ट्रपति चुनावको तालमेल वार्तामा खटिएका धनुषाका दीपक कार्की मन्त्री बनाइने अर्को पात्र हुनसक्छन् । मधेसको बारा, पर्सा र रौतहट क्षेत्रको सन्तुलनलाई मिलाउनका निम्ति प्रदीप यादव पनि यसचोटि मन्त्री बन्ने सम्भावना छ ।
अब ओलीलाई जसरी पनि संसदमा आफ्नो संख्या बढाउनु छ । त्यसैले वैशाखमा हुने तीनवटा क्षेत्रको उपचुनावमा कहाँबाट कसरी आफ्ना मान्छे ल्याउन सकिन्छ भनेर जोखना हेर्न शुरु भइसकेको छ । तीनै सीट जित्न नसकिए पनि दुई वा केही सीप लागेन भने एउटै सीट बढाउँदा पनि १० सीटको एकीकृत समाजवादीलाई यसबीच कुनै न कुनै किसिमले एकतामा ल्याउन सकिन्छ कि भन्ने प्रयास ओलीले जारी राख्ने सम्भावना जीवितै छ ।
टिप्पणीहरू