रवीन्द्र मिश्र र खगेन्द्र संग्रौलाको ट्वीटरमा बाझाबाझ, कमेन्टमा छारस्ट
पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेता रविन्द्र मिश्र र लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाबीच सामाजिक सञ्जालमा बेलाबेला कटाक्ष चलिरहन्छ । मिश्रले वैकल्पिक राजनीति भन्दै विवेकशील साझा पार्टी गठन गरेयता पटक–पटक ट्वीटरमा बाझाबाझ गरिसकेका यी दुई पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा नेताहरुको भेटवार्तालाई लिएर पुनः सामाजिक सञ्जालमा आमनेसामने भएका छन् ।
वैकल्पिक शक्तिको वकालत गर्दै पत्रकारिता छाडेर राजनीतिमा छिरेका मिश्र अहिले कित्ता फेरेर राजावादी बनेका छन् । त्यसयता राजतन्त्रको पक्षमा सामाजिक सञ्जालमा लेखिरहने उनले अस्ति बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, नेताहरु डा. प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणासँगै झापा पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई भेटघाट गरेको फोटो ट्वीट गरे । ज्ञानेन्द्रलाई बीचमा राखेर राप्रपाका नेताहरु दुई छेउमा उभिएको फोटोमा मिश्रले लेखेका थिए, ‘बीचमा देशको मियो, छेउछाउमा हामी !’
पूर्वराजाको प्रशंसा गर्दै मिश्रले ट्वीट गरेपछि सदाबहार गणतन्त्रवादी संग्रौला ‘आगो’ भइहाले । उनले कटाक्षपूर्ण टिप्पणी गर्दै रिट्वीट गरे, ‘उहिले हाम्रो नेपालमा राजा र राजावादीहरू पनि थिए !’ त्यसपछि उनीहरुको ट्वीटरमा गालीको श्रृंखला शुरु भएको हो ।
संग्रौलाई जवाफ फर्काउँदै मिश्रले कथित नागरिक समाजको अगुवा बनेर बुद्धि विलासमा रमाएको आरोप लगाएका छन् । त्यस्तै, संग्रौलाले देशमा जातीय, क्षेत्रीय विद्वेष फैलाएको, नयाँ पुस्तालाई गालीको तुच्छ भाषा सिकाएको र इतिहासको गलत व्याख्या गरेको मिश्रको दाबी छ ।
‘अहिले हाम्रो नेपालमा वर्गीय, जातीय विद्वेष फैलाउने, नयाँ पुस्तालाई चरम गालीको तुच्छ भाषा सिकाउने, इतिहासको गलत भाष्य पढाउने, गरीव र निमुखाको नाममा बुद्धि विलास गर्ने, देशको अस्मितामैँ आँच पुग्दा पनि अग्रगमनको लेप लगाउने नागरिक समाजका तथाकथित अगुवा पनि छन् !’, संग्रौलाई मिश्रले कटाक्ष गर्दै जवाफ दिएका छन् ।
यी दुइको बाझाबाझमा ट्वीटर प्रयोगकर्ताले विभिन्न टिप्पणी गरेका छन् । प्रकाश धामीले मिश्रलाई मेन्सन गर्दै ३ वर्ष पार्टी चलाउन नसक्ने हरिलन्ठु भनेका छन् । उनी लेख्छन्, ‘तपाईं हरिलन्ठु हो के बुढा ! लाचार, आफ्नो पार्टी ३ वर्ष टिकाउन नसक्ने, नेतृत्व गर्न नसक्ने, दिवा सपना देख्ने, जति आदर्शको कुरा गरे पनि कसै न कसैको धोतिभित्र छिरेर नै बस्न पर्ने भयो । त्यसैले अबको यात्रा यहि राजतन्त्र फर्काउने सपनामा बित्छ तपाईंको अरु केही हुँदैन ।’
अर्का एकजनाले चिहानबाट नक्कली राजा ब्युताउँन खोजेको भन्दै मिश्रको चर्को आलोचना गरेका छन् । ‘जो आफैँ जीवित छैनन्, चिहानबाट नक्कली राजा ब्युताउने कुरा गर्छन्’, उनले लेखेका छन्, ‘उहिले हाम्रो देशमा राजा र राजावादी थिए । अहिले चैं भएको राजा र तिनको वंश नाश गरेर खडा गरेको नक्कली राजाको चिहान कुरेर बसेको मसानहरु बाँकी छन् ।’
संग्रौलाको समर्थनमा शान्ता लिम्बूले सामन्ती शोषकहरुलाई गाली नगरेर फुल सम्मान गरौँ त ? भन्दै प्रश्न गरेकी छन् । ‘भारतीय मूलका शाहहरुको अझै काँध चढेर नेपाली जनतालाई रैती बनाउने तिमीहरुको चाहाना हैन त ?’, उनको प्रश्न छ ।
मुसाफिर काका नामको ट्वीटर प्रयोगकर्ता मिश्रलाई नवमण्डलेको संज्ञा दिँदै लेख्छन्, ‘फेरी राजा र रैतीको युगमा फर्काउने नवमण्डलेहरुलाई जनताको अधिकार स्थापित भएको देख्न सकेका छैनन् अझै समाजमा विभेद र अत्याचार होस् भन्ने चाहने यस्ता प्रवृत्ति विरुद्ध लड्नुपर्छ ।’
युगद्रष्टा प्रभात नामबाट आएको कमेन्टमा भने मिश्रको समर्थन गरिएको छ । उनले लेखेका छन्, ‘जँड्याहाले राम्रो दनक भेट्यो !’
टिप्पणीहरू