मनमोहनमा प्राकृतिक चिकित्सा पढाइने

मनमोहनमा प्राकृतिक चिकित्सा पढाइने

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको अध्यापन शुरु गर्ने भएको छ । रोग लागेर जीवनभरि कमाएको धनरासी खर्चेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिने उद्देश्यले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पठनपाठन गराउने तयारी थालिएको हो । 

कोशी प्रदेश सरकारले स्थापना गरेको मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयले विश्वभर प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै यो योजना अघि सारेको बताइएको छ । दक्ष जनशक्ति उत्पादन गरेर रोजगारीमा आत्मनिर्भर बनाउनका लागि शुरुमा स्नातक र त्यसपछि स्नातकोत्तर तहमा प्राकृतिक योग तथा चिकित्साको पठनपाठन गराउन लागेको मनमोहनका उपकुलपति डा.सुभाषश्री पोखरेलले बताए । 

नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाइ शुरु गराउन नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठ्यक्रम निर्माण भइरहेको उनको भनाइ छ । उनकाअनुसार पाठ्यक्रम निर्माणपछि तुरुन्त अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र क्रमशः स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी भएको छ । 

‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढ्दो छ । तर, सोहीअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौं । मुलुकमा पहिलोपटक उच्च शिक्षाको पढाइ मनमोहनले शुरु गर्न लागेको हो’, उनले भने । मनमोहनका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले छिटोभन्दा छिटो पाठ्यक्रम तयार गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । 

मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकोले आफूले सक्दो छिटो कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन निर्देशन दिएको उनी बताउँछन् । त्यस्तै, उनले उपचारका लागि अस्पताल गएर पैसा खर्च गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय भएको धारणा राखेका छन् । 

प्राकृतिक स्वास्थ्यबारे विश्वविद्यालय तहमा पठनपाठन हुनु अति आवश्यक भएको बताउँदै उनले भने,‘शौचालय, खानेपानी र वातावरण अनि आहारविहार स्वास्थ्य बनाउने उपाय हामीले अवलम्बन गर्यौं भने धेरै रोगहरुबाट बच्न सक्छौं । त्यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्दर्भिक र आवश्यक छ ।’

प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागु गर्न खोजेपनि दक्ष जनशक्तिको अभावले गर्दा सम्भव नभएको गुनासो गरेका छन् । प्राकृतिक चिकित्साको जनशक्ति उत्पादन गरेमा नेपालमा नभई विश्वबजारमा खपत हुने उनको भनाइ छ । 

यता, प्राकृतिक स्वास्थ्य विज्ञ डा.जनक बस्नेतले दक्ष जनशक्ति नहुँदा नेपालका प्राकृतिक अस्पतालहरु सञ्चालन गर्न साह्रै सकस परेको दुःखेसो पोखेका छन् । नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुमा भारतबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले भने,‘यो विषय पढ्न भारत जानुपर्छ । यहाँका विद्यार्थी बाहिर गइरहेका छन् । उताका विद्यार्थी यहाँ आएर काम गरिरहेका छन् ।’

भारतमा ४० भन्दा बढी शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे पढाइ भइरहँदा नेपालमा यस विषय पढाउने विश्वविद्यालय नै छैनन् । नेपालमा प्राकृतिक चिकित्साको माग उच्च भएकाले उत्पादित जनशक्तिलाई बजारको अभाव नहुने उनको ठम्याइ छ । 

प्राकृतिक चिकित्साले मानसिक समस्याबाट जोगाउँछ । यसमा योग र उपचार मात्र नभएर विभिन्न ९ वटा दर्शनहरु समावेश गरिएको छ । प्राकृतिक चिकित्सा औषधीरहित उपचार गर्ने विकल्पसहितको शिक्षा हो । स्नातक तहमा पाँच वर्ष पढ्नुपर्ने यो विषयले धेरै विद्यार्थीलाई आकर्षित गरेको छ ।

टिप्पणीहरू