कर्मचारीतन्त्रका उदेक लाग्दा कैयन कोलाहल

कर्मचारीतन्त्रका उदेक लाग्दा कैयन कोलाहल

योग्यता र विज्ञतालाई रद्दीको टोकरीमा थन्काउने र चाकडीको भरमा खोजेकै संस्था र ठाउँमा नियुक्ति दिने रोगले निजामती क्षेत्र ध्वस्त हुँदैछ । क्षमता, योग्यता र विज्ञता नहेरी व्यक्तिले खोजेकै ठाउँमा लगेर फिट गराइँदा एकातिर संस्थाको गरिमा खस्कने, अर्काेतिर व्यक्तिको पर्फमेन्स नदेखिने ! 

जस्तोः जागिरे जीवनभर शिक्षा मातहत काम गरेका सचिव टेकनारायण पाण्डेको विशेष रुचिअनुसार पूर्वमन्त्री बालकृष्ण खाँणले गृह सचिव बताए । उनको कार्यकालमा गृहको साख यसरी गि¥यो कि अब त्यो उठ्न असम्भव छ भन्दै छन्, यसअघिका गृहसचिवहरू । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुशासन हेर्ने जिम्मेवारीमा छन्, सुमन अर्याल, उनको विषय विज्ञता तथ्यांकमा हो । सरकारले पहिलो पटक तथ्यांक विभागमा सचिवको दरबन्दी श्रृजना ग¥यो र प्रशासनका रामप्रसाद थपलियालाई लगेर थन्कायो । उनी आगामी असार ५ गते घर जाँदैछन् । मालपोतमा रहँदा काविल मानिएका सचिव हुन् गोकर्णमणि दुवाडी, उनलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएको भए केही बित्ने थिएन तर लगियो निर्वाचन आयोगमा । गृह र महिलाका मामिलामा विज्ञ मानिन्छन्, हरि मैनाली तर जिम्मेवारी पाए महालेखा नियन्त्रकको । जबकि उनी एकाउण्टको ‘ए’ डेबिट र क्रेडिटबारे खासै जानकार होइनन् ।

यस्तो भद्रगोल सहसचिव, उपसचिव, अधिकृत तहसम्मै देखिन्छ । निजामती वृत्तमा राजेश्वर ज्ञवाली यस्ता भाग्यमानी अफिसर हुन्, जसले पाँच वर्षको अवधिमा तीन पटक वैदेशिक अध्ययनको अवसर पाए । ०५८ सालतिर इटाली पुगे र बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरे । ०६६ सालमै अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गरी इजरायलको अलुम्नी युनिभर्सिटीबाट चार महिने कोर्स पनि लिए, सबै सरकारी खर्चमा । उनलाई जिम्मेवारी दिइएको छ ठूला करदाता कार्यालयको । ०६८ देखि ०७१ सालसम्म जापानबाट शहरी नीतिमा स्नातकोत्तर गरेका सुमन दाहाल अर्थ मन्त्रालयमा छन् । ब्याक्टेरिया, भाइरस, फंगी, प्यारासाइट्सजस्ता सुक्ष्मजीवको अध्ययनमा विज्ञता सँगालेर फर्किएका उपसचिवलाई सरकारले नाष्ट, नार्कजस्ता क्षेत्र होइन कि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइरहेको भेटिन्छ । कर्मचारीको विज्ञता एकातिर, काम अर्काेतिर भएपछि परिणाम कसरी निस्कन्छ ? 

थपलियालाई थकथकी 

प्रदेशबाट सिंहदरबार तान्ने नाममा सचिव रामप्रसाद थपलियालाई यसरी डिमोरलाइज गरियो कि झण्डै चार महिनासम्म जगेडा । भदौ २९ गते टेकनारायण पाण्डेलाई गृहबाट उपराष्ट्रपतिको कार्यालयमा धकेलेर त्यहाँ कोशी (१ नम्बर) प्रदेशबाट विनोदप्रकाश सिंहलाई भित्र्याइयो । संघमा दरबन्दी विनै विनोदलाई तानिँदाको सास्ती र भुक्तमान भोग्नुप¥यो थपलियाले । निजामती सेवा ऐनले भन्छ, ३५ दिनभन्दा बढी समय कुनै पनि कर्मचारीलाई अतिरिक्त समूहमा राख्न पाइँदैन तर थपलिया यसरी पेलिए कि यस्तो पेलान र भुक्तमान पञ्चायत कालमा पनि थिएन । चार महिनासम्म किन जगेडामा राखियो ? न त त्यसको जवाफ मुख्यसचिव शंकरदास बैरागीले दिन सक्छन् न भूमिबाट हठात हटाउने मन्त्री शशी श्रेष्ठले नै । यसरी थन्काइएका थपलियाको विषयमा पूर्वमुख्यसचिव विमल कोइरालाले फागुन दोस्रो साता एउटा ट्विट गरे, लगत्तै सरकारले थपलियालाई तथ्यांक विभागको सचिवमा खटायो । १५ फागुनको मिति राखेर २१ गते त्यता पठाइएका थपलियामाथि अर्काे भाउँतो आइलाग्यो । जिम्मेवारी त पाइयो तर बस्नका लागि कार्यकक्षमा कुर्सी टेबलसमेत छैन । २ चैत्रदेखि त्यहाँ हाजिर त भएका छन् । आगामी ५ असारमा घर जान लागेका उनी यतिबिघ्न किन पेलानमा परेका होलान् ? नजिकबाट चिन्ने एक सचिव भन्छन्, ‘जागिरे जीवनमा कुनै राम्रो काम गर्नुभएन, असाध्य लोभ लालच गर्नुभयो ।’ 

थपलियाले हुलाक सेवाबाट निजामतीमा पाइला राखेका । लेखाको उपसचिव हुँदा काण्ड लागेर तीन पटक जागिर गुम्ने स्थितिमा पुगेका । सर्लाहीको प्रमुख जिल्ला अधिकारी हुँदा पीडितको रकम हिनामिनामा मुछिएका । आठ वटा जिल्लाको सिडिओ, पुनर्निर्माण प्राधिकरण, कर्णाली प्रदेश प्रमुखको सचिव भैसकेका । शिक्षा मन्त्रालय ११ महिना चलाएका उनलाई भूमिबाट तानेर चार महिनासम्म जगेडामा थन्काइनुको पछाडि एमाले नेता विष्णु रिमालसँगको अति सान्निध्यता प्रमुख कारक हो भन्दै छन्, प्रधानमन्त्री कार्यालयका प्रशासकहरू । त्यो ठाउँमा सरकारले थपलियाभन्दा पनि सुमन अर्याललाई खटाएको भए परिणाम निस्कने प्रधानमन्त्री कार्यालयकै एक सचिवले जनआस्थालाई बताए । 

मुख्यसचिवको प्यार, कृष्णहरिको चमत्कार

नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका मुख्यसचिव शंकरदास बैरागी निर्णय क्षमतामा भने कमजोर मानिन्छन् । एकातिर जागिरे जीवनको तीन दशक बढी परराष्ट्र मन्त्रालय र विदेशी नियोगमा बिताएका उनी प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैनन् । उनले चिन्ने र घनिष्ठ सम्बन्ध भएका कर्मचारीमध्येका हुन्, कृष्णहरि पुष्कर । अख्तियारमा हुँदा गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिएर विज्ञप्ति निकाल्ने पुष्कर लोकमान सिंह कार्कीकै जोडले नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टर नियुक्त भए । त्यतिबेलादेखि नै बैरागीसँग घनिष्टता कायम भएको हो । पुष्करकोमा राजेश्वर ज्ञवाली, अख्तियारमा मुद्दा खेपिरहेका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु.ई ललिजन खनाल, ठेकेदार अच्युतकृष्ण खरेल र बिचौलिया रमेश खड्काको बाक्लै आवतजावत र उठबस हुने गरेको स्रोतले जनाएको छ । मुख्य सचिवको विशेष प्यारका कारण पुष्करले जुनियर सचिव हुँदा पनि प्रदेशतिर ओर्लनुपरेन । अर्थबाट अहिले अमनलाल मोदीले सम्हालेको सामान्य प्रशासनमा पुगेका छन् । त्यहाँको कर्मचारी सरुवामा बिचौलियाको काम गर्दै आएका ओभरसियर रमेश हावी हुँदा सामान्य प्रशासन मन्त्रालयका पछिल्ला सरुवा विवादित बन्न पुगेको छ ।

 

टिप्पणीहरू