चल्मलाउन थाल्यो चीन
नेपाल मामिलामा पछिल्लो समय चीन यसरी तात्न थाल्यो कि, रेलदेखि सुरुङमार्गसम्मको काम सल्टाउन एकैचोटि टोली खटाइएको छ । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाअन्तर्गत टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने तयारीस्वरुप वातावरणीय प्रभाव मूल्यांकन (इआइए) शुरु भएको छ । अर्को टोलीले रेलमार्गको अध्ययनका क्रममा भिजिबिलिटीबारे सोधखोज गरिरहेको छ । त्यस्तै, गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि रातमाटेदेखि केरुङसम्मको ट्रान्समिशन लाइनबारे पनि अध्ययन शुरु भएको छ ।
चीनले नेपालमा ३–३ वटा ठूला जलविद्युत तथा प्रशारण लाइन (ट्रान्समिशन) परियोजनामा केही वर्षअगाडि नै चासो देखाउँदै आएको थियो । त्यस्तै, गत वर्ष परराष्ट्र मन्त्री डा.नारायण खड्काको चीन भ्रमणका क्रममा भएको सम्झौताबमोजिम प्रस्तावित १७० किमि लामो तिब्बत–नेपाल रेलमार्गमा चिनियाँ प्राविधिकहरू अहिले जुटेका छन् । यो रेलमार्गले तिब्बतस्थित केरुङलाई नेपालको राजधानी काठमाडौंसँग जोड्ने छ । रसुवा जिल्लाबाट नेपाल प्रवेश गर्ने उक्त रेलमार्ग भारतसम्म विस्तार गर्ने योजना छ । त्यसका लागि केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बनाउन ३८ अर्ब युआन, अर्थात् साढे पाँच अर्ब अमेरिकी डलर खर्च हुन्छ ।
२०७२ को भूकम्पबाट क्षतिग्रस्त हनुमानढोका, नौतले दरबारसहित चीनले पुनर्निर्माण गर्ने जिम्मा लिएका परियोजनाहरू सम्पन्न गर्दैछ । त्यसो त सडक परियोजनातर्फ नारायणगढ–बुटवल, काठमाडौंको चक्रपथ विस्तार, मुङलिङ–नारायणगढमा पनि चिनियाँ संलग्नता छ । तर, ती परियोजना चीन सरकारको नभई नेपालले आह्वान गरेको टेण्डरमा प्रतिस्पर्धाको विधिबाट चिनियाँ कम्पनीहरूले काम गरेका हुन् । अर्थात्, ठेकेदार चिनियाँ, खर्च नेपालको हो । अहिले नारायणगढ–बुटवल सडक निर्माणको कामले पनि तीव्रता पाएको छ । नत्र, गत वर्षसम्म सडक भत्काएर छोड्ने काममात्रै भएको थियो । अहिले भत्काएका ठाउँमा पिच बनाउने र सम्याउने कामलाई ठेकेदारहरूले तीव्रता दिएका हुन् ।
अर्कातिर, नेपालबाट विदेशका विभिन्न मिशनमा खटिएका कतिपय कर्मचारीले उतै अवकाश पाएका छन् । त्यसरी जागिर सकिनेमध्ये केही राजदूतको म्याद असार १५ सम्मका लागि थपिएको छ । कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी, फ्रान्सका दीपक अधिकारी, स्वीट्जरल्याण्डमा रहेका मणि भट्टराईले विदेश हुँदैमा अवकाश पाएका छन् । उनीहरू कार्यकाल सिध्याएर स्वदेश फर्किंदा सीधै घर जान्छन् । यसो गर्दा संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई, क्यानाडाका भृगु ढुंगाना, दुबईस्थित राजदूत कृष्णप्रसाद ढकाल र थाइल्याण्डमा रहेका गणेश ढकाल मात्रै जागिर बाँकी भएका हुने भए ।
टिप्पणीहरू