माओवादीनिकट कर्मचारी संगठनको अधिवेशन शुक्रबार र शनिबार
आँउदो चैत १७ र १८ गते काठमाडौंको कोटेश्वर चोकनजिकै रहेको ‘ए–वान’ पार्टी प्यालेसमा माओवादीनिकट निजामती कर्मचारीहरुको राष्ट्रिय अधिवेशन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
सो अधिवेशनलाई भव्य र उत्साहजनक बनाउनका लागि धमाधम तयारी भइरहेको आयोजक पक्षले बताएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को यो कुम्भमेलाको मुख्य एजेण्डा नयाँ नेतृत्व चयनलगायतको विषयमा छलफल गर्नु हो ।
त्यस्तै, अधिवेशनमा संगठनद्धारा विगतमा भएका काम र भूमिकाको समिक्षा गर्ने, आगामी दिनका लागि नीति बनाउने, त्यसमा बहस र छलफल गर्ने आयोजकले जानकारी दिएको छ । अधिवेशनलाई सभ्य ढङ्गले सम्पन्न गर्न संगठनले विभिन्न समितिहरु पनि गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष अम्वादत्त भट्टलाई विधान संशोधन समितिको संयोजक बनाइएको छ । पर्सि मंगलबार विधान संशोधन समितिको बैठक बस्दै छ । त्यस्तै, व्यवस्थापन समितिको संयोजकमा सुरेश चापाईलाई चयन गरिएको छ । आर्थिक समितिको संयोजकको जिम्मा संगठनका अध्यक्ष हरि रावललाई दिइएको छ । यसैगरी, गणेशलाल महर्जनले स्वंयसेवक समितिको जिम्मेवारी पाएका छन् । यता, १२५ जनाको स्वंयसेवक समितिसमेत गठन भएको छ ।
६५० जना प्रतिनिधि र परिवेक्षक सहभागी हुने माओवादी कर्मचारीहरुको कुम्भमेलामा दुई हजार बढीको उपस्थिति रहनेछ । उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा कार्ड बाँड्ने कार्यको थालनी भएको संगठनका कर्मचारी नेता हरि रावलले जनआस्थालाई बताए । तराई मधेशदेखि पहाड हुँदै हिमालसम्मका ७७ ओटै जिल्लाबाट प्रतिनिधिहरु अधिवेशनमा सरिक हुने संगठनले जनाएको छ ।
यसैगरी, सात वटै प्रदेशबाट अधिवेशन प्रतिनिधि चुनिसकेका छन् । तर, केही मन्त्रालयगत प्रतिनिधिहरु चयनमा ढिलाइ हुने भएको छ । यद्यपि, सो पनि चैत १७ गतेसम्ममा भइसक्ने आयोजकले विश्वास लिएका छन् ।
भद्दा र मजाक गर्ने किसिमको ठुलो संख्याको केन्द्रीय कमिटी नबनाउने बरु संगठनलाई चुस्त र दुरुस्त बनाउने गरी ‘डबल डिजिट’ को बनाउने सोच संगठनका कर्मचारी नेताहरुको छ । समावेशी सिद्धान्तलाई जोड दिँदै यो संगठनले सङ्घीय प्रणालीलाई बलियो बनाउने गरी प्रदेशका संगठनलाई पनि अधिकार सम्पन्न बनाउने बताइन्छ ।
यही चैत १७ गते शुक्रबार उद्घाटन र १८ गते शनिबार बन्दसूत्र गरिने तयारी छ । वर्तमान अध्यक्ष हरि रावललाई नै नेतृत्व पुनःसुम्पिने बताइएको छ । साथै, अधिवेशनमा अन्य कर्मचारी संघसंगठनबाट प्रवेश गर्नेहरुको लिष्ट पनि तयार पारिँदै छ । विगतमा सो संगठन छोडेर अन्तै सरेका पल्लो घरका नरेहरु ओल्लो घर सर्ने अवस्था छ ।
टिप्पणीहरू