जनयुद्धका पीडाहरू भनिसाध्य छैनन्

जनयुद्धका पीडाहरू भनिसाध्य छैनन्

-राजकुमार शर्मा, हाल कर्णालीका मुख्यमन्त्री

०५३ साल पुसको सुरुवातमा डोल्पाको त्रिवेणी प्रहरी चौकी आक्रमण गर्याैँ । म त्यो बेला एसल्ट ग्रुपको कमाण्डर थिएँ । मलाई एउटा बञ्चरो दिइएको थियो । एसल्ट ग्रुपमा पाँचदेखि सात जनासम्म हुन्थे । त्रिवेणी कारबाहीमा कमाण्डर विजय घले गुमाउँदाको पीडा नै आजसम्म ठूलो पीडाको क्षण हो । धेरै ठूलो कष्ट व्यहोरेर माओवादी आन्दोलन र संगठन कर्णालीमा बलियो बनाएका हाैँ । अहिलेजस्तो सजिलै सदस्यता पाउने, नेता बन्ने त्यो बेला हुँदैनथ्यो । उच्च अनुशासन, लगाव, सामाजिक गतिविधि हेरिन्थ्यो । अहिले त आकाशबाट खसेको, धर्तीबाट उम्रेजस्तो ठान्छन् । हामीले संगठन बनाउँदा धेरै जनसेवा ग¥यौं । दुर्गम गाउँमा गएर बाटो खन्ने, व्यक्तिगत मान्छेकै घरमा गएर काम सघाउने, किसानका मकै गोड्ने, दाउरा बोक्ने, घाँस बोक्ने, मल बोक्ने काम गरेर संगठन बनाएका हौँ । 

यो पार्टीले जनयुद्ध त भन्छ । गर्द कि गर्दैन भन्ने ठूलो पीडा हुन्थ्यो । आफूलाई जनयुद्धको एउटा थालनीकर्ता भन्न पाउँदा खुशी लाग्छ । ०४०/४१ सालदेखि यहाँसम्म आइपुग्दा जीवन साँच्चिकै संघर्ष नै हो भन्ने मेरो अनूभुति छ । संघर्षले नै मान्छेलाई बाँच्न सिकाउँछ, त्यो राजनीतिमा होस् या सामान्य जीवनमा । भनेजस्तै गरी नभए पनि जनयुद्ध हामीले जितेका हौँ । अब अगाडि कसरी जाने भन्ने ठूलो च्यालेन्ज छ । सामाजले के चाहेको छ ? समाजभित्रका अन्तरविरोध के हुन् ? नेतृत्वले जान्न सक्नुपर्छ । यसको पहिचान र समाधान गर्ने कुरा नै मुख्य हो । हामी गरिबीविरुद्धको लडाइँमा छाैँ । बेरोजगारी अन्त्य र स्वरोजगार हामी सबैको साझा मुद्दा बन्नुपर्छ । जनतालाई मालिक ठान्दै हामी सेवकको रूपमा उभिन सक्नुपर्छ । ०५४ सालको अन्त्यतिर मेरो सरुवा साविकको कर्णालीमा भयो । द्वन्द्व उत्कर्षउन्मुख भैरहेको बेला कहिल्यै पाइला नटेकेको र संगठन नै नभएको क्षेत्रमा जानुपर्ने भयो । त्यतिबेला कर्णाली उपब्युरो थियो । त्यसअन्तर्गत कर्णाली नदीले छेकेको वाल्नो भेग कालिकोट, वाल्लो भेग बाजुरा, मुगु कर्णालीको वाल्लो भेग र पूरै जुम्लाको एउटा जिल्ला कमिटी थियो । हामी तीन जना मात्र जिल्ला कमिटीका सदस्य थियौँ । तिलक शर्मा, विप्लव र म । त्यही कमिटीले कर्णालीमा माओवादी आन्दोलनको विस्तार गरेको हो । 

अलिअलि जनमोर्चाकालका केही साथीहरू सम्पर्कमा हुनुन्थ्यो । उहाँहरूलाई समेटेर आन्दोलन अगाडि बढायाैँ । मेरा डिसीयस तिलक शर्मा (हिमाल) हुनुहुन्थ्यो । उहाँपछि गिरफ्तार हुनुभयो । त्यसपछि दुई जना मात्रै भयौँ । ०५८ सालमा हुम्ला, मुगु र बाजुराको केही एरिया समेटेर एउटा जिल्ला कमिटी बनायाैँ । जसको नेतृत्व मैले २०६० सालसम्म गरें । त्यसपछि हुम्ला र मुगुलाई अलग गरियो । हुम्लातिर अरु साथीहरूलाई जिम्मा लगाएर मैलेचाहिँ मुगुको नेतृत्व सम्हालें । २०६१ मा दैलेखमा दुल्लु विद्रोह भयो । अत्यन्त सुझबुझपूर्ण कदम र पार्टीको नीतिबारे जनस्तरमा प्रभाव पार्न सक्ने नेतृत्वको खोजी भयो । पार्टीले मलाई तत्कालै दैलेख पठायो । त्यसदेखि शान्ति प्रक्रियासम्ममा म त्यतै रहेँ । 

०६३/६४ तिर थारुवानतिर झरेँ । त्यो भनेको कञ्चनपुरदेखि दाङसम्मको एउटा क्षेत्र हो । थारुवान क्षेत्रको प्रचार विभागको जिम्मेवारीमा थिएँ । त्यससँगै बुद्धिजीवी तथा शिक्षक मोर्चाको नेतृत्व गरेँ । म ०६६/६७मा काठमाडौँं गएँ । नेवाः राज्यमा रहेर काम गरेँ । त्यसबेला हामीले क्रमभंग द्वैमासिक सैद्धान्तिक पत्रिका निकाल्यौ । जसको व्यवस्थापक म आफैँ थिएँ । तीन अंकसम्म मात्र निकाल्यौं । गणतान्त्रिक मञ्च निर्माण भएको थियो । मैले त्यसको पनि नेतृत्व गरेँ । त्यसपछि कर्मचारी महासंघको सहइञ्चार्ज भएर काम गरेँ । पार्टीले केन्द्रीय प्रचार विभागमा समेटेपछि त्यतातिर जिम्मेवारी सम्हाल्न गएँ । मैले त्यो बेला खास गरेर पुस्तकालय र सूचना केन्द्रको जिम्मेवारी निभाएको थिएँ । २०६८ सालदेखि केन्द्रीय समितिमा आएँ । पार्टी एकता प्रक्रियामा जानेबेला पोलिटब्युरो सदस्य थिएँ । नेकपा भैसकेपछि पनि केन्द्रीय समितिमा रहेँ । त्यसपछि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छु । यसबीच कर्णाली प्रदेशको अध्यक्षसमेत भएर जिम्मेवारी निर्वाह गरेँ । जनप्रतिनिधिको रूपमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर कार्यकाल सफलतापूर्वक निर्वाह गरिसकेको छु । 

कर्णालीमा माओवादी

त्योबेला कर्णालीमा माओवादी बन्नु र बनाउनु चानचुने कुरा थिएन । तीन जनामध्ये एक जना पक्राउ परेपछि दुई जना मात्र थियाैँ । मैले विद्यार्थीलाई सम्झाउने, बुझाउने, घर घरमा जाने, युवाहरूसँग सहकार्य गर्ने कामलाई तीव्रता दिएँ । शक्ति थोरै, घरघरमा पुगी सम्झाएर पनि साध्य नहुने । कसैलाई राज्यले केही गरिदियो भने ठूलो क्षति हुने डर । स्थिति जटिल । भौगोलिक विकटता । नजिक नजिकमा प्रहरी चौकी थिए । हाम्रो आधार मजबुत थिएन । म चैतमा कर्णाली पुगेको थिएँ । कामको मारामार थियो । खानेकुराको धेरै वास्ता थिएन । दिनभर गोठमा लुकेर बस्ने र रातभर हिँड्ने काम हुन्थ्यो । वर्षा र हिउँदका अनेकन जटिलता कर्णालीमा हुन्छन् । राति हिँड्दा वर्षाको चिप्लो र हिउँदको हिउँमा कति लडियो, लडियो । त्यो बेला शौचालय थिएनन् । बाहिरै छाडा दिसापिसाब गरिन्थ्यो । राति हिँड्ने बेला लड्दा शरीरमा लागेको दिसा बिहान मात्र थाहा हुन्थ्यो । त्यो बेला नुहाउन र कपडा धुन पाउने स्थिति पनि थिएन । प्रहरीले देख्छ कि भन्ने डर । गोठमा बस्ने, कोदालो समाउने, खोल्सो भनेर दिसा गर्ने र पुर्ने काम हुन्थ्यो । सकेसम्म किसानको बारीमा काम गरेर सघाउँथ्यौँ । कसैले दया मानेर ल्याइदिएपछि खाना पाउँथ्यौँ । नत्र त कति रातदिन भोकै बिताउँथ्यौँ । ०५५ तिर रोल्पाबाट एउटा टिम आयो– ‘छापामार स्क्वायड’ । त्यसपछि त्यहाँका साथीहरूलाई समावेश गरेर थप अर्को स्क्वायड बनायौँ । संगठनमा साथीहरू जम्मा भएर गाउँ घेरा हाल्थ्यौँ । माओवादी गुरिल्ला भनिन्थ्यो त्यो बेला । सिठ्ठी फुकेर गाउँ घेरा हाल्थ्यौँ । सबैलाई एक ठाउँमा जम्मा गरेर आफ्नो परिचय दिन्थ्यौँ । माओवादी जनयुद्ध किन ? भन्ने विषयमा प्रशिक्षण दिन्थ्यौं । सिआइडी र सुराकी गर्नुहुन्न भन्थ्यौँ । त्यसो भएमा राम्रो हुँदैन भनेर चेतावनी पनि दिन्थ्यौँ । हामीलाई बस्न र खान दिएर सहयोग गरिदिनुस् भनी आग्रह गथ्र्यौं । दिनभर उहाँहरूको घरायसी काममा सघाउँथ्याैँ । यो ढंगले संगठन विस्तार गरेका हौँ । 

चौकी आक्रमण

हामीसँग गाउँले र सिकारीसँगबाट मागेर तथा कब्जा गरेर ल्याएका बाह«बोर, भरुवा बन्दुक थिए । केही ग्रिनेड थिए । कर्णालीमा पहिलो चौकी आक्रमण गर्याैँ, कालिकोटको सान्नी त्रिवेणीमा । त्यहाँबाट एउटा थ्रिनट थ्रि राइफल र चाइनिज माउजर पेस्तोल ल्यायाैँ । आधुनिक हतियार केही थिएन । हाम्रो साहस र कुशल आक्रमण शैलीको कारण चौकी कब्जा गर्न सफल भयाैँ । दोस्रो पटक २०५६ को असारमा, कालिकोटकै पादुंघाट चौकी आक्रमण गर्यौं । त्यहाँबाट ११ वटा थ्रिनट थ्रि राईफल, ११ सय बुलेट, दुईवटा युएस वाला रिभल्बरलगायत हतियार कब्जा ग¥यौं । मानवीय क्षति भएन । प्रहरी एक जना घाइते हुनुहुन्थ्यो । उहाँको उपचार हामीले नै ग¥यौं । प्रहरीलाई कब्जामा लिएर एउटा कोठामा थुन्याैँ । चाउचाउ खान दियाैँ । संयोग कस्तो प¥यो भने त्यो चौकीले जुम्ला आउजाउ गर्ने, त्यो बेलामा हिँड्ने सर्वसाधारणलाई धेरै दुःख दिएको रै’छ । प्रहरी चौकी नभएपछि जनतालाई ठूलो राहत भएछ । त्यसपछि जनतालाई हामीप्रति थप सकारात्मक धारणा बन्यो । यिनीहरू शक्तिशाली रै’छन भन्ने सन्देश दिइयो । हामीले त्योभन्दा पहिला आक्रमणका लागि चौकी खोजिराखेका थियौँ । रारा हान्ने भनेका थियाैँ, भागिहालेछ । जुम्लाको एउटा चौकी ताकेका थियाैँ, त्यसले थाहा पाएर रेकी गर्न गएको एक जना साथीलाई गोली हानी घाइते बनायो । 

हामीले खल्लाघाट हान्ने योजना बनाएका थियौँ, चुनावको कारण तयारीको क्रममा भागिहालेछ । चुनावपछि मात्र पादुंघाट हानेका हौँ । त्यसदिन फल्लाको चौकी पनि त्यहीं आएर बास बसेको रै’छ । हामीले त्यो कब्जा गरेर हिँडेपछि ठूलो उभार आयो । कार्यकर्ता खुल्न थाले । हामी पनि जान्छौं भन्नेहरू धेरै भए । त्यो बेला थाम्न गाह्रो भयो । त्यो उत्साहले दिएको आनन्दको अनुभूति सदा स्मरणीय छ । 

-(कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मासँग गरिएको कुराकानीमा आधारित)

टिप्पणीहरू