लाेभै नगरे कहाँबाट जन्मन्छ लफडा
ज्ञान भएर पनि किन अज्ञानी भइरहेछ मानिस ? यो जिज्ञासा आउनुलाई अनुपयुक्त भन्न सकिँदैन । अज्ञानी हुनु मानिसमा सकारात्मक विचार आउन नसक्नु हो । मानिसको अन्तरात्मामा एउटा सानो विन्दु हुन्छ । त्यही विन्दुबाट उसका क्रियाकलाप सञ्चालन हुने गर्छन् । त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा मानिसमा भएको विवेकमा निर्भर हुन्छ । प्रारम्भिक चरणदेखि नै मानिसमा भएको विचारलाई सत्मार्गमा लान सकियो भने निश्चय नै त्यसले सुखमय बाटो लिन सक्नेछ अन्यथा जिउन पनि गाह्रो हुनेछ ।
जिउन त सबै मानिस जिएकै हुन्छन् । तर, प्रश्न आउँछ कसरी जिएका छन् । जिउनु पनि एउटा कला हो । त्यसैले कला सिक्नुपर्छ । कला फरक–फरक हुन सक्छन् । तपाई कसैलाई ठगठाग गरेर जिउन चाहनुहुन्छ भने मेरो बाटो अर्कै हुन्छ । किनकि सवै मानिसमा एउटै विचार नहुन सक्छ । यो मान्छेको स्वभाव हो ।
अब तपाईको र मेरो तुलनात्मक अध्ययन गरौं । तपार्ई ठगीको धन्दामा रमाउनुहुन्छ मलाई त्यस्तो कुरा पटक्कै मन पर्दैन । म आफ्नै बाहुबुतामा चल्न चाहन्छु । यसको कारणले गर्दा तपार्ईं र मबीच विचारको भिन्नता सिर्जना हुन जान्छ । तपाईंमा भएको सानो विन्दुलाई तपार्ईंं नकारात्मक मार्गतिर निर्देशित गर्नुहुन्छ भने ममा भएको विन्दुलाई म सकारात्मक दिशातिर डो¥याउन चाहन्छु । यहाँ तपाईंं र मबीच ठूलो खाल्डो बन्न सक्छ । यसलाई जति साँघुरो बनायो उति जिउन सजिलो हुन्छ । भन्नुको अर्थ नकारात्मक विचारलाई हटाएर सकारात्मक विचारले आधिपत्य जमाउन सक्नुपर्छ । यस अवस्थामा मानिसलाई जिउन सहज हुन्छ ।
वस्तु संग्रह गर्दै गयो, तृष्णा बढ्दै जान्छ । संग्रह गर्ने बानीको कहिल्यै अन्त्य हुँदैन । जहिले पनि बढेको बढ्यै । सधैँ अपूर्णता हुने भएपछि किन यसको पछि लाग्ने ?
आवश्यकभन्दा बढी वस्तुको संग्रह गर्ने हो भने मानिस सुखी हुनै सक्दैन । धेरै संग्रहले मानिस कहिले पनि आनन्दित भएको हुँदैन । वस्तु संग्रह गर्दै गयो, तृष्णा बढ्दै जान्छ । मानौं, तपाईलाई सुनको सिक्री लाउन मन लाग्यो र तपाईले किन्नु पनि भयो । त्यो किनिसकेपछि झनै लालसा बढ्न जान्छ । अलि मोटो सिक्री भए हुन्थ्योजस्तो लाग्न सक्छ । मानौं त्यो पनि तपाईंंले संग्रह गर्नुभयो । यसरी तृष्णा, लालसा, आकांक्षा बढ्दै जाने हुन्छन् र यस अवस्थामा संग्रह गर्ने बानीको कहिल्यै अन्त्य हुँदैन । जहिले पनि बढेको बढ्यै । नियन्त्रण नै हुन सक्दैन । संग्रहको सीमा नै हुँदैन । त्यसकारण यस्तो क्रियाकलापमा नलाग्नु नै बेस । किनभने जति संग्रह गरे पनि तपाईंंको लागि अपूर्णता नै हुन्छ । सधैँ अपूर्णता हुने भएपछि किन यसको पछि लाग्ने ?
अहिले उपभोक्तावादको विकासले गर्दा मानिस एकदम तनावमा गइरहेको छ । अरुको महँगा घर, सम्पत्ति, धेरै वस्तु तथा सामग्री देख्दा ऊ पनि त्यस्तै अथवा त्योभन्दा बढी मालिक हुन चाहन्छ । उपभोक्तावादमा मालिक हुने प्रवृत्तिले जरो गाडेको हुन्छ । आफूलाई आवश्यक नहुने सामान तथा सम्पत्ति संग्रह गरेको हुन्छ । जुन सामान आफ्नो आवश्यकताभन्दा पनि अरुलाई देखाउनको लागि किनिएका हुन्छन् । नचाहिने सामान खरिद गर्नु भनेको भएको सम्पत्ति नोक्सान गर्नु हो, तृष्णा बढाउनु हो र आफूले आफैँलाई चिन्न नसक्नु हो ।
तपाई हामीले सधैँदेखि आएको कुरा हो सामान्य जीवन चलाउन नसक्नेहरूले पनि आफू मालिकजस्तो देखाउनको लागि प्रयोगमै नआउने वस्तु घरका कोठाभरि कोचाकोच गरेर राखेका हुन्छन् । आवश्यक पर्ने कोठाहरू अनावश्यक सामानहरूले भरिभराउ हुँदा फाइदाभन्दा बेफाइदा नै हुने भयो ।
अहिले विश्वमै उपभोक्तावाद विकसित हुँदै गएको कारणले गर्दा हुने र नहुनेबीच ठूलो खाडल बन्न गएको छ । जसको कारणबाट विश्वमा कहीँ खान नपाएर मानिस मरेका हुन्छन् भने कहीँ खाद्यान्न समुद्रमा मिल्काइएका हुन्छन् । यदि, बढी भएको खाद्यान्न खान नपाउनेहरूको लागि उपलब्ध गराएको भए खान नपाएर कसैले पनि मृत्युवरण गर्नुपर्ने थिएन । असंख्य मानिस कुपोषणले ग्रस्त छन् र अकालमै उनीहरूको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार उत्पादित सबै खाद्यान्नको हिसाब गर्दा कूल खाद्यान्नको एक तिहाइ अर्थात् १.३ अर्ब टन खेर गएको हुन्छ । जसको मूल्य करिब ४० विलियन डलर हुन आउँछ । यसरी बाँच्नको लागि मानिसलाई आवश्यक हुने खाद्यान्न विपन्न वर्गलाई नदिई कुवाएर फालिने जुन प्रथाको विकास भएको छ त्यसमा कसरी सुधार गर्ने ?
मानिसलाई थाहा छ कि ऊ नांगै आएको हुन्छ । धर्तीमा पाइला टेकेपछि आफूलाई जीवनयापन गर्न आवश्यक पर्ने सामान जोडजाम गर्नुपर्छ । तर, ऊ यति अज्ञानी भइदिन्छ कि जति धेरै संग्रह गरे पनि पुग्दै पुग्दैन । आफूलाई नचाहिने सम्पत्ति संग्रह गरेर किन दुर्लभ साधन श्रोत खेर फाल्ने ? बांँचिरहँदा जम्मा गरेको अकुत सम्पत्ति पनि त मृत्युसँगै लान सकिँदैन । अझ मृत्युको समयमा त शरीरमा लगाएको कपडा पनि फुकालिन्छन् भने अरु के लैजान मिल्छ र ? यद्यपि, मानिसले ठगठाग, लुटपाट, चोरी, डकैती, अनियमित कार्य गरेर भए पनि धन सम्पत्ति जोडेकै हुन्छ । आफ्नै बावुआमा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी जुन आफ्नै कोखसँग जोडिएकासँग पनि लुटपाट गरेकै हुन्छ भने अरुसँग त गर्ने भइ नै हाले । यस प्रकारका विकृति नै आजको उपभोगवादको चरित्र हो ।
हामी जन्मँदा केही भौतिक स्वामित्व ल्याएका हुँदैनाैँ र जाँदा पनि केही लाँदैनौँ भने बेकारमा किन आफ्नै रगत र कोखसँग लड्ने गर्छाैँ ? तपार्ईंं लडेर के पाउन सक्नुहुन्छ, केही पाउनै सक्नुहुन्न । विचार राम्रो बनाउन सक्यौं भने जीवन जिउन केही कठिन हुँदैन । प्रकृतिले हामीलाई जल, थल, आकाशजस्ता अवयव दिएको छ । हामीले प्रयोग गर्न नजानेर मात्र हो । प्रकृतिले यति सजिलो बनाइदिएको छ, प्रकृतिविरुद्ध गएरमात्र हामीले दुःख पाएका हौं ।
समाजमा मालिक बन्नको लागि मानिसले अकुत सम्पत्ति देखाउने गर्छ । कसैलाई एउटा सामान्य घर भए पुग्नेमा त्यस घरले छुँदै छुँदैन र ठुल्ठूला घर बनाएकै हुन्छ । एउटा घर एक परिवारको लागि काफी छ । प्रत्येक दिन, प्रत्येक उत्सव र प्रत्येक चाडपर्वमा नयाँ नयाँ फेरी–फेरी कपडा लाएकै हुन्छ । त्यसै गरी अनावश्यक गरगहना पनि दराजमा थन्क्याएकै हुन्छ ।
टिप्पणीहरू