एभरेष्टको कर्पोरेट क्यालेण्डर विमोचन

एभरेष्टको कर्पोरेट क्यालेण्डर विमोचन

एभरेष्ट बैंकले नयाँ वर्षको कर्पोरेट क्यालेण्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले २०८० सालको कर्पोरेट क्यालेण्डर बाहिर ल्याएको हो ।

‘नेपालका राष्ट्रिय विभूतिहरु’ भन्ने नारासहितको क्यालेण्डर संस्कृति मन्त्रालयका सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा विमोचन गरेका हुन् । नेपालको कला, संस्कृति, भाषा, भेषभूषा तथा पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेण्डर प्रकाशन गर्दै आएको छ ।

कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

त्यसक्रममा मन्त्रालयका सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेण्डर प्रकाशन गर्नाले समग्र जातजाति, भूगोल तथा पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाली कला संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको बताए ।

एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । साथै, देशभर १२४ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिने गरेको छ ।

टिप्पणीहरू