संक्रमणकालका अनेक खलनायकहरू !

संक्रमणकालका अनेक खलनायकहरू !

– राजेश मिश्र 
‘पुरानो संसार मर्दै छ, नयाँ संसार जन्मिन संघर्ष गर्दैछ । यस्तै संक्रमणकालमा खलनायकहरू जन्मिन्छन् ।’यो भनाइ इटालीमा जन्मिएका २०औँ शताब्दीका माक्र्सवादी चिन्तक, पत्रकार तथा भाषाविद् एण्टोनियो ग्राम्स्कीको हो । द्वितीय विश्वयुद्धमा जापान र जर्मनीसँग मिलेर युरोपमा फासीवाद प्रवर्धन गर्ने इटलीका बेनितो मुसोलिनीकै समवयी ग्राम्स्कीको यो कथन अहिले नेपाली सन्दर्भमा जस्ताको तस्तै लागू हुन्छ । 

राजतन्त्र मर्दै छ । गणतान्त्रिक संघीय प्रशासन प्रणाली प्रसव वेदनामा छ । राजतन्त्रले २४० वर्ष शासन गरेको काठमाडौँका नयाँ शासक आफैँले ल्याएको संघीयताको घाँटी निमोठ्न औंला पड्काउँदै छन् । विभिन्न नाम, थर र रूप लिएर नयाँ राक्षस जन्मिने क्रम जारी छ । प्रजातन्त्रमा तानाशाह खलनायक हो । अहिले यो खलनायकलाई निर्वाचित हुने सुविधा छ । सुशासनका लागि लोकरंजक व्यभिचारी खलनायक हो । यसलाई सामाजिक सञ्जालमा भक्तहरूले गरिदिने कोकोहोलोको सुविधा छ । राष्ट्रियताका लागि सम्प्रभूता विदेशी खालमा लगेर दाउ हानिदिने झण्डावाल देशभक्त खलनायक हो । यो खलनायकलाई अहिले बाँदर सेनाले सामाजिक सञ्जालमा गरिदिने कपीपेष्ट प्रविधिको सुविधा छ । 

भोटको ल्याप्चे हानेर आफ्नो तारणहार चुन्ने आममतदातालाई आफ्नो कथित नेताले बोलेको झुटलाई सत्य ठान्ने बानी परिसकेको छ । मतदातालाई विश्वास गर्ने खतरनाक रोग लागेको छ । विश्वास शब्द आफैँमा धोकापूर्ण छ । मान्छेले या जान्छ, वा जान्दैन । बुझ्छ वा बुझ्दैन । जान्नु र मान्नुको बीचमा विश्वास शब्दले अन्योल सिर्जना गर्छ । तर, मान्छेलाई बानी परिसकेको छ । 

नजान्ने तर पत्याउने जनता भेडाको खाल ओढेको ब्वाँसोको सामु निरीह हुन्छ । ०४६ सालको आन्दोलनअघि र पछि ०८० सालको संघारमा आइपुग्दासम्म सत्तामा कुण्डली मार्ने अनुहारमा व्यापक क्रमभंगता भयो । तर, जनताको अवस्था नकारात्मक रूपले स्थीर रह्यो । शोषक परिवर्तित भए । शोषण कायम छ । शोषित जो थिए, उनीहरू अहिले पनि शोषित नै छन् । शोषितले आफ्नो शोषण हुँदै छ भन्ने सुइँको नपाउनु समाजका लागि खतरनाक हुन्छ । नेपाली समाज अहिले यस्तै खतरनाक भीरमा गएर खुर्मुरिने लक्षण देखिँदै छ । 

सत्ताको अंकगणितमा जनताका सवालको मूल्य शून्य हुँदै छ । अन्धकारमा जिउन अभ्यस्त लाटोकोसेरोलाई सूर्यको महत्व हुँदैन । सामाजिक सञ्जालमा जति चेतनशील देखिए पनि व्यवहारमा अहिलेको नेपाली जनता लाटोकोसेरो हो । रवि लामिछानेले सन् २०१४ देखि सन् २०२२ को आठ वर्षमा दुईवटा राहदानी बोकेर १७ पटक विदेश यात्रा गरे । कहिले नेपाली त कहिले अमेरिकी राहदानीमा गरिएको उनको यात्रा वृत्तान्त अध्यागमन विभागको अभिलेखमा अझै सुरक्षित छ । अहिलेका प्रधानमन्त्री प्रचण्ड र पटके प्रधानमन्त्री देउवाको संगीतको भाका नमिलेपछि सत्ताको ढोक्सा थाप्न पुगेका नेकपा एमालेका अधिनायक केपी ओलीको नजरमा लामिछाने ‘नयाँ बाच्छो’बाहेक केही होइनन् । 

तर, उनले जसरी प्रचण्डलाई दौरा सुरुवाल लगाउन बाध्य पारे, त्यसैगरी लामिछानेलाई गृह मन्त्रालयको चाबी सुम्पिन लाचार तुल्याए । खिलराज रेग्मी प्रधानन्यायाधीशकै पदमा रहँदा सरकार प्रमुख भैसकेपछि सर्वोच्च अदालत संसदभन्दा माथि रहेको सत्य नेपालीलाई सजिलै पच्यो । मुलुक अहिले जनताको मत कम, सरकार, सर्वोच्च र कर्मचारी प्रशासनको स्वार्थबाट बढी चलेको यथार्थले पनि जनतालाई पोल्न छोडिसक्यो । 

सरकारकै ईशारामा सर्वोच्चले रविलाई मृत नागरिकताको मुद्दामा किनारा लगायो । अहिले सरकारकै अनुग्रहमा रविले महान्यायाधिवक्ता कार्यालयबाट अभयदान पाएका छन् । रविको स्थानमा कुनै आमनेपाली नागरिकले राहदानी दुरूपयोग गरेको भए के हुन्थ्यो? तर दुई ठूला खेलाडीको सत्ता राजनीतिमा च्याँखे दाउ बन्न पुगेका यिनले चामत्कारिक उन्मुक्ति हासिल गरे । जनतामा यो प्रश्न गर्ने सामथ्र्य मात्र होइन, नैतिक आधार पनि छैन । सैद्धान्तिक रूपले जनता सार्वभौमसत्ताको एकमात्र आधार हो । तर जनता पार्टी पंक्तिमा अस्वस्थ रूपले विभाजित देशका नेतालाई अंकगणित मिलुन्जेल जे गर्ने पनि छुट हुन्छ । 

रविलाई हिजो ओलीले खेलाए । आज प्रचण्डले खेलाउँदै छन् । एमाले नेता ओलीलाई रवि लामिछानेले धनुष्टंकार नमस्कार गर्नुबाहेक अर्को विकल्प छैन । यदि, प्रचण्ड र देउवाको गर्धन जोडिइसकेको अवस्थापछि समेत ओली यो गठबन्धन भत्काउन अन्य साना–मसिना पार्टीसँग मिलेर सत्ताको भागबण्डामा जुटेको कुराको भनक प्रचण्डको कानमा नपरेको भए राष्ट्रिय स्वतन्त्र पार्टीका स्वनामधन्य सभापतिको भविष्यमा लागेको बादल यति सजिलै र छिट्टै उघ्रिने थिएन । सत्ताको निम्ति ढलमा डुबेको ढ्याक जिब्राले लप्कार्ने प्रचण्डका निम्ति रविको दलको बाँकी १९ सांसद त चाँदीको किस्तीमा सजाएको बर्फी थियो । सर्वोच्च अदालतका न्यायाधीशसमेत पार्टी नेताको पाउमा दाम चढाउन जाने देशमा जाबो महान्यायाधिवक्ता को हो ? भाग्यविधाताको ‘ब्याट्री डाउन’ भइसक्यो । अब यी खहरे भेलसँग चितवन २ मा गएर गड्गडाउने नैतिक आधार छैन । तर, आजको नेपालमा नैतिकता र राजनीतिको कुनै सम्बन्ध छैन । 

कवि मार्क ट्वाइनले कुनै एक प्रसंगमा बडो रोचक कुरा भनेका छन्, ‘यदि जिजस क्राइस्ट अहिले ज्यूँदा थिए भने उनले भन्ने थिए, ‘हे प्रभू, मलाई सबथोक बनाऊ तर क्रिश्चियन नबनाऊ !’ बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी आदि अहिले यो धर्तीमा भए उनले पनि भन्ने थिए, ‘हे प्रभू, मलाई राजनीतिज्ञ नबनाऊ ।’ उनीहरूको पुकार जायज हुनेछ । यिनलाई देउवा, प्रचण्ड, ओली मात्र होइन, रवि लामिछाने, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही र मार्सी प्रसाईंले समेत विस्थापित गरिसके !

मार्सी प्रसाईं सार्वजनिक रूपमा भन्छन्, ‘बरु यो देश इण्डियाले लिए हुन्थ्यो, कमसेकम नेपाली जनताले भन्सार नतिरी सस्तो गाडी त चढ्न पाउँथे !’ पूर्वराजा ज्ञानेन्द्र उनकै सभामा गएर प्रमुख अतिथि बन्छन् । ज्ञानेन्द्र सुटुक्क भारत जाने समाचार आउँछ । राजतन्त्रवादीहरू ‘अब नेपालमा राजतन्त्र फर्किन्छ,’ भन्दै ताली बजाउँछन् । भारतीय जनता पार्टीको दोश्रो तहका नेताहरू आरजू रानाको आग्रहमा नेपाली कांग्रेसले कसलाई समर्थन गर्ने वा नगर्ने भन्ने रणनीति तयार गरिदिन्छन् । कांग्रेसीहरू ‘राजनेता’ देउवाले प्रजातन्त्रको पक्षमा चालेको दूरदर्शी कदमको रूपमा त्यसको व्याख्या गरिदिन्छन् । तिब्बतीहरू पाए दलाई लामाले बिहान बिसर्जन गरेको मलसमेत प्रसाद ठानेर खान लालायित हुन्छन् । नेकपा एमालेका कार्यकर्ताले ओलीको पक्षमा त्यति गर्न मात्र बाँकी छ । 

संसारमा जे–जे सिर्जित छ, त्यो परिवर्तनशील मात्र छैन, त्यसको अन्त्य पनि निश्चित छ । त्यसको अन्त्य नहुन्जेल नयाँको जन्म हुँदैन । तर, नेपालको प्रसव वेदना लामो भयो । नयाँ जन्मिनुअघिको संक्रमणकालमा खलनायकहरूको राजले नयाँको सम्भावनामाथि प्रश्नचिह्न लागेको छ ।

टिप्पणीहरू