दुईथरि प्रहरीबीच झण्डै झडप

दुईथरि प्रहरीबीच झण्डै झडप

दुईथरि बर्दिधारी– एउटाले छिर्नै नदिने, अर्कोले एक रातसम्मलाई बास बस्न खोज्छन् भने छाडिदिऊँ न त भन्ने ! महोत्तरीको बर्दिबासबाट हिँडेर ११ दिनमा काठमाडौं आइपुगेका ७३ जना मीटरव्याजपीडितमाथि अस्ति सोमबार काठमाडौंमा यस्तो व्यवहार भएको हो ।

मीटरव्याजपीडितहरु मात्रै हुँदा त समस्या थिएन, तर नगर प्रहरीलाई ढुंगा हानेबापत समातेर हिरासतमा राखिएका नारायण परिश्रमिकलाई छुटाउने मागसहित १ महिनादेखि माइतीघरसम्म दिनदिनै जुलुस निकाल्ने थापाथलीका सुकुम्बासीदेखि वैद्य र विप्लव नेतृत्वको नेकपाका कार्यकर्तासम्म त्यसमा मिसिन पुग्दा काठमाडौंका मेयर बालेन साह आफ्नै गृहजिल्लाबाट आइपुगेका पीडितसँग आत्तिए ।

उनको अत्यास थियो, खुलामञ्चमा छिर्न दियो, बाग्मती तीरका सुकुम्बासीले हट्न नमानेझैँ त्यहीँ छाप्रो बनाएर स्थायी रुपमा बस्लान् भन्ने । त्यसैले महानगर प्रहरीका एसपी राजु पाण्डेको टोलीले उनीहरुको बाटो छेक्यो, मातातीर्थबाट एस्कर्टिङ गर्दै ल्याएको नेपाल प्रहरीको टोलीचाहिँ एक रात सुत्न भित्र छिर्छन् भने छिरुन् भन्ने पक्षमा थियो । स्थिति कस्तो भयो भने, पीडितलाई भित्र छिराउने कि नछिराउने भन्ने बहानामा दुईखाले प्रहरीबीचमै झडप होलाजस्तो । प्रहरीले छिर्न खोज्नेहरुलाई सहजीकरण गर्दा बालेन रिसाउने, पीडितलाई सहयोग नगर्दा सरकार बेखुश हुने । माइतीघर मण्डलामा प्रदर्शनसम्म त गर्न मिल्छ, पालै टाँगेर राख्ने कुरा पनि भएन । 

छिर्न दिने र नदिने दुबैको केही चलेन । अन्तिममा प्रजिअ र प्रहरीले उनीहरुलाई गृहसचिव र आइजिपीको आदेशमा रत्नपार्कको शान्ति बाटिकामा राख्ने भए । गणेशमानको शालिक भएनेर बस्न दिने, शौचालय र पानी चाहिए उपत्यका प्रहरीको कम्पाउण्डमा छिर्न दिने पनि भनियो । तर, ‘पाए टुँडिखेल, नत्र कतै नबस्ने’ भन्दै पीडितहरु रातभरि सुतेनन् । 

हिजो मंगलबार उनीहरुले बालुवाटारमा प्रदर्शन गरे । समाधानका निम्ति गृहसचिव स्तरीय पहल भयो । स्वयं प्रधानमन्त्रीले चासो राख्नुभयो । तर, मीटर व्याजीको समस्या समाधान गर्न त्यति सहज छैन । उनीहरुले पाँच लाख रुपैयाँ ऋण लिएर १५ लाखको कागज गरेका हकमा त हाटहुट गरेर साँवा मात्रै लेऊ भन्न सकिएला तर पैसा लिनुअघि नै जग्गा पास गरेर दिएका दिएकाको हकमा के गर्ने ? त्यस्ताले मालपोतबाट जमिनको रजिष्ट्रेसन पास गरेको भए फिर्ता हुने कानुन आउनुपर्छ । त्यस्तो कानुन आउँदा सहमतिमा भएका बेचबिखन पनि समस्यामा परे कसरी हल हुन्छ ? समस्या अर्कातिरबाट बल्झिने खतरा उत्तिकै छ ।

टिप्पणीहरू