ओली आउने भन्दै झुक्याइयो अनि

ओली आउने भन्दै झुक्याइयो अनि

‘अध्यक्ष आउलान्, हँसाइ हँसाई ऊर्जा बढाउलान्’ भनेर पर्खिएका कार्यकर्ता जब निराश भए, आयोजकहरूले भन्ने ठावाैँ रहेन । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा घोडेजात्राको दिन (चैत ७ गते) यस्तो देखिएको हो । त्यसदिन मजदुर, विद्यार्थी, उद्योग व्यवसायी र पेशागत गरी ४ वटा जिल्ला कमिटीका पदाधिकारीका निम्ति विशेष प्रदेश कमिटीले ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा’ भन्दै बैठक राखेको थियो ।

तर, बैठकमा तल–तलबाट प्राप्त समस्याहरूको मुठो बोकेका उपमहासचिव विष्णु रिमालमात्रै देखिए । अध्यक्ष आउलान्, उहाँका रमाइलो कुरा सुनौँला र पेचिला–पेचिला प्रश्न राखौंला भनेर गएका कार्यकर्ता भने अध्यक्षलाई नदेखेपछि निराशमात्रै भएनन्, आक्रोश नै पोखे । ओली आउने भनेपछि पाँच सयभन्दा बढी कुर्सी तयार पारिएको थियो । उहाँ नगएपछि ‘मान्छे जम्मा गर्नलाई ओलीको नाम बेच्ने ? भन्दै बैठकका सहभागी ‘आगो’ भए । अनि, कुरा उठ्यो चुनावमा भएको अन्तर्घात, सही पात्रलाई टिकट नदिएको, आफूले नपाएपछि अरुलाई हराएकोजस्ता ।

काठ व्यापारी बालकृष्ण शिवाकोटीलाई टिकट दिँदा दोलखामा पार्वत गुरुङले हराइदिएको प्रसंग पनि उठ्यो । एकजनाले भने, ‘हामीले खाइनखाई कमाएको पैसा कटाएर किन लेवी तिर्नुप¥यो ? पार्टीमा मोतिलाल दुगड भन्ने नेता छँदैछ, उसैले दिइहाल्छ नि !’ पैसा दिने टुप्पोमा छ, काममा खटिने हामी फेदमै छौं ?’ सरकारबाट हटेको, सरकारमा गएको– दुबै कुरामा पार्टीको ढंग नपुगेको भन्ने कतिपयको टिप्पणी थियो । एकजनाले प्रश्न गरे, ‘संसद विघटन ठीक थियो भनेर अध्यक्षले संसदमै किन बोल्नु परेको ? त्यस्तो बोलेर के फाइदा भयो ? बरु उल्टै घाटा भयो ।

पाइएका सबै चीजहरू गुम्दै गयो । नेताहरूले अध्यक्षसामु बोल्न किन नसकेको ? रिमालले भने, म कति बोल्छु, बोलेकै भएर मलाई सबैले छुच्चो भन्छन् !’ एकजना पोलिटब्युरो सदस्य भन्छन्– अचेल पार्टीका गतिविधिहरूमा सामेल हुने उत्साह, उमंग र उत्सुकता कार्यकर्तामा देखिन्न । एकथोक भन्यो, अर्कोथोक ग¥यो ।’ सत्तामा हुँदा र नहुँदा पनि जोश जाँगरमा फरक पर्ने उनको धारणा थियो । 

उता, सदस्यता नवीकरणमा उस्तै अन्योल छ । बाहिर जतिसुकै भनिए पनि पेशागत जिल्ला कमिटीअन्तर्गत ५० प्रतिशत सदस्यता पनि नवीकरण भएको पाइएन । बुद्धिजीवीतर्फ एमालेका ७ हजार सदस्यमध्ये ४ हजार सदस्यता नवीकरण भएका छन् । नवीकरण नगरेका कतिपय समाजवादी भए, कतिपय अवकाश पाएर गए, कतिपय फुटको कारण निराशा भए ।
 

टिप्पणीहरू