समाज डरलाग्दोसँग भाँडिएको संकेत

समाज डरलाग्दोसँग भाँडिएको संकेत

गौंडामा कुरेर बसे हात्तीलाई समेत ढाप मार्न पाइन्छ भन्थे पुर्खाहरू । आजका बूढापाकाहरूले त यस्तो भनाइ सुनेका पनि छैनन् होला । अध्यक्ष केपी ओलीले आफूलाई चाणक्य नै ठान्दिँदा शेरबहादुर देउवालाई गौंडामा कुर्ने अवसर प्राप्त भयो । प्रचण्डको बाध्यतालाई कमजोरी ठानेर उनीमाथि हैकम चलाउन खोज्दा ओलीको चाणक्यगिरीको धोती खुस्किन गयो भने देउवाले प्रचण्डलाई धाप मार्ने अवसर पाए । आफ्नै कुबुद्धिले गर्दा ठूलो दल भएर पनि सत्ताबाट बाहिर बस्न पुगेका देउवालाई आफ्नो दलको सदस्यलाई देशको राष्ट्रपति बनाउने, दललाई सरकारमा समावेश गराउने र यसै कार्यकालभित्र आफू स्वयं पनि प्रधानमन्त्री बन्न पाउने अवस्था निर्माण भयो । देशैभरि जनयुद्ध दिवस मनाउने विषयमा सहमति गरी ल्याप्चे धस्काएर आफूले चाहेजसरी सत्ता नचलेपछि ओलीले सत्तोसराप गरेर हिँडेजस्तै प्रचण्ड एमालेसँग मिल्न गएको भनी सराप्दै, गाली गर्दै हिँडेको भए देउवालाई आजको यो अवसर कुनै पनि हालतमा प्राप्त हुने थिएन । आज देउवा गौंडामा हात्तीलाई धाप मारेर बसेका छन् । अर्थात् नबोलीकनै प्रधानमन्त्रीलाई कज्याउन पाउने स्थितिमा छन् । 

एमाले अध्यक्ष ओलीले बढी चलाख बन्ने कोसिस नगरेको भए सम्भवतः राजनीति र सत्ता दुबैले एक किसिमको लय पक्डिन सक्ने वातावरण बन्न सक्थ्यो । त्यो कसरी भने संसदमा रहेको प्रगतिशील तथा वामपन्थी धार सत्तामा हुने थियो भने पुँजीवादी तथा दक्षिणपन्थी धार प्रतिपक्षमा रहन्थ्यो । यस्तो अवस्था बन्न जाँदा मुलुकमा राजनीतिक स्थायित्व कायम हुन सक्ने तथा एउटा निश्चित सिद्धान्तअन्तर्गत रहेर नीति तथा कार्यक्रम र बजेट पनि बन्ने, देशको अर्थतन्त्रले पनि एउटा निश्चित दिशा लिन सक्ने अवस्था निर्माण हुन सक्ने प्रवल सम्भावना थियो । बाँदरले आफ्नो घर बनाउन्न र अरुको घर पनि बिगार्ने काम गर्छ भनेजस्तै एमाले पनि ठीक यस्तै क्रियाकलाप गर्न पुग्यो जसकारण ऊ आज केन्द्र र प्रदेशको सत्ताबाट बाहिरिन पुगेको छ । किन चाम्रिस् मरिच आफ्नै पिरोले भनेको यही होला । अबको राजनीति कसरी अघि बढ्छ– यस्सै भन्न सकिन्न । हालसालै एउटा सन्दर्भमा माके नेता महराले गम्भीर कुरा बोलेका छन् । वास्तविकता उनले भनेजस्तै हो भने यो डरलाग्दो कुरा हो । 

कैयौंपटक चुनाव जितेर उपेन्द्र यादवले र प्रहरी सेवाको विभिन्न पदमा रहेर रमेश खरेलले देशको निम्ति धेरै काम गरिसकेका छन् । जिम्मेवारीमा बसेर राम्रो नराम्रो के–कस्तो काम गरे त्यसको मूल्यांकन गर्ने जनता हो । जनताले उनीहरूले गरेको कामको मूल्यांकन गरेरै हुनुपर्छ यसपटकको चुनावमा यी दुवै जनालाई हराइदिए । तर, एक पटक चुनाव हारेर पनि फेरि सांसद बन्न मरिहत्ते गर्दै छन् । स्वर्णिम वाग्लेले पनि कांग्रेसी भएकै कारण योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी पाएका हुन्, यो जिम्मेवारी चानचुने होइन । उनीजस्ता गैरकांग्रेसी मानिस यो देशमा कति छन्, कतिले घुमेर दिन काटिरहेका छन् । उनलाई यो उपचुनावमा किन उम्मेदवार बनाइएन– त्यो कांग्रेसको आन्तरिक कुरा भयो । तर, चुनावमा टिकट नपाउनेबित्तिकै आफूले अँगालेको सिद्धान्तलाई तिलाञ्जली दिएर दल परिवर्तन गरी अर्को र त्यो पनि रवि लामिछाने नेतृत्वको पार्टीमा छिरेर टिकट हत्याउने जुन काम गरे त्यसले उनको छविलाई धुलिसात पारिदिएको मात्रै छैन कि एक नम्बरका पदलोलुप रहेछन् भन्ने प्रमाणित भएको छ । रवि लामिछाने चुनाव त जितेका तर फौजदारी कसुर गरेबापत अदालतद्वारा दण्ड सजायँ पाएका मान्छे हुन् । अदालतले कसुरदार ठहर्‍याएका कारण निजको पद गुमेको हो ।

सरसर्ती हेर्दा उनले पुनः चुनावमा उठ्न चाहनु स्वाभाविक भए पनि विवादास्पद परिस्थिति अहिलेसम्म पनि रहिरहेका कारण यिनी पनि खासमा उम्मेदवार नबनेर आफ्नै दलको अरु कसैलाई उठाउनेतर्फ लागेको भए त्यो एकदमै नैतिक हुने थियो । तर पदको निम्ति नैतिकता, सिद्धान्त, पार्टी र आफैँले विगतमा बोलेका कुरालाई कसले महत्व दिने ! किनभने जितेपछि सिकन्दर जो बन्न पाइन्छ ।नेपाली समाजको एउटा तप्का दबंग राजनीतिमा विश्वास गर्ने बन्दै गइरहेको देखिन्छ । जे–जस्तो मान्छे भए पनि उसले बोलेको वा उसले गरेको काममा आक्रामकता चाहन्छ यो तप्का । यो तप्कालाई देशको शासन प्रणाली, अर्थतन्त्र, सामाजिक बनावट, संस्कृति, विश्व अर्थतन्त्रको लय, सामरिक अवस्थिति के कस्तो छ आदिबारे कुनै चिन्ता र चासो छैन । चासो छ भने केवल मान्छेको दबंगी चरित्रमा छ । रवि लामिछानेले चार वटी विवाह गरेको भन्दा परर्र ताली पिट्छ यो तप्का । ज्ञानबहादुर शाहीका चर्का कुरामा ताली पिट्छ र सुरेन्द्र केसीलाई रोल मोडेल मान्छ । 

आजको ब्यवस्था ल्याउन जनताले ठूलो संघर्ष गर्नुपरेको कुरामा कुनै विवाद छैन र यो व्यवस्था ल्याउनमा रवि र ज्ञानबहादुरहरूको कुनै योगदान पनि छैन । यिनीहरू बयलगाडामा चढेर अमेरिका पुगिन्न भन्ने मानसिकताकै मान्छे हुन् । तर अचम्मै लाग्ने गरी समाजको एउटा तप्का यस्तै मानसिकताले भरिएका मान्छेहरूको उट्पट्याङ कुरामा मस्त देखिन्छ । रवि वा ज्ञानबहादुरको चुनावी जित कुनै संघर्ष र बलिदानबाट प्राप्त जित नभएर दबंग चरित्र मन पराउने समाजको कारण प्राप्त भएको जित हो । काँचको पर्दामा अरबका दुःखलाई जति दर्दनाक तरिकाले यिनले प्रस्तुत गरे त्योभन्दा कैयौं गुणा धेरै यिनले त्यसलाई भजाएर फाइदा लिए । तर, यो कुरा दबंग चरित्र मन पराउने धेरैलाई थाहा छैन । 

अन्त्यमा, सबैका आ–आफ्ना दाउ छन् । एमालेका एउटा नेताले त राम भगवान्ले कम्युनिष्टको राजनीति पार लाइदिने भाषण सार्वजनिक मञ्चबाटै ठोक्न भ्याए । र, यसमा पनि समाजको एउटा तप्का, जसले आफूलाई कम्युनिष्ट हो भन्ने दाबी गर्छ, ले राम्रोसँग र खुशी भएर ताली नै बजाए । यो पार्टी लाइनअनुसार नै बोलेको होला सम्भवतः । दबंग र रामको राजनीति धेरै खतरनाक छ जुनकुरा धेरैले बुझेको देखिन्न । एउटा सेक्युलर, समावेशी, न्याय र समानतामा आधारित समाज बनाउने सवालमा यस्तो राजनीति ठूलो बाधा हुन सक्छ । यस विषयमा सिरियस्ली ध्यान दिने र समाजलाई यस्तो खतरनाक दिशातिर जानबाट रोक्नेतर्फ लाग्न अर्थात् देशलाई दुर्घटनातर्फ जानबाट रोक्न जे–जस्तो कदम चाल्नुपर्छ, बोक्नुपर्छ त्यो कदम चाल्न ढिला गरिनुहुन्न । देशलाई चाहिएको दबंग र रामको राजनीति होइन समावेशी र समानताको संघर्ष हो ।

टिप्पणीहरू