प्रधानमन्त्री हेलिकोप्टर चढ्नै लाग्दा...

प्रधानमन्त्री हेलिकोप्टर चढ्नै लाग्दा...

एउटा सामान्य विषयमा प्रधानमन्त्रीसँग भेट्न खोज्दा निर्वाचन आयोगका पदाधिकारीले समय पाएनन्, अन्ततः बाटैमा छोपेर आफ्नो कुरा भन्नुपर्‍यो । आइतवार पूर्वाञ्चल विश्वविद्यालयको ११ औं दीक्षान्त समारोहमा भाग लिन मोरङको गोठगाउँ जानका लागि बालुवाटारको कम्पाउण्डभित्रै हेलिकोप्टर तयार थियो । प्रधानमन्त्री उड्न हतारिँदै हुनुहुन्थ्यो । तर, आयोगका पदाधिकारीले बाटैमा छोपेर आफ्नो कुरा राखे । कुरा त्यति ‘ठूलो’ थिएन ।

वैशाख १० मा बारा, चितवन र तनहुँका लागि हुने उपनिर्वाचनको क्रममा ती–ती जिल्लामा २४ गतेदेखि आचारसंहिता लगाउनेबारे जानकारी दिनु आयोग पदाधिकारीको मुख्य काम थियो । ‘त्यत्रो–त्यत्रो चुनाव गराइसक्नुभयो, अब त्यत्ति तीनवटा जिल्लाको कुरा त रह्यो नि’ भन्दै प्रधानमन्त्रीले आचारसंहिता लागू गर्ने कुरामा सहमति जनाउनुभयो । उपनिर्वाचन हुने जिल्लाका हकमा मात्रै लागू हुने र काठमाडौंबाट गर्नुपर्ने काममा कुनै बाधा नहुने कारण प्रधानमन्त्रीले सहजै आचारसंहिता लागू गर्न स्वीकार्नुभएको एक पदाधिकारी बताउँछन् । त्यसमाथि प्रधानमन्त्रीको पार्टीका एकजना पनि उम्मेदवार नभएको अवस्थामा उपनिर्वाचन हुने ठाउँमा जानुपर्ने, भाषण गर्नुपर्ने अवस्था नभएर पनि काठमाडौंमा मन्त्री थप्न त झन अप्ठ्यारो पर्ने कुरै छैन ।

आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटिसकेपछि चुनावी चर्चा गरे, कहाँ, को बलियो छन् भनेर । एक जनाको दाबी थियो, रविले चितवनमा मतान्तर वा मतसंख्या घटाउँछन् । अर्का पदाधिकारी मानिरहेका थिएनन् । मंसिर ४ मा व्यापारी उमेश श्रेष्ठलाई टिकट दिएर मात्रै हो, नत्र त्यतिबेलै अहिलेका उम्मेदवार जितनारायण श्रेष्ठलाई कांग्रेसले उठाएको भए रविलाई मुश्किल पर्ने उनको दावी थियो । एमाले उम्मेदवार रामप्रसाद न्यौपाने पनि कमजोर हैनन् । भरतपुर, नारायणगढ, क्षेत्रपुरसहित चितवनको शहरी भेग हो, क्षेत्र नंं. २ । शहरी जनमत स्थिर नहुने कारण मंसिर ४ को परिणाम जस्ताको तस्तै आउला भन्नेमा कतिपय पदाधिकारी सहमत थिएनन् । 

तनहुँमा कांग्रेसका गोविन्द भट्टराईलाई हराउन मुश्किल पर्ने उनीहरूको ठहर छ । दोस्रोका लागि एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा हुने अनुमान छ । बारामा भने उपेन्द्र यादवले जित्ने कुरामा कसैको विमति थिएन । तर, दोस्रो र तेस्रो को होला भन्नेमा आपसमै माथापच्ची चल्दै थियो । एकथरी भन्दै थिए, ‘एमालेका पुरुषोत्तम पौडेल पञ्चायतकालदेखिकै खेलाडी, प्रधानपञ्चदेखि मन्त्रीसम्म भएको मान्छे !’ यी आधारमा उनी दोस्रो हुने एक पदाधिकारीको ठहर थियो । जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहले मंसिर ४ मै लोसपाबाट उठ्दा ल्याएको मतका आधारमा उनी दोस्रो हुने अर्काथरीको दाबी रह्यो । प्रहरीका पूर्वडिआइजी रमेश खरेल पनि त्यहाँबाट उठेका छन् । उनको पक्षमा त्यति राम्रो माहौल बनिसकेको छैन भन्दै एक जना पदाधिकारीको प्रक्षेपण थियो, ‘चौथो हुन्छ, चौथो...!’

टिप्पणीहरू