फोहोरमा फाल्ने प्लाष्टिकलाई हस्तकलाले सजाउन आतुर महिलाहरु

फोहोरमा फाल्ने प्लाष्टिकलाई हस्तकलाले सजाउन आतुर महिलाहरु

 भरतपुर–११ को पोखरीचोकमा हिजो यहाँका झण्डै ३०÷३५ जना महिलाहरु  हात–हातमा प्लाष्टिक र बोरा बोकेर आए । चोकैको सामुदायिक भवनको हलमा जम्मा भएका ती तरुनी, युवती, गृहिणीहरु हस्तकलाको सीप सिक्ने हुटहुटी लिएर आएका थिए । त्यसैले हत्तपत्त म्याट बिछ्याएर तयार हुन थालिहाले । उनीहरुलाई त्यहाँ फोहोरबाट मोहर बनाउन सिकाउन लागिएको थियो । 

पोेखरी टोल विकास संस्थाले हिजोबाट टोलबासी महिला दिदीबहिनीहरुका लागि हामीले फोहोरको रुपमा फ्याँक्ने गरेको प्लाष्टिकबाट विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम आयोजना गरेको 
छ । कार्यक्रमको औपचारिक समुद्घाटन सकिएलगत्तै महिलाहरु हलको भुइँमा म्याट बिछ्याउँदै आ–आफ्नो बोरा र प्लाष्टिक अगाडि राखेर लहरबद्ध भई बस्ने तरखरमा जुटिहाले ।  फोहोर सफा गर्ने फोहोरी अनि फोहोर फाल्नेचाहिँ सफा–सुग्घरी भन्ठान्ने त हाम्रो सोच छ ? अनि कहिले घट्छ त हाम्रो बाटोघाटो, शहरबजार, चोकगल्लीबाट डुङ्डुङ्ती फोहोरको डङ्गुर ? फोहोर बढेपछि रोगव्याधि पनि बढ्छन् । तर सही व्यवस्थापन गर्ने हो भने वातावरण प्रदूषण कम पनि गर्न सकिन्छ र फोहोर भनी फालिने कतिपय त्यस्ता चीजलाई पुनः प्रयोगमा ल्याएर थप फाइदा पनि लिन सकिन्छ ।

हामीले विभिन्न पसलबाट सामान किनेर ल्याउँदा ती सामग्री बोकेर ल्याइने पोलिथिनको झोलालाई हामी धेरैले फोहोर भनी त्यसै जथाभावी मिल्काइरहेका छौं । घरआँगन, बाटोघाटो, शहरबजार, चोकगल्ली नै फोहोरले कुरुप हुने गरी माटो अनि पानीलाई समेत प्रदूषित बनाउने प्लाष्टिकजन्य त्यस्ता बस्तुहरु जथाभाबी फालिएको हामी जताततै देख्छौं । ‘रियुज हुने प्लाष्टिक बिक्रीमा जान्छ, फोहोरलाई मोहर बनाउन सकिन्छ’, पोखरी टोल विकास समितिकी अध्यक्ष चन्द्रकुमारी खड्काले भनिन् । उनले आफ्नोे टोलमा विगत सात वर्षदेखि त्यस्ता प्लाष्टिक संकलनका लागि सुइरो कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि दिइन् ।

“मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर, मेरो फोहोर मेरो जिम्मेवारी” त यहाँको नारा नै छ । भरतपुर महानगरपालिकाको सहयोग र समन्वयमा प्लाष्टिकजन्य फोहोर न्यूनीकरणका लागि चैत २४ बाट २६ सम्म तालिम आयोजना गरिएको हो । वातावरण प्रदूषण न्यूनीकरण र अर्काे पुनः प्रयोगको फाइदा – यो दुई उद्देश्य कार्यक्रमको रहेकोे समितिका वरिष्ठ सल्लाहकार वाइआर पाण्डेले बताए । 

तालिम दिन भरतपुर महानगरपालिकाबाट दुईजना प्रशिक्षक खटिएका छन् । यस्तै तीनदिने तालिमबाटै सीप सिकेर अहिले आफू ट्रेनर हुन सकेको प्रशिक्षकको रुपमा आएकी रीभा श्रेष्ठले बताइन् । यस्ता प्लाष्टिकबाट डोरम्याट, ढकिया, चकटी, फूलदानी आदि विभिन्न सामग्री बनाउन सकिने उनले बताइन् । ‘शोपीसका लागि मात्र होइन बिक्रीवितरण गरी आम्दानी पनि गर्न सकिन्छ’ उनले भनिन्, ‘लगानी गर्नैपर्दैन, मेहनतमात्रै हो ।’ अहिले भरतपुर, चितवनमा बजारीकरण भइनसकेपनि काठमाडौंतिर प्लाष्टिकबाट निर्मित यस्ता हस्तकलाका सामग्रीको राम्रै बिक्रीवितरण भइरहेको रीभा बताउँछिन् । 

पोखरी टोल विकास समितिका सल्लाहकार गोपीलाल खनाल, सचिव चेतनाथ रेग्मी, सदस्य पूर्णमाया अर्याल लगायत पनि समुद्घाटन कार्यक्रममा सहभागी थिए । समितिकी सदस्य माया तामाङ कुमालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

टिप्पणीहरू