कालापानी छेउका जनता गुहार माग्दै काठमाडौंतिर

कालापानी छेउका जनता गुहार माग्दै काठमाडौंतिर

कोभिड महामारीका कारण तीन वर्षदेखि बन्द चीन जोड्ने दार्चुलाको टिंकर नाका चलाउन माग गर्दै कालापानीछेउका स्थानीय काठमाडौँ पुगेका छन् । छिमेकी देशका दूतावासदेखि प्रधानमन्त्रीसम्मलाई भेटघाट गरी तिनले आफ्नो पीडा सुनाएका छन् । 

तिब्बतको ताक्लाकोट बजार जोड्ने टिंकर नाका तत्काल खुलाउनुपर्ने स्थानीयको प्रमुख माग छ । कोभिड महामारीले नेपाल—चीन जोड्ने सबै नाका बन्द थिए । चैत १८ देखि रसुवागढी र तातोपानी नाकाबाट आवागमन खोलिएको छ । हिल्सालगायत केही थप नाका वैशाख १८ देखि खोल्नेबारे दुई देशका अधिकारीबीच सहमति भएको छ । परम्परागत रूपमा सञ्चालित दार्चुलाको टिंकर नाका पनि तत्काल खुलाउन प्रधानमन्त्री प्रचण्ड र चिनियाँ दूतावासमा स्थानीयले लिखित अनुरोध गरेका छन् । 

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ व्यासक्षेत्रमा छाङरु र टिंकर दुइटा मात्रै गाउँ छन् । व्यासी शौका जातिको मात्रै बसोवास भएको ती गाउँका स्थानीयले पुस्तौँदेखि ताक्लाकोटसम्म परम्परागत रूपमा व्यापार गर्दै आइरहेका थिए । नाका बन्द हुँदा स्थानीयको जनजीवन नराम्रोसँग प्रभावित बनेको स्थानीय व्यवसायी योगेश सिंह बोहराले बताउनुभयो । ‘अन्य वैकल्पिक पेशा नभएका व्यासवासीलाई टिंकर नाका बन्द हुँदा जीविकोपार्जनमै समस्या भइरहेको छ’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डलाई व्यासको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेटघाट गरेको छ । गाउँपालिका अध्यक्ष मंगल सिंह धामी नेतृत्वको टोलीमा निवर्तमान प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरासहित छाङरु र टिंकर गाउँका दर्जन स्थानीय सहभागी छन् । टिंकर नाका सञ्चालनमा ल्याउन प्रधानमन्त्री र चिनियाँ राजदूतले सकारात्मक कुरा गरेकोमा स्थानीय आशावादी छन् । ‘प्रधानमन्त्रीज्यू र चिनियाँ दूतावाससँगको भेटघाटले नाका खुल्ने आश पलाएको छ’ भेटघाटमा सहभागी छाङरुका स्थानीय विमलकुमार बोहराले भन्नुभयो । 

टिंकर नाका सञ्चालनकै लागि परराष्ट्र सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवसँग पनि व्यासको टोलीले भेटेर अनुरोध गरेको छ । ‘ढिलो नगरी नाका सञ्चालनमा आओस् भन्ने हाम्रो चाहना छ, यसकै लागि सबैतिर भेटघाट गरिरहेका छौं’ व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भन्नुभयो । व्यासका स्थानीयले दार्चुला—टिंकर सडक निर्माण चाँडो सक्न र पर्याप्त बजेट उपलब्ध गराउन पनि सरकारसँग अनुरोध गरेका छन् । प्रधानमन्त्रीसँगको भेटघाटमा प्रमुख रूपमा यो विषय उठाइएको गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले बताउनुभयो । ‘बजेट नहुँदा दुई महिनादेखि सडक निर्माण बन्द भएको विषयबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं, उहाँले यसबारे गम्भीरता देखाउनुभएको छ’ उपाध्यक्ष कुँवरले भन्नुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको ७८ किमि सडक निर्माण गर्न सरकारले दुई वर्षअघि सेनालाई जिम्मेवारी दिइसकेको छ । पहिलो वर्ष प्राविधिक र व्यवस्थापकीय तयारी गरेको सेनाले गत वर्षदेखि मात्र सडक निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षमा वडा नम्बर २ को दुम्लिङसम्म ८ किमि लामो सडक निर्माण गरिएको छ । 

चालु वर्षमा टिंकर सडक निर्माणमा पर्याप्त बजेट नदिँदा २ किमि मात्रै सडक निर्माण हुँदै छ । बजेट अभावले सडक निर्माण सुस्ताएको छ भने स्थानीयस्तरमा सडक निर्माण नै अलपत्र पर्ने हो कि भन्ने आशंका छ । दुम्लिङदेखि टिंकर भञ्ज्याङसम्मको बाँकी ७० किमि सडक बनाउन बाँकी छ । ‘वर्षमा २ किमि मात्रै खन्ने हो भने टिंकर सडकको ट्र्याक निर्माण गर्न मात्रै ३५ वर्ष लाग्ने देखिन्छ’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोक सिंह बोहराले भन्नुभयो । 

सरकारले उच्च प्राथमिकता दिएर टिंकर सडक निर्माण गराउनुको विकल्प नभएको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ । व्यास क्षेत्रमा परनिर्भरता हटाउन र ताक्लाकोटसम्मको व्यापार तथा कैलाश मानसरोवर यात्राको ढोका खोल्न पनि टिंकर सडक निर्माण दु्रतगतिमा गर्नुपर्ने स्थानीयको माग छ । 

व्यासमा अध्यागमन कार्यालय स्थापना गरी पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन गराउन पनि सरकारसँग माग गरिएको छ । प्रधानमन्त्रीसँग यसबारे पनि लिखित माग गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । एक हप्ताको अवधिमा र ५० हजारको खर्चमा टिंकर नाका भएर कैलाश यात्रा गराउन सकिने भएकाले यसका लागि गाउँपालिकाले सरकारसँग अनुरोध गरेको उहाँले बताउनुभयो । हाल रसुवागढी र हिल्सा नाका भएर पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन हुँदै आएको छ ।

यी नाकाबाट कैलाश यात्रा ९/१० दिनको हुने र यात्रीको खर्च दुई लाख रूपैयाँ लाग्ने गर्छ । व्यासका स्थानीयको टोलीले सोमबार काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि सीमाक्षेत्रबारे माग राखेको छ । महाकाली नदीमा बुँदी, दुम्लिङ र धौलाकोट क्षेत्र जोड्ने झोलुंगे पुल निर्माणका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष मंगलसिंहले बताउनुभयो । 

टिप्पणीहरू