बुद्धभूमिमा रक्सीको विज्ञापनका नाममा बबाल

बुद्धभूमिमा रक्सीको विज्ञापनका नाममा बबाल

नेपाल पत्रकार महासंघले लुम्बिनीमा गरेको राष्ट्रिय मिडिया सम्मेलनबारे यतिखेर पत्रकारहरू नै विभाजित भएका छन् । देशभरबाट लुम्बिनी पुगेका पत्रकारहरू नयाँ केही आउँछ कि भन्नेमा आशावादी थिए । उनीहरू त्यतिखेर निरास भए, जब प्यानल डिस्कसनका नाममा महिला प्रस्तोता र संघर्ष गरेर पत्रकारितामा जमेकी मधेशको राजधानी जनकपुरकी पत्रकार प्यानलमा हुँदाहुँदै दुई मिडिया साहुले ‘रक्सीको विज्ञापन गर्न पाइन’ भनेर पत्रकारकै कार्यक्रममा चित्त बुझाए । 

कृति भट्टराई प्रस्तोता र मधेशमा नयाँ पुस्ताकी अब्बल पत्रकार मनिका झा सदस्य रहेको प्यानलमा रातोपाटीका ओम शर्मा र एभिन्युजका भाष्कर राजकर्णिकारले मदिराको विज्ञापन रोकेकामा प्रेस काउन्सिलको धतुरो झारे । उनीहरूको तर्क थियो, ‘अर्बौँको विज्ञापन बाहिर गइरहेको छ, त्यो नदेख्ने, मदिराको थोरै विज्ञापन छाप्दा पत्र काट्न हतारो गर्ने ?’ दुवैले भने, ‘भनेजस्तो पत्रकार नै पाइन्न, पैसा दिन के आइतबार हो र ?’ सहभागीहरू भन्दै थिए, ‘त्यस्तो थाहा हुनेहरूले आफ्नो मिडियामा किन नलेखेका, प्रधानमन्त्रीको सल्लाहकार भइसकेका र उनैको सरकार हुँदा सिधै गएर रोक्न किन नसकेका ?’

मनिका झाले आम पत्रकारको कहानी सुनाइन् र भनिन्, ‘१० गतेसम्म मोबाइलमा म्यासेज हेरेर कहिले खातामा पैसा जम्मा हुन्छ भन्ने पिरलोले समाचारकर्मी तनावमा छन्, कसैको पनि महिनामा पैसा आएको हुन्न, जग्गा, हेलिकोप्टर किन्न पैसा हुने, पत्रकारलाई तलब दिन किन पुग्दैन, थाहै भएन ।’ यस्तो गम्भीर कुरा उठिरहँदा पत्रकार महासंघले रक्सीको विज्ञापन गर्न नपाएकाहरूलाई फोरम उपलब्ध गराएर मालिकको चाकरी गरेको भन्दै अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीको आलोचना गरेका थिए । मदिराकै विवादबीच धेरै पत्रकार पहिलो प्यानल डिस्कसन नसिद्धिँदै घुम्न निस्किए । 

अर्को डिस्कसनमा महासचिवले भने, ‘सिंहदरबारतिर पुग्दा मैले तपाईंंलाई भोट हालेको भन्नेहरू भेट्दा लज्जित हुन्छु ।’ यही फेरोमा सभापतिकी प्रतिद्वन्द्वी निर्मला शर्माले भनिन्, ‘गलत मान्छेको भोटले जितेकामा उहाँहरूलाई गल्ती महसुस भइरहेको छ ।’ फेरि पुरीले भने, ‘९२ भोट फर्जी हालेको प्रमाण छ ।’ शर्माले जवाफ दिइन्, ‘मैले यसलाई अन्यथा मानेको छैन, गल्ती सबैबाट भएको भन्ने कुरा ठूलो हो ।’ खासमा महासंघमा सदस्यता शुद्धिकरणको कुरामा यस्तो गलफत्ती भएको हो । 

केहीलाई भने पत्रकार महासंघको चुनाव लागिसकेको थियो । विषयवस्तु एकातिर, छलफल अर्कातिर भयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले ‘विज्ञापन बोर्ड दलाली गरेर कमिसनखोरीमा डुबेकाले खारेज गरौँ’ मात्र भनेनन्, पत्रकार महासंघ सरकारी बनेकाले ‘घाँस खान थालेको देखिएकाले भात खानतिर लाग्नुहोस्’ भने । उनले त्यसो भनिरहँदा उनकै पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा प्रेस चौतारीले थाहै नपाउने गरी नियुक्त विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं मञ्चमै थिए । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ‘सदस्यबाट छिरी अध्यक्ष भएर पेन्सन पकाउने गरी महासंघमा नलाग्न साथीहरूलाई अनुरोध छ’ भनेर युनियनबाटै वरिष्ठ उपाध्यक्ष बनेका रमेश विष्टलाई कटाक्ष गरेका थिए । 

महासंघका महासचिव संगठन विभाग प्रमुख हुँदाहुँदै सदस्यता शुद्धिकरण र टुंग्याउने विषयमा किन अरुलाई अधिकार दिइयो भनेर पनि पत्रकारहरूको गुनासो थियो । पत्रकारले तलब नपाएको, राज्यले पत्रकारलाई सूचना दिन नमानेको, असल र इमानदार पत्रकार उपेक्षामा पर्ने गरेको, महासंघले दिने अवसरमा पनि मनपरी भएकोलगायत विषयमा छलफल नै भएन । सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरेको कार्यक्रम समापनमा पर्यटन मन्त्री सुदन किराँती पुगेका थिए ।

टिप्पणीहरू