भारतीय सरकारको पेन्सन, विधुवाहरूलाई टेन्सन
भारतीय सेनाबाट निवृत्त भएर मृत्यु भएकाका विधुवा श्रीमतीहरूलाई उताको पेन्सनले टेन्सन मात्र थपिएको छ । विभिन्न बहानामा श्रीमान्को मृत्युपछि श्रीमतीहरूले पाउने पेन्सनमा रोक लागेको छ ।पेन्सनका लागि माग गरिने कागजातमा स्थानीय तहदेखि जिल्ला प्रशासनले आधिकारिक रूपमा प्रमाणित गरिदिँदासमेत बहाना बनाइन्छ । श्रीमती र परिवारले सोल्जर बोर्ड र दूतावास धाउँदा धाउँदै लाखौं खर्च हुने गरेको छ । पेन्सन पाउँदापाउँदै पतिको मृत्यु भएमा श्रीमतीले काजक्रिया खर्चसहित जीवनभर पन्सन पाउने व्यवस्था छ ।
जीवनलाई बन्दुकको नालमा दाउ हालेर भारतको सेवा गरेका टेकबहादुर लिम्बूकी ८१ वर्षीया श्रीमती हर्कमाया लोत्ताम १० वर्षदेखि पेन्सनको पर्खाईमा छिन् । सन्तान पनि नभएकाले अहिले उनी एक्लो जीवनयापन गरिरहेकी छन् । भारतीय कार्यालयले भनेजसरी नै सबै कागजात पेश गरे पनि अहिलेसम्म हर्कमायाले पेन्सन पाउन सकेकी छैनन् । जीवनको सुदूरउत्तराद्र्धमा रहेकी हर्कमायालाई अब भने पेन्सन पाउने आशा मात्र होइन लोभ पनि लाग्न छाडेको छ ।
यसरी पेन्सन नपाउने पूर्वभारतीय सेनाका श्रीमतीमा हर्कमाया मात्र होइन इलाम नगरपालिका–५ मा मात्र आधा दर्जनभन्दा धेरै छन् । देशभरि सयौंको संख्यामा छन् । इलाम नगरपालिकाकी नेत्रकुमारी कुँवरको पनि श्रीमान् बितेको ६ वर्ष भयो । पेन्सनका लागि भारतले नेपालमा स्थापना गरेको इलाम र धरानको कार्यालय पटक–पटक धाइन्, कार्यालयले मागेको सबै कागजात पेश गरिन् । तर अहिलेसम्म पेन्सन पाएकी छैनन् । ‘कागजात बनाउँदा र कार्यालय धाउँदा दुई अढाई लाख सकियो तर पेन्सन पाइएन’– ६३ वर्षीया नेत्रकुमारीले गुनासो गरिन्– ‘दिँदैनौँ भन्दैन, पेन्सन पनि दिएको छैन तर पनि देला कि भनेर आशैआशमा बसिरहेका छौं ।’
यसरी नै ३ वर्षअघि श्रीमान्को मृत्यु भएका सुकमति लिम्बूलाई भारतीय सरकारले कागजात नमिलेको भन्दै पेन्सन दिएको छैन । ३ वर्षअघि मृत्यु भएका कुलमान लिम्बूकी श्रीमती सुकमतिले पनि कागजात बुझाएकी छन् । एक वर्षअघि मृत्यु भएका पूर्वभारतीय सेना सोमबहादुर गुरुङकी श्रीमती ७१ वर्षीया दिलमाया गुरुङले पनि पेन्सन पाएकी छैनन् ।
टिप्पणीहरू