मालपोतका हाकिमले जब भैंसी उठाए

मालपोतका हाकिमले जब भैंसी उठाए

पढेलेखेका र सुकिलामुकिला मानिस गाउँ छिरेपछि सर्वसाधारणले नमस्कार र ढोग गर्ने त नेपाली परम्परा नै हो । त्यसमाथि मालपोतका हाकिम नै गाउँ पसेपछि मान–सम्मान हुने नै भयो ।  आफ्नो काम फत्ते गर्न हाकिमका लागि कुखुरा काट्ने, मदिरा मगाउने चलनै छ ।  बैतडीमा भने कुखुरा खुवाएर मानसम्मान गरेका हाकिमले सर्वसाधारणसँग मीत लगाएको नाटक रच्दै ८० हजारको भैंसी लगेको घटना सार्वजनिक भएको छ । 

हाकिम कमलापति भट्टले सिगास गाउँपालिका–१ का किसान रायो धामीसँग मीत लगाएर भैंसी लगेको वर्षौं बितिसकेको छ । मित लगाउँदा धामीका छोराछोरी पढाउने वाचा गरेर दुधालु भैंसी हिँडाएका भट्ट त्यो बेला गाँजरी गाविसका सचिव थिए । सचिव हुँदै अहिले मालपोतको हाकिम छन् तर धामीका छोराछोरीलाई पढाइदिने बाचा पूरा गरेका छैनन् । फोन गर्दा नउठाउने, भेट गर्न जाँदा चिनजान नै नभएको नाटक गर्ने बानी छ ।

एउटै व्यक्तिका दुई नागरिकता

हाकिम भट्टले गाविस सचिव हुँदा एउटै व्यक्तिलाई दुईवटा नागरिकता दिलाएको अर्को रहस्यमय घटना सार्वजनिक भएको छ । उद्धव नाम गरेका व्यक्तिलाई उमेश नाम दिएर दोश्रो नागरिकता दिलाएको रेकर्ड जिल्ला प्रशासन कार्यालयमा छ ।  

भट्टले नागरिकता सिफारिस गरेबापत तराईमा एक कट्ठा जमिन पाएको बताइन्छ । उक्त जमिन बेचेर डडेल्धुरा विद्युत् रोडमा घर किनेको जानकारहरू बताउँछन् ।  नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अध्यक्ष हुँदै नेकपा एमालेसँग निटक रहेर उनले हालसम्म पञ्चेश्वर गाउँपालिका र  सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको काम गरिसकेका छन् । 

पञ्चेश्वर गाउँपालिका अध्यक्ष एवं एमाले नेता गोरखबहादुर चन्दले यिनलाई पञ्चेश्वरबाट धपाएका थिए । त्यसपछि सुर्नया गाउँपालिकाको हाकिम हुने अवसर पाए । त्यहाँ पनि विवादित बनेपछि मालपोतमा सरुवा गराएर अहिले हाकिम बनेका छन् । 

गाउँलेसँग सम्बन्ध खराब

६० को दशकमा खरिदार पदबाट निजामती सेवामा छिरेका भट्ट त्यसअघि गाउँलेसँग भारतमा मजदुरी गर्न हिँडेका थिए । केही वर्ष चौकीदारी गरेर फर्किए । सँगै रहेका गाउँले भने नोेकरीबाट हटाइए । कमलापतिको खोजी गर्न भारतीय पक्ष बैतडीको अनारखोली हुँदै हालको पाटन नगरपालिका–१० मेटेसम्म पुगेको स्थानीयहरु बताउँछन् । 

स्थानीय श्याम भट्टले भने, ‘कमलापतिले भारतबाट पैसा ल्याएपछि हामीलाई नोकरीबाट हटाइयो । खान पनि दिएनन् । तिम्रो मान्छे हो, खोजेर ल्याओ भन्दै कुटपिट गरे ।

भारतबाट फर्केर गोरुको व्यापार

भारतबाट फर्किएपछि कमलापतिले डोटीसम्म कान्जी हाउस सञ्चालन गरेर बूढा गाई–गोरु पठाउने व्यवसाय शुरु गरे । सुदूरपश्चिमबाट बूढा गाई गोरु र भैंसी निर्यात गरेर मनग्गे कमाए । गाई–गोरु बेच्ने पेशा गर्दा गर्दै लोकसेवा पास गरेर अछाम जिल्ला हुलाकबाट निजामती सेवामा प्रदेश गरेपछि अहिलेसम्म फर्की हेर्नुपरेको छैन । नेता, सांसद, कर्मचारी र गाउँपालिका हुँदै अहिले मालपोत कार्यालयजस्तो चिल्लो ठाउँमा पुगेका छन् । 
 

टिप्पणीहरू