रूपन्देहीमा ‘माता’ हरूको रमिता
रूपन्देहीको सैनामैनामा कान दुखेको झारफुक गरेर सञ्चो गराउने भन्दै २२ वर्षीया सोनिया रेश्मी नाम गरेकी माताजीले १४ वर्षीया सीता ज्ञवालीको हत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की माता अमृता पौडेलले मानसिक अवस्था कमजोर भएकी बृद्धाको सम्पत्ति हडप्न थालेकी छन् । पछिल्लो पटक बाहिरिएको घटना तिलोत्तमा नगरको हो । सो नगरमा बस्ने एक जना ७२ वर्षीय बिरामी बृद्धा महिलालाई रोग सञ्चो गराइदिने भन्दै झारफुक र तन्त्रमन्त्र गर्ने बहानामा अमृता पौडेलले १ करोड ६० लाख रूपैयाँ आफूसँग लगेको झुटा कागजात तमसुक बनाएर घरजग्गा कब्जा गर्न खोजेकी छन् ।
फिरन्ते अमृता पौडेलको ठेगाना सिनपा–६ महावीर पथ छ । उनले मानसिक अवस्थासमेत कमजोर भएकी शान्तिदेवी ज्ञवालीलाई ०७३ भदौ ७ गते १ करोड ६० लाख रूपैयाँ दिएको भनी तमसुक बनाएकी छन् । सोही तमसुकको आधारमा ज्ञवालीको नाममा रहेको तिलोत्तमा नगरको १ बिघा ५ कठ्ठा ६ धुर जग्गा कब्जा गर्ने प्रयास भएको छ । सोही तमसुकसहित अमृताले जिल्ला अदालत रूपन्देहीमा शान्तिदेवीविरुद्ध लेनदेनको मुद्दा हालिन् । सोही मुद्दामा सुनुवाइ गर्दै अदालतले उक्त जग्गा रोक्का राखिदिनू भनी जिल्ला मालपोतलाई ०७६ फागुन २ गते पत्र पठाएको देखिन्छ ।
सोही वर्षको फागुन २९ गते न्यायाधीश लीलाराज अधिकारीको एकल इजलासले शान्तिदेवी ज्ञवालीको साक्षी पुन्डहरि अर्याललाई समेत नबुझी माता पौडेलको पक्षमा फैसला गरिदिएको छ । यी तिनै न्यायाधीश हुन् जसबिरुद्ध भर्खरै सिराहाको सवारी ज्यान मुद्दामा दोषीलाई फास्टट्य्राकबाट चोख्याएबापत न्यायपरिषद्ले छानविन शुरु गरेको छ । न्यायाधीश अधिकारीले शान्तिदेवी ज्ञवालीको साक्षीको रूपमा नाम राखिएका पुण्डहरि अर्याललाई सोधीखोजी नै गर्न नचाहेको देखिएको छ । जबकि उक्त अवधिमा अर्याल अमेरिकाको डालसमा थिए ।
शान्तिदेवीले यदि पैसा लिएको भए श्रीमान् र छोरालाई जानकारी गराउने थिइन् होला वा पैसा लेनदेन गरेको पक्षले तिनलाई साक्षी राख्थ्यो होला तर यो सरसर ठगीको काम गरिएकोले अमेरिकामा भएका अर्याललाई साक्षीमा राखिएको छ । बिरामी दिदीलाई माताको गिरोहले धामी–झाँक्रीको नाममा फसाएको खबर पाएपछि उनले अमेरिकादेखि नै जिल्ला अदालत रूपन्देहीलाई इमेल गरी पत्रसमेत लेखेका थिए । तर, अदालतले पत्रको कुनै सुनुवाइ नगरेको अर्यालको गुनासो छ । उनले भने, ‘दिदीले त्यतिधेरै पैसा मातासँग लिने कुरै भएन । दोस्रोे त्यो पैसा माताले दिएको हो भने चेक वा बैंकको स्टेटमेन्ट होला, त्यो प्रमाण छैन । तेस्रो त्यत्रो पैसा लेनदेन गर्दा घरका मान्छेलाई जानकारी किन गराइएन ? माताले धर्मकर्मको आडमा दिदीलाई रोग सञ्चो गराइदिन्छु भनेर ललाई फकाई नक्कली तमसुक सिर्जना गरेकी हुन् । यसमा अदालतले पुनर्विचार गर्नेछ ।’
शान्तिदेवीले ०७६ कात्तिक ८ गतेदेखि नै डिप्रेशनको उपचार गराउँदै आएकी थिइन् । उनको उपचार चौतारी मनोरोग, नशा तथा स्नायु अस्पतालमा मनोरोग विशषज्ञ डा. मनोज ढुंगानाले गरेको प्रमाण छ । बिरामी अवस्थामा नै उनले अदालतलाई प्रतिउत्तर दिएको देखिन्छ । ती मातासँग उक्त रकम कहाँबाट आयो, स्रोत के हो ताकि उनले शान्तिदेवीलाई सापटी दिइन् त्यस सम्बन्धमा पनि खोजीनीति हुनुपर्ने अर्यालको भनाइ छ । सो घटनाको विषयमा मातालाई सम्पर्क गर्न धेरै ठाउँमा सोधखोज गर्दा उनको सम्पर्क ठेगाना र नम्बर पाउन सकिएन । यद्यपि, उनले अदालतमा वारेश दिएका निर्मल तिवारीको मोबाइल नम्बर ९८४१९३३९०८ मा सम्पर्क गर्दा उनले यसबारे आफूलाई विस्तृत जानकारी नभएको बताए ।
‘माताले मलाई झारफुक गर्ने, मनको डर भगाइदिने आश्वासन दिएकाले म उनको सम्पर्कमा आएको हुँ’ सेतै फुलेको कपाल, फुंग उडेको अनुहार लगाएर शान्तिदेवीले विस्तराबाटै उनले भनिन् । उनले आफूलाई त्यत्रो पैसा जीवनमा कहिल्यै जरुरी नभएको बताउँदै भनिन्, ‘मैले पैसा लिएर केमा खर्च गर्ने हो र ? बिरामी थिएँ, घरकाले उपचार गराए अहिले अलि निको भएको छु । माताजिले झारफुक गर्दिनु भएको हो, उहाँले मलाई कहिले कहाँ, कहिले घुमाउने गर्नुभयो तर पैसाचाहिँ दिनुभएन, बरु मसँग लानुभयो होला तर मैले कति दिए त्योचाहिँ बिर्सिए । मैले पैसा लिएको विषय सरासर गलत हो ।’
टिप्पणीहरू