घ्याम्पोपछि माओवादी ‘भुड्को’मा किन छचकियो

घ्याम्पोपछि माओवादी ‘भुड्को’मा किन छचकियो

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट चौरीदेउराली गाउँपालिकामा विजयी भई पाँच वर्ष जनप्रतिनिधि रहेका माओवादी बागमति प्रदेश कमिटीका नेता दिनानाथ गौतमले माओवादी आन्दोलन, माओवादी नेता र माओवादी पार्टी स्खलित हुँदै गएको भन्दै सामाजिक सञ्जालमा चिन्ता ब्यक्त गरेका छन् । ‘माओवादी पार्टी २०६४ मा घ्याम्पो जत्रो, २०७० मा गाग्रो जत्रो, २०७४ मा घैंटो जत्रो र २०७९ मा भुड्को जत्रो हुनुको मुख्य कारण के हो ?’– नेता गौतमले सोधेका छन् । 

पार्टी कमिटीका बैठक, छलफल, भेला गोष्ठीमा पनि यसबारे कुरा उठाउने गरेका नेता गौतम जनयुद्धताका खरो नेताका रूपमा चिनिन्थे । जिल्लाको पोखरीचौरी गाविस माओवादीको उद्गमस्थलका रूपमा चिनिन्थ्यो । जहाँका चर्चित नेता यानप्रसाद गौतम ‘आलोक’ माओवादीबाटै मारिए । माओवादीभित्र अहिले पनि आलोक प्रवृत्तिबारे बहस हुन्छ । छलफल हुन्छ । तर कोही आलोकलाई किन मारियो ? भनेर सोध्न सक्ने हैसियतमा छैनन् । सामाजिक सञ्जालमा कसै–कसैले प्रश्न उठाए पनि स्वयं माओवादी बोल्न सक्दैन । माओवादीले ०६४ मा यहीँकी रेणुका चौलागार्इंलाई संविधानसभा सदस्य बनायो । अहिले चौरीदेउराली गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । संविधान सभाको सम्मानबाट २०७० मै बेरोजगार हुनुभएकी चौलागाईंलाई पार्टीको जिम्मेवारीमा रहे पनि पुनः जनप्रतिनिधि बन्ने अवसर प्राप्त भएको थिएन । २०७९ मा गाउँपालिका अध्यक्षको टिकट पाउनुभएकी चौलागाईंलाई फेरि सांसद बन्ने अवसर प्राप्त होला÷नहोला भन्न सकिन्न तर सोही पालिकाबाट रत्न ढकाल दुई–दुई पटक प्रदेश सांसद भएका छन् । अघिल्लो पटक मन्त्री पनि भए । पार्टीमा उनीभन्दा धेरै सिनियर, पहुँच र हैसियतका हिसाबले पनि माथि मानिएका दिनानाथ गौतमले टिकट नपाएपछि उनी पार्टीभित्र रुष्ट छन् । 

त्यही रुष्टताबीच माओवादी नेता गौतमले सामाजिक सञ्जालमा माओवादीबारे विश्लेषण गरेका हुन् । अब माओवादीभित्रको बहस पार्टी हैन सामाजिक सञ्जालमा ठीक र बेठीक लगाएर हुने गरेको छ । गौतमले लेखेका छन् – ‘तल दिएकामध्ये ठीक कुन हो ? ठीकमा चिनो लगाउनुहोस् । जनवादी क्रान्ति सम्पन्न भइसकेको हुनाले, जनयुद्ध छाडेको र शान्तिप्रक्रिया टुंग्याउन नसक्नाले, पार्टी फुटेको हुनाले, पार्टीभित्र चाकडी, चाप्लुसी, दलाली, गणेश प्रवृत्ति हावी हुनाले, मालेमावाद छाड्नाले र नेतृत्व तह आफन्तवादमा चुर्लुम्म डुब्नाले, विचार, राजनीति र सिद्धान्त अवसरवादमा बदलिनाले, कार्यकर्ताको सही मूल्यांकन नगर्नाले, अवसरको न्यायोचित वितरण प्रणाली लागू नगर्नाले, नेताले कार्यकर्ता र जनता चिन्नुको सट्टा बिर्सिदिनाले, दलाल माफिया मात्र चिनिदिनाले, पार्टीभित्र जनवादी केन्द्रीयताको स्थान जंगे तानाशाही अधिनायकवादले लिनाले, शान्ति सम्झौतापश्चात् स्पष्ट स्थिर कार्यदिशा, रणनीति, कार्यनीति र कार्यक्रम नबनाउनाले, माओवादीभन्दा एमाले कांग्रेस उन्नत, प्रगतिशील र क्रान्तिकारी हुनाले, माथिका सबै ठीक हुन् ? माथिका कुनै पनि ठीक होइनन् ?’ यो लेखिरहँदा गौतमलाई गैरमाओवादी, माओवादी, माओवादीबाट पीडितहरूले घ्याम्पो फुटाएर दुःख दिएको बिर्सिएको कि नाइँ भनेर प्रश्नसमेत गरेका छन् । 

उता, माओवादी नेतासमेत रहेका इन्द्रबहादुर थिङ छिन्ताङले विकटताको पीडा सुनाउँदै माओवादी आन्दोलनको स्मरण गरे । २०७९ मा पहिलो पटक गाउँपालिका अध्यक्ष हुने अवसर प्राप्त खानिखोला गाउँपालिकाका अध्यक्ष थिङले संघीयता भनिए पनि गाउँका मान्छेले अनुभूति नपाएको बताए । कर्मचारी बाटोमै हराउने प्रवृत्ति कायम छ । सबै अधिकार जिल्लामा छ । गाउँमा बजेट छैन । अझै सडक छैन । अस्पताल पनि छैन । राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम जानुपर्छ । नागरिकता बनाउन जाँदा ७ हजार खर्च हुन्छ । नागरिकता चाहिँदा मात्रै बनाउँदा व्यक्ति बूढो हुन्छ । बूढो हुँदासम्म नागरिकता नबनाएको भन्दै प्रशासनले मुचुल्का गर्न पठाउँछ । पैसा नभएर, नागरिकता नचाहिएर नबनाउँदासमेत थप झन्झट ब्यहोर्नुपरेपछि नागरिकहरू आक्रोशित हुनु स्वाभाविकै छ ।

कर्मचारी नभएका कारण सेवा प्रवाह सहज गर्न सकिएको छैन । गुणस्तरीय शिक्षा दिन सकिएको छैन । सानो औँला भाँचिदासम्म एक्सरे गर्न धुलिखेल आउनुपर्छ । कैयन् समस्या छन् । सडक नभएकै कारण ब्यक्ति बिरामी भएपछि मर्नुको विकल्प छैन । बाँच्यो भने भगवान् भरोसा । आजको दिनसम्म नागरिकले भोग्नुपरेको यो समस्यामा संघ र प्रदेश सरकारको मौनता र विभेद अन्त्य नभएको भन्दै छिन्ताङले आक्रोश पोखे । मुख्यमन्त्री माओवादी नेता शालिकराम जमकट्टेल, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, प्रधानमन्त्री प्रचण्ड अनि त्यही परिवर्तनका लागि नागरिकले गरेको युद्ध र आन्दोलनको स्वाद नागरिकले लिन नपाउने ? अस्पतालसमेत अधुरो छ । पैसा माग्दा कर्मचारी सनक्क हुन्छन् । भनौं कसलाई ? नभनौँ कसलाई ? पटक–पटक मन्त्री, प्रधानमन्त्री, नेताहरूकोमा धाउँदा पनि खानीखोलाका नागरिकको यो पीडा कसैले सुनेन । जिल्लाबाट गुनासो सुन्न पुगेका एकीकृत समाजवादीको समेत नेता रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रमुखहरूलाई बागमती खोलामा ०७३ सालदेखि ठेक्का भएर शुरु नै हुन नसकेको पुलको अवस्थाबारे जानकारी गराउँदै छिन्ताङले भने– यो पालिकाका नागरिक दोस्रो दर्जाका हुन् ? 

– मोतीराम तिमल्सिना

 

टिप्पणीहरू