ब्यारेकभित्र छिरेर बालेनद्वारा बबाल

ब्यारेकभित्र छिरेर बालेनद्वारा बबाल

‘यो बन्दुकको के काम ? खोलामा फाले हुन्छ ।’ गैरीगाउँका सुकुम्बासी तुरुन्तको तुरुन्तै हटाउने बहुलठ्ठीपूर्ण आदेश नमानेपछि सशस्त्र र नेपाल प्रहरीको नेतृत्वलाई गालीगलौज गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउस्थित सुरक्षाफौजको ब्यारेकबाट शुक्रबार दिउँसो ३ बजेतिर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह रिसाउँदै निस्किए । र, तुरुन्तै फेसबुक वालमा लेखे– ‘नेपाल प्रहरीले बाटो मिचेर बनाएको संरचना आफैं हटाउनुहोला । नत्र हामी नै ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ 

मेयर साहले त्यो पोष्टमा राजधानीका सडकपेटीमा रहेका प्रहरी बिटहरूको फोटो र ठेगाना पनि राखेका छन् । मेयर साह त्यसैदिन गैरीगाउँको सुकुम्वासी बस्ती उठाउने मिसन असफल भएपछि त्यहाँबाट सोझै विपद व्यवस्थापनमा खटिने सशस्त्र प्रहरीको क्याम्पमा छिरेका थिए । त्यसबेला मेयर साहको मुखबाट सोमरसको गन्ध ह्वास्स निस्किरहेको र उनीसँग महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित अन्य अधिकृत पनि रहेको बुझिएको छ । गैरीगाउँका सुकुम्बासीले प्रतिकार गरेपछि तिल्मिलाएका बालेनलाई पाण्डेले सशस्त्रको क्याम्पबाट मद्दत लिन अघि सारेका हुन् ।

साहले त्यहाँ पनि सशस्त्र प्रहरी प्रमुख पूर्ण साउदलाई त्यहाँ बम राखेको छ, त्यो घरमा ठोक्नुस्, भत्काउनुस् भन्दै आदेश दिएको तर एसपीले हामीले त्यसो गर्न मिल्दैन, सिडिओ साहेब अथवा माथिबाट आदेश आउनुपर्छ भनेपछि ‘त्यसोभए यो हतियार खोलामा फाल्नुस्, काम छैन’ भन्दै बम्किएको उनैका सल्लाहकारमध्ये एक जनाले जनआस्थालाई बताए । सँगै रहेका महानगर प्रहरी प्रमुख पाण्डेले ‘तपाईंको भ्याली हेर्ने डिआइजी पुरुषोत्तम थापालाई मैले भनेको थिएँ, उसले तपाईंलाई केही भनेन ?’ भन्दै प्रश्न गरेकोमा उनलाई एसपीले तत्काल ‘तँ मलाई सिकाउने, आदेश दिने को होस् ? आफ्नो हैसियतमा बस् । जे पायो त्यही बोल्छस् ? महानगरपालिकाको पुलिस हुँदै यत्रो पूmर्ति ? चाहिँदो नचाहिँदो कुरा गर्छस् ?’ भन्दै थर्काएका थिए । एसपी कड्किन थालेपछि ‘यस्तासँग के कुरा गर्नु’ भन्दै बुरुक्क उफ्रिएर मेयर बाहिर निस्किएका थिए । बाहिर निस्कँदा पनि उनले काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्की र सिडिओ घनश्याम उपाध्यायबारे कम्मरमुनिको भाषामा गाली गरेको सुनिन्थ्यो । त्यसको केही घण्टा नबित्दै सिंहदरबारको फोहोर नउठाउने र नेतालाई सिसडोलको डम्पिङ साइटमा राख्ने स्टाटस लेखिएको हो । प्रहरीलाई धम्की दिएर मात्र चित्त नबुझी उनले दल र नेताहरूलाई समेत लेखे, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

यो स्टाटस लेख्नुअघि शुक्रबार १ बजेतिर मेयर साह गैरीगाउँको सुकुम्बासी वस्ती उठाउन कर्मचारी, नगर प्रहरी, डोजर र लोडरलगायतका साधन सम्पन्न भई सेनापतिको शैलीमा निस्किएका थिए । त्यसबेलासम्म सशस्त्र र नेपाल प्रहरी कसैलाई कुनै जानकारी दिइएको थिएन । अन्यत्रझैं त्यता पनि भत्काउन आफैँ पुगेका मेयरविरुद्ध स्थानीय भेला हुन थाले । र, झडप हुने खबरपछि काठमाडौं प्रहरी पुग्यो, जसलाई उनले बस्ती उठाउन आदेश दिए तर खटिएका प्रहरीहरू प्रजिअको आदेश चाहिन्छ भन्दै लाठीचार्ज गर्नतिर लागेनन् । सनकका भरमा चालिएको यस कदममा जनपद प्रहरीले सहयोग गरेन । कानुनी राज्यको कुरा गर्ने मेयर साहले कानुनी रूपमै बस्ती उठाउने प्रक्रिया थाल्नुपर्ने थियो ।

जस्तैः कहाँदेखि कहाँसम्मको बस्ती, कति घर, क–कसको घर, क्षतिपूर्ति दिइने–नदिइने, महानगरको सूचना अटेर गरे के कारबाही हुनेजस्ता सबै प्रक्रिया पूरा गर्नुपर्ने हो । मेयर साहले यस्तो कुनै प्रक्रिया पूरा गरेको देखिँदैन । उनले बलहझीपूर्वक गैरीगाउँको बस्ती भत्काउने एकल निर्णय गरेकोमा उपमेयर सुनिता डंगोल धेरै असन्तुष्ट रहेको बताइन्छ । त्यसबाट पार नलागेपछि थप बल लिएर बस्ती उठाइछाड्ने ध्याउन्नमा सशस्त्र प्रहरीको क्याम्पभित्र छिरेको प्रष्ट छ । त्यहाँ पनि कुनै सुनुवाइ नभएपछि माथिको स्टाटस पोष्ट गरेको बुझ्न गाह्रो हुन्न । गैरीगाउँको उक्त बस्ती नभत्काउन अन्तरिम आदेश जारी भएको, बस्ती हटाउँदा हुने असामान्य अवस्था वा क्षतिबारे कुनै मूल्यांकन नभएकाले प्रहरीले मेयर साहको सनकलाई साथ नदिएको प्रजिअ उपाध्यायको भनाइ छ । 

एक विश्लेषकका अनुसार, मेयर साहले संरचनात्मक निर्माणका कुनै काम अहिलेसम्म गरेका छैनन् । उनले कुन विचार वा सिद्धान्तले काम गरेको हो, त्यो छुट्टिँदैन के गर्न खोजेको हो त्यो पनि प्रष्ट देखिन्न । गरेको काम भनेको काठमाडौंको फोहोर व्यवस्थापन मात्रै हो । त्यो पनि प्रहरीको सहयोग बिना एकल प्रयास र ल्याकतले सम्भव थिएन । मेयरले गैरीगाउँको बस्ती भत्काउन सहयोग नगर्ने प्रहरी अधिकृतहरूको घर त्यहाँ भए÷नभएको, भएर पनि नक्सापास नगरिएको पाइए भत्काउन आफ्ना कर्मचारीलाई तत्काल त्यहीं निर्देशन दिएको कुरालाई पनि राम्रो मानिएको छैन । प्रहरीले फोहोर फाल्ने काम आफ्नो दायित्वभित्र नपर्ने भए पनि सकल दर्जासहित कैयौं जवान घाइते हुनेसम्मको क्षति ब्यहोरेर महानगरलाई सहयोग गरेको थियो ।

बालेनले जहाँजहाँ बस्ती उठाउन हिँडे, त्यहाँत्यहाँ असफलता मात्रै व्यहोरेका छन् । कुनै पनि तयारीबिना डन शैलीमा सुकुम्बासी बस्ती उठाउन जानुअघि के गर्ने, कसरी गर्ने, को–को सहयोगी बन्ने वा बनाउने, बस्ती उठाएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रष्टता छैन । महानगर प्रहरी प्रमुख पाण्डेविरुद्ध अख्तियारमा भ्रष्टाचारसम्बन्धी उजुरीमाथि छानबिन भइरहेको छ भने उनकी श्रीमती गंगा पन्त पनि प्रहरी सेवामै छिन् ।

टिप्पणीहरू