झण्डै राजदूत राम कार्की, ती महारानी होप कुक र यी नेता रवि
‘दुःखले दुःख नै थप्छ’ भनेझैँ एउटा बद्मासी लुकाउन अर्को गल्ती गर्दा त्यसले झन् ठूलो दुःख निम्त्याउँछ भन्ने कुरा रवि लामिछानेको हकमा फेरि लागू हुँदै छ ।
‘राजनीतिक सहमति’ का आधारमा प्रहरी र सरकारी वकिलले अभियोजन गरेको दोहोरो राहदानीसम्बन्धी मुद्दा महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको निर्णयानुसार नचल्ने भयो । त्यसउपर सर्वोच्चमा रिट दायर भएपछि कारण देखाऊ आदेशसम्म जारी भएको छ । अर्थात्, यसअघि महान्यायाधिवक्ताले ‘नचल्ने’ भन्दा पनि सर्वोच्चले मोहम्मद आफ्तव आलम, सुन्तली धामीहरूको मुद्दा ‘चलाउनु’ भनिदियो र कसुरदारहरू कानुनी दायरामा परे । त्यसरी नै रविको दोहोरो राहदानीसम्बन्धी मुद्दा आदेश दिने प्रक्रियामा प्रवेश भएको छ । कानुनका छिद्र र प्रमाणका तथ्यले रविलाई के भन्ला ? के गर्ला ? त्यो कुरा भविष्यको गर्भमा छ । तर, यसअघि नै रविबाट एउटा अर्को गम्भीर त्रुटि भइसकेको छ ।
जसरी अमेरिकी राहदानी बहाल हुँदाहुँदै स्वतः बदर मानिने नागरिकता देखाएर नेपाली राहदानी लिए, त्यसबाट जापान, अष्ट्रेलियालगायत देशको ८ चोटि भ्रमण पनि गरे । त्यसरी नै सर्वोच्चले बदर भएको राहदानीका आधारमा उनले दिएको उम्मेदवारीदेखि पाएको पदसम्म बदर गरिदिएलगत्तै, अर्को बद्मासी भएको छ । उनले विदेश, अर्थात् अमेरिकामा प्राप्त नागरिकता (ग्रिनकार्ड) त्यागेको निस्सा देखाएपछि मात्रै नेपाली नागरिकता क्रियाशील हुने हो । जिल्ला प्रशासन कार्यालयमा ‘निस्सा’ का रुपमा पेश गरेको कागजमा अमेरिकी ग्रिनकार्ड त्याग्ने प्रक्रियाका लागि लेखेको निवेदन पेश गरेका छन् । एउटा मान्छेले मलाई आर्थिक सहयोग चाहियो भनेर लेखेको निवेदन कुनै कार्यालयमा दर्ता हुनु भनेको आर्थिक सहयोग पाउनु होइन, पाउनका लागि अनुरोध मात्रै हो ।
आर्थिक सहयोग पाएको प्रमाणित हुन त उनलाई उक्त कार्यालयले दिएको चेक, नगद वा कुनै कागजातबाट ‘दिएको हो’ खुल्ने व्यहोरा हुनुपर्छ । यसप्रकार एउटा गल्ती ढाक्न उनले फेरि पनि अर्को गल्तीको सहारा लिएको देखिन्छ । अमेरिका बस्ने केही नेपालीको दावीअनुसार, रविले अमेरिकी नागरिकता पूरै त्यागेका छैनन् । किनभने, त्यहाँको नागरिकता एकचोटि त्यागेपछि फेरि लिन सकिँदैन । त्यहाँको नागरिकता पुनप्र्राप्तिको मामिलामा कतिसम्म लफडा छ भन्ने कुरा बुझ्न एउटा निकै पुरानो उच्चपदस्थ व्यक्तिको घटना हेर्न सकिन्छ ।
सन् १९७५ मा सिक्किम भारतमा विलय हुनुअघिका अन्तिम राजा (पाल्देन थोन्डुप नाम्ग्याल) चोग्यालकी पत्नी होप कुकले महारानी भएपछि सिक्किमी कानुनअनुसार अमेरिकी नागरिकता त्यागिन् र ग्याल्मो नाम बनाएर त्यहीँकी नागरिक भइन् । सिक्किम गुमेको ५ महिनापछि माइती देशतिर लागिन् अमेरिकाले कसैलाई पनि राज्यविहीन अवस्थामा राख्दैन तर एकचोटी आफ्नो राष्ट्रियता त्यागेपछि दोहो¥याएर दिँदा पनि दिँदैन । त्यसैले बारबरा एडम्सबाहेक सितिमिति जो–कोहीले अमेरिकासँगको नाता टुटाउँदैनन् । होपका निम्ति नागरिकता पुनप्र्राप्ति निकै कष्टमय बन्यो । नागरिकता नै त फेरि पाइनन्, तर पिआर पाउने प्रक्रियामै पाउनुसम्म दुःख पाइन् । उनलाई स्थायी बसोबासको अनुमति दिनका निम्ति अमेरिकी सरकारले अलग्गै विधेयक ल्याउनुपर्यो । र, त्यसमा राष्ट्रपति फोर्डको हस्ताक्षर गराएपछि सन् १९७६ जुन १७ मा बल्ल पिआर पाइन् ।
रविको हकमा उनको अमेरिकी दायित्वहरू सकिएका छैनन् । नेपाली पत्नी ईशा सँगै रहेको अवस्थामा इरानीमूलकी एक महिलासँग पत्नीवत सम्बन्ध कायम राखेका थिए । उनीबाट बच्चा जन्मिएको पनि स्वीकारेका छन् । अमेरिकी कानुनअनुसार आफूबाट जन्मिएको सन्तान १७ वर्ष नपुगुञ्जेल उनको खातामा हरेक महिना तीन सय डलर तिरेको देखिनै पर्छ । त्यस्ता बच्चा छोडेर हिँड्न पाइँदैन । ईशाबाट जन्मिएका रविका सन्तान त हुर्किए । तर, इरानीको हकमा दायित्व बाँकी नै छ । त्यहाँ बस्ने नेपालीहरू भन्छन्, ‘यसर्थ पनि उनले समग्रमा अमेरिकी नागरिकता त्यागेका छैनन् ।’ त्यसमाथि अमेरिकाले आफ्नो देशको नागरिकलाई अर्को देशको शरणार्थी बनाउँदैन । किनभने, अमेरिका भनेको अरु देशका शरणार्थीलाई पनि आश्रय दिने मु्लुक हो ।
तर, अमेरिकाले आफ्ना नागरिक वा पिआरधारी व्यक्तिको सूचना कतिसम्म गोप्य राख्छ भने, जतिसुकै बल गरे पनि निकाल्न गाह्रो । लालबाबु पण्डित समान्य प्रशासन मन्त्री हुँदा विदेशी नागरिकता, भिसा वा ग्रीनकार्ड प्राप्त कर्मचारीलाई जागिरबाट निकाल्ने अभियान शुरु गरे । त्यसक्रममा अमेरिकी राजदूतसँग आफ्ना नागरिकले अमेरिकाको ग्रीनकार्ड पाएकोबारे सूचना माग्दा केही हात लागेन ।त्यसमाथि नागरिकता कानुन कति संवेदनशील विषय हुन्छ भन्ने कुरा माओवादी नेता राम कार्कीको एउटा घट्नाबाट बुझ्न सकिन्छ । डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरियो । तर, भारतले एग्रिमो दिँदै दिएन । किनभने, उनकी पत्नी भारतीय नागरिक हुन् सिक्किममा जागिर खाने ।
आफ्नै देशको नागरिक, त्यसमाथि भारतीय राष्ट्रसेवक (कर्मचारी) सँग पारिवारिक सम्बन्ध गाँसिएको कारण ‘प्रोटोकलले मिल्दैन’ भन्दै राम कार्की पन्छाइए । अब रविको हकमा सर्वोच्च अदालतले युवराज सफलको राहदानीवाला रिट जाहेरी दर्ता गर भन्यो भने दर्ता भएकै मितिबाट उनको अरु पद पनि रद्द हुन्छ ।
टिप्पणीहरू