जिउँदालाई नछाड्नेले मरेकालाई के राख्थे बाँकी

जिउँदालाई नछाड्नेले मरेकालाई के राख्थे बाँकी

‘जिउँदो हुँदा सताउने, मरेपछि घरपरिवारलाई कन्याउने को हो ?’ गाउँखाने कथाको सही उत्तर हो, वैदेशिक रोजगार कार्यालयको बिमा शाखामा कार्यरत पशुपति अधिकारी । स्थानीय बिचौलियासँग मिलेर वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई दिनुपर्ने बिमा रकममा घोटाला गरेको पोल खुलेपछि यो गाउँ खाने कथा जन्मिएको हो ।

अधिकारीले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको परिवारसँग २० देखि २५ हजार रूपैयाँ काम गरिदिएबापत घुसका रूपमा असुल्दै आएका थिए । वैदेशिक रोजगारीमा गएकाको मृत्यु हुँदा पीडित परिवारलाई वैदेशिक रोजगार बोर्डले बिमा तथा सहयोग रकम उपलब्ध गराउँदै आएको छ ।

बिमाबापत १४ लाख र वैदेशिक रोजगार बोर्डको ७ लाख रूपैयाँ गरी २१ लाख रूपैयाँ पीडित परिवारले पाउने व्यवस्था छ । तर अज्ञानता र अशिक्षाका कारण स्थानीय बिचौलियाको मिलिभगतमा पीडित परिवारलाई १२ देखि १४ लाख रूपैयाँसम्ममात्र उपलब्ध गराउँदै आएको छानबिनबाट खुलेको छ ।

स्थानीय बिचौलियाले अधिकारीसँग मिलेर ‘अनलाइन पे’ प्रणालीलाई बाइपास गर्दै चेक लिने गरेका छन् । उनीहरूले कर्मचारीले झन्झट दिने बहानामा पीडित परिवारसँग बिमा रकम दावी लिनको लागि मञ्जुरीनामा सहित खाता नम्बर लिने र खाली चेकमा ल्याप्चे सही छाप गराएर आफैंसँग राख्ने, त्यसपछि अधिकारीसँग मिलेर रकम निकासा गर्दै १२ लाख रूपैयाँ दिने गरेका छन् ।

बोर्डको प्रणालीलाई बाइपास गरेबापत अधिकारीले भने प्रतिव्यक्ति २० देखि २५ हजार रूपैयाँ बिचौलियाबाट घूसवापत लिने गरेका थिए । बिचौलियाहरूले यसैको फाइदा उठाउँदै लाखौं रकम खाएका छन् । दुबईमा मृत्यु भएका एक जना यादव थरका श्रमिककी पत्नीले १० लाख रूपैयाँ मात्रै बिमाबापत पाएको गुनासो वैदेशिक रोजगार बोर्डमा गरेपछि अधिकारीलाई पक्राउ गरी छानबिन अघि बढाइएको छ ।
 

टिप्पणीहरू