दूत त दूत, कस्तो दूत, कसरी दूत !
दिनुपर्ने पैसा हैन, पद हो । तर, त्यही पद देशका लागि पैसाभन्दा पनि बढी भार पर्ने ! यस्तो हुँदा सरकारले पर्यटन ‘गुडविल एम्ब्यास्डर’ (सद्भावना दूत)का नाममा नियुक्ति लिएका २५ जनालाई जिम्मेवारीबाट मुक्त गरेको छ ।
नेताहरू रिझाएर ‘दूत’ हुने र विभिन्न देश पुगेर राजदूत नै भएझैँ तामझामका साथ चर्का–चर्का भाषण गर्ने, पर्यटन प्रवद्र्धन भन्दै आर्थिक मामिलामा अग्रसर हुनेजस्ता काम भएपछि सरकारले बद्नामीको त्यो भारी बिसाएको हो । पर्यटन मन्त्रालयले सद्भावना दूत नियुक्त गर्ने, परराष्ट्रले आपत्ति जनाउने श्रृंखला अलिक पहिलाबाटै शुरु भएको थियो । सद्भावना दूतहरूले राजदूत भएका मुलुकमा पनि राजदूतले झैँ समानान्तर भूमिका खेल्न थाले भन्दै परराष्ट्रमा कुरा उठिरहेको थियो । त्यही कुरा जोडतोडसँग आएपछि सबैका नियुक्ति खारेजीमा परेको छ ।
यसबीच, कर छल्ने व्यापारीहरूले धमाधम अवैतनिक वाणिज्यदूतको नियुक्ति र सुविधा लिँदै विदेशका झण्डा हल्लाएर आफ्ना कुकर्म छोपेजस्तै विभिन्न पेशा, नियत र पृष्ठभूमिका मानिसले ‘सद्भावना दूत’ का हैसियतमा देशको हित हैन, आफ्नो ‘बजार विस्तार’ गर्ने लहर नै चल्यो । कतिपय दूत त्यो योग्यताका थिए, तर अधिकांश त्यस्ता थिएनन् । भएका दूतहरू खारेज गरिएपछि अब ‘पर्यटन प्रवद्र्धक’ का नाममा त्यस क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभवलाई मानक बनाउने सल्लाह भएको छ । त्यस्तो जिम्मेवारी विदेशीलाई पनि दिन सकिनेछ । यसरी नयाँ अवधारणा आउनुअघि सद्भावना दूत बन्नका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) को ठूलै लर्को थियो ।
अघिल्ला सरकारले अमेरिकी आइडलको उपविजेता भएका गायक दिवेश पोखरेल (आर्थर गन) देखि हिमाल आरोही निर्मल पुर्जासम्मलाई पर्यटन दूतको नियुक्ति दिएको थियो । लण्डनको उत्तरी आयरल्याण्डका लागि कलाकार उमेशराज मोक्तान, स्वीट्जरल्याण्डका लागि गोरखाकी हिमाल आरोही फुञ्जो झङ्मु लामा, बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहसम्मले सद्भावना दूतको चिठी बुझेका थिए । हुँदाहुँदा प्रदेशका सरकारसम्मले सद्भावना दूत तोक्ने होडबाजी चल्यो । तत्कालिन प्रदेश १ (कोशी) सरकारले हिमाल आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पादेखि कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला व्यक्ति राजन अधिकारी, पिंकीराज गरियासम्मलाई सद्भावनादूत बनाइदियो ।
कोशी प्रदेशको देखासिकी गर्दै गण्डकी प्रदेशले दोहोरी गायक प्रकाश सपुतलाई सद्भावना दूत तोक्यो । पर्यटन बोर्डले पनि पर्यटन व्यवसायी तथा ‘मिसेज नेपाल टुरिज्म– २०१९’ की विजेता छिरिङ डोल्मा शेर्पालाई दुई वर्षका लागि सद्भावना दूत बनाइदियो । अहिले यी र यस्ता सबैको पद खारेजीमा परेको छ । यता, नेपालमा सन् २०२३ शुरु भएयताको तीन महिनामा २ लाख २५ हजार विदेशी पर्यटक भित्रिएका छन् । भोलि अप्रिल १३ तारिखमा चीनबाट ठूलो संख्यामा पर्यटक आउने कार्यक्रम छ । हिमालयन एयरलाइन्सबाट उत्रिने तिनलाई सरकारले विमानस्थलमै स्वागत गर्ने भनेको छ ।
उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भिआइपी लाउञ्ज) को विषयलाई लिएर फेरि पनि गलफत्ति शुरु भएको छ । केही दिनअघि भारतीय गायक (र्यापर) हनी सिंहलाई भिआइपी लाउञ्ज प्रयोग गर्न नदिइँदा आयोजकहरूले बबाल गरेका थिए । पछि प्रहरीले समन्वय गरेर कुरा मिलायो । यसअघि विभिन्न धार्मिक अभियन्ता, व्यापारीदेखि संदिग्ध व्यक्तिलाई उक्त लाउञ्ज प्रयोग गर्न दिइँदा समस्या उत्पन्न हुँदै आएको थियो ।
टिप्पणीहरू