परफ्युममा समेत प्रमका पिएको फोन

परफ्युममा समेत प्रमका पिएको फोन

‘मलाई यहाँबाट सरुवा गर्दिए पनि हुन्छ तर म यो सामान छाड्दिन’ भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवालाई एक जना भन्सार कर्मचारीले जवाफ फर्र्काए । न्यूरोडका व्यापारीको अत्यन्तै महँगो पफ्र्युमले भरिएको झोला भन्सार क्लियरेन्स नगरी छाड्न आदेश आएपछि प्रतिक्रियामा ती कर्मचारीले यस्तो अडान राखेका हुन् । गत कात्तिकमा त्रिभुवन विमानस्थल परिसरमा भएको घटना विवरणअनुसार न्यूरोडका एक व्यापारीले ल्याएको शंकास्पद लगेज ब्यागमा आरसी (रिचेक) लेखिएको थियो ।

सो ब्यागलाई अर्को नयाँ ब्यागले छोपेर लैजाने प्रयास गर्दा भन्सारका कर्मचारीले शंकास्पद लागी खोतलखातल गरे । भित्रको ब्यागमा आरसी लेखेको र त्यसभित्र करिब १६ लाख मूल्य बराबरको महँगा पफ्र्युमका बोतल भेटिए । कर्मचारीले भन्सार क्लियरेन्सपछि मात्रै सामान छोड्ने बताएपछि ती व्यापारी तथानाम भन्दै हिँडे । उनी हिँडेको घण्टा नबित्दै व्यापारीले छोडेको ब्याग लैजान पहिला एक जना वरिष्ठ सब इन्स्पेक्टर आए । उनले नसकेपछि अर्को सई आए । भन्सार नतिरेसम्म सामान नछाड्ने अड्डीपछि प्रहरी अधिकृतहरू कर्मचारीलाई धम्क्याउँदै हिँडे । यी सबै बिचौलियाको प्रयास असफल भएपछि सोझै बालुवाटारका पिए भानु देउवाले भन्सार कर्मचारीलाई छाड्न आदेश दिए । सिंगापुरबाट आउने व्यापारीले यसरी नै आरसी लेखिएको ब्यागलाई नयाँ ब्यागले छोपी भन्सार छल्ने गरेका छन् । 

कर्मचारीले प्रहरी अधिकृत र देउवाले धम्क्याएको भन्दै तत्कालीन भन्सार प्रमुख वासुदेव पौडललाई अवगत गराए । पौडेलले यसै विषयमा कात्तिकको दोस्रो हप्ता मिटिङ बोलाए । उनले तपाईंको कर्मचारी अवैध रूपमा ल्याएको पफ्र्युम छोडाउन यति पटक धाए, यसोसम्म गरे भन्दै सिसिटिभी फुटेजसहित गुनासो राखेपछि छानबिन गर्छु भनेका थिए । हालका भ्याली एआईजी श्याम ज्ञवालीले म बुझौँला भन्दाभन्दै १ नम्बर प्रदेशमा सरुवा भई गएपछि घटना सामसुम भयो । तर, बिचौलियाको काम गर्ने प्रहरीका कतिपय कनिष्ठ अधिकृतहरू भने मानव बेचविखन ब्युरो लेखेको ज्याकेट लगाएर अझै पनि एयरपोर्टमै बसेका छन् । उनीहरू युनिफर्म लगाउँदैनन् । टिटुवानतर्फ रहेको गेटसँगै कक्षमा शंकास्पद यात्रुहरूलाई ल्याउने र तर्साउँदै रकम लिएर फर्काउने गर्छन् । मोबाइल र पर्सहरू जफत गर्ने, रेकर्ड गरेको छ, छैन भनेर हेर्ने, छ भने डिलिट गर्ने र पैसा असुलेपछि पठाइदिने गरेको गुनासो छ । 

अर्कोतर्फ यात्रुको विमानस्थलमा खाद्यान्न, मदिरा, पफ्र्युम, स्याम्पु तेललगायत सामग्री जफत हुने गरेको छ् । यस्ता सामग्री ह्याण्ड क्यारीमा १०० एमएलभन्दा बढी ल्याउन वा लैजान पाइन्न । यही नियमको फाइदा उठाउँदै कतिपय कर्मचारीले स्याम्पु र पफ्र्युमलगायत महँगा सामग्री जफत गर्छन् । विदेश जाँदा नयाँ स्याम्पु र पफ्र्युम किनेर लैजाने चलन हुन्छ । तर भन्सारका कर्मचारीले कानुनले मिल्दैन भनेपछि आफन्त भएको ठाउँमा पुर्‍याउन र सँगै लैजान पनि पाइँदैन । र, त्यत्तिकै छाड्न बाध्य भएको सामग्री जफतको मुचुल्कासमेत नबनाइकन पुनः बजारमा लगी बेच्ने गरिएको अर्को गुनासो पनि सुनिन्छ ।

अध्यागमनको सर्भरमा पटक–पटक साइबर आक्रमण हुँदा वैकल्पिक सर्भरको व्यवस्था गर्न नसक्ने, सिसिटिभी क्यामेरा बिगारेर भन्सारै नतिरी माल पास गर्न तम्सिने कर्मचारीको लुटतन्त्र रोक्न भन्सार विभागले पनि सकेको छैन । कतार र दुबई भ्रमण गरी आउने कर्मचारीलाई चेकजाँच नहुने र उनीहरूले मेटल डिटेक्टरबाट गुज्रिनु नपर्ने नियम बनाइएको छ । यसै नियमको फाइदा उठाउँदै कतिपय कर्मचारी मिलिभगतमा सुनलगायत तस्करीमा जोडिएका पनि छन् । सुकुटी, रक्सी र प्रतिवन्धित वस्तुहरूको तस्करी र क्युरियोको पनि कुनै हिसाब देखिँदैन । वैदेशिक मुद्रा बोकेर विदेश जानेलाई समाउँदै आगमन कक्षतर्फ वाणिज्य बैंकपछाडिको गोप्य कोठामा कि पैसा छोडेर जाऊ नभए जेल जाऊ भनेर तर्साउने गरिएको छ । कानुनले एक हजार डलरभन्दा बढी रकम बोकेर ल्याउन मिल्दैन ।

अथवा पासपोर्टमा जति डलर उल्लेख छ, त्यो मात्रै कानुनी हुन्छ । त्यसभन्दा बढी डलर बोकेर ल्याए मुद्दा दायर गर्नुपर्ने हुन्छ । वैदेशिक विनिमयको मुद्दामा जति बिगो तोकिएको हुन्छ त्यत्तिकै रकम बराबरको नेपाली रूपैयाँँ राखेपछि बल्ल छुटकारा पाइन्छ । त्यसैले सबै पैसा डुबाउनु र झन्झटमा पर्नुभन्दा मिलिभगतमा डलरको चलखेल गर्न भन्सारका केही कर्मचारीको दिनचर्या बन्नु सामान्य भएको स्रोतको दाबी छ । अहिले त्रिभुवन विमानस्थलमा कार्यरत डिएसपीदेखि माथिका सबै अधिकृतले पिएसओ राख्ने गरेका छन् । र, यिनै पिएसओमार्फत व्यापारीसँग पैसा बुझ्ने र डिल गर्ने चलन रहेको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठकोमा पुगेको छ ।
 

टिप्पणीहरू