नवलपरासीका सिडिओमाथि प्राज्ञलाई दुर्व्यहार गरेको आरोप
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमाथि प्राज्ञसभा सदस्य प्रा.डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई दुर्व्यहार गरेको आरोप लागेको छ । न्यौपानेले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै प्रमुख जिल्ला अधिकारिले दुर्व्यवहार गरेको उल्लेख गरेका छन् ।
जनआस्थासँग कुरा गर्दै उनले भने, ‘एकाएक एउटा कर्मचारी चर्काे स्वरमा घनश्याम परिश्रमी को हो ? भन्दै आउनुभयो । मैले म हुँ भनेर जानकारी गराएँ । उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो । उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयो र भित्र हिँड् भन्नुभयो । प्रहरी पनि पछिपछि लाग्नुभयो । म अचम्म मान्दै थिएँ । मलाई प्रमुख जिल्ला अधिकारीज्यूको कुर्सी अगाडि हाजिर गराइयो । म सोफामा बसेँ, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई प्लास्टिकको कुर्सीमा बस्न आदेश दिनुभयो । अनि यसपछि कर्मचारीले थर्काउन थाल्नुभयो । मैले पोष्ट गरेकोे विषयलाई लिएर पटक पटक त्यसो गरियो ।’
प्रमुख जिल्ला अधिकारीले उल्टै आफूलाई सामाजिक सञ्जालमा त्यस्ता कुरा हाल्न नहुने बताउँदै त्यसबारे आफूलाई भन्नुपर्ने जानकारी गराएको न्यौपानेको भनाइ छ । ‘मैले आफ्नो योग्यता र विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक भएको जानकारी पनि गराएँ । कर्मचारीले उल्टै मेरो योग्यता र क्षमताको खिल्ली नै उडाए । जो चोर उसैको ठूलो स्वर भनेझैं गरेर मलाई थर्काउन खोजियो ।’
त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेर सेवा निवृत प्रा.डा. न्यौपाने घनश्याम परिश्रमीका नामले साहित्य क्षेत्रमा मुलुकबाहिर समेत परिचित छन् । बर्दघाट प्राज्ञसभाका कुलपति समेत रहेका उनी नेपालबाट गजल विधामा पहिलो पिएचडी गर्ने व्यक्ति हुन् । न्यौपाने नेपाली भाषा साहित्यका विद्वानका रुपमा परिचित छन् । भैरहवा क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत रहेका न्यौपानेले सरकारी कर्मचारीको गैरजिम्मेवारीबारे फेसबुकमा लेखेका छन, ‘मैले तपाईंहरूलाई असजिलो हुन्छ भने म पोस्ट हटाउँछु भनेँ र तत्काल हटाएँ । मलाई लागिरहेको थियोे, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई धन्यवाद दिनुहुनेछ । तर त्यसो भएन, उहाँले आफ्ना कर्मचारीको बचाउ गर्नुभयो । उहाँको इजलासबाट मुक्त भएपछि म पुनः ७ नम्बरको कक्ष बाहिर तातो घाममा लाइनमा उभिएँ, पालो आएपछि निर्वाध मेरो कागजमा सम्बन्धित अधिकृतले हस्ताक्षर गर्नुभयो । त्यो लिएर म पुनः सम्बन्धित विभागमा पुगेँ । किन ढिलो भयो तपाईंको काम ? कर्मचारी सोध्दै हुनुहुन्थ्यो । मैले यी सबै कुरा बताइन उहाँलाई । उहाँले अन्तिम हस्ताक्षर गरेर मलाई राष्ट्रिय परिचयपत्रको अस्थायी निस्सा दिनुभयो । उहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै म खुशी र विस्मात् दुवैलाई अनुभूत गर्दै बाहिरिएँ ।’
न्यौपानेले आज भएको घटना आफ्नो जीवनको तितो रहेको अनुभवन गरेका छन् । लेखेका छन्, ‘मैले लाखभन्दा बढी विद्यार्थीलाई पढाएँ जीवनमा । भाषा साहित्यका क्षेत्रमा आजसम्म सेवा योगदान गर्दैछु । मैले जहिल्यै, भ्रष्टाचार, कामचोर प्रवृत्तिकाविरुद्ध लेख्दै आएको छु, लेखि पनि रहनेछु । पञ्चायतकालमा अनेकौं अपमान सहनुपर्थ्यो प्रहरी प्रशासनबाट । लोकतन्त्रमा कर्मचारीतन्त्र यस्तो हुन्छ भन्ने मैले ठानेको थिइन । सत्य कुरा सार्वजनिक गर्नु के मैले गरेको अपराध थियोे र ? आज जीवनमा सबैभन्दा नमिठो अनुभूति गरेको दिन भएको छ मेरो । यसले एउटा महत्वपूर्ण लेख जन्माउनेछ अवश्य पनि । मैले फेरि यही स्टाटसका कारण प्रमुख जिल्ला अधिकारीज्यूका सामु हाजिर हुनु पनि पर्ला । तर गलत कुरालाई ढाकछोप गर्न मेरो विवेकले मान्दैन, मेरो नैतिकताले जान्दैन ।’
यसरी विश्वविद्यालयको प्रोफेसरलाई दुर्व्यवहार गर्ने प्रशासनले ग्रामीण भेगका सर्वसाधरणलाई कस्तो व्यवहार होला भन्दै सर्वत्र चर्चा भएको बताइन्छ । प्रा.डा. न्यौपानेलेलाई गरिएको दुर्व्यहारप्रति बौद्धिक जगतबाट कडा निन्दा भइरहेको छ । प्राध्यापक सुदर्शन नेपालले स्टाटस् लेखेका छन्, ‘सरले भोगेको दुःखदायी घटनाले हामी सबैलाई चिन्तित बनायो भन्ने लाग्छ देशको परिवेश यस्तै हो कि हाम्रो सोच ? परिवर्तन हुनुपर्छ भन्ने कुरा मा दुई मत हुँदैन ।’
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष नेपालको जस्तै शालिकराम पौड्यालले लेखेका छन, ‘जनताको करबाट सेवासुविधा लिने, कार्यालय समयमा उपस्थित नहुने, विरोध गर्दा अपमान सहनुपर्ने, मेरो देशको गणतन्त्रको उपहार । सरले डिलिट होइन, प्रमुख जिल्ला अधिकारीले माफी माग्नुपर्ने !! के सुशासन यही हो त गणतन्त्रको ?’
न्यौपानेले लेखेको फेसबुक स्टाटसमा यो समाचार तयार पार्दासम्म ३६० जनाभन्दा बढी देशविदेशका महत्वपूर्ण भूमिकामा रहेका व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारीको कार्यको चर्काे विरोधसमेत गरेका छन् ।
उक्त घटनाबारे प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सम्पर्क गर्दा उनले भने, ‘आज नियमित बैठक भएकाले कर्मचारी ढिला आएका हुन् । तर न्यौपाने सरले भने झै कुनै घटना भएको होइन ।’ फेसबुकमा त्यस्तो लेख्ने को रहेछ भनेर चासो राखेर आफूले सोधखोज मात्रै गरेको अन्यथा केही नभएको उनको भनाइ छ ।
टिप्पणीहरू