कान्छी सांसदको स्वकीय छान्न जाँच, दुई जना बैकल्पिक
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले परीक्षा लिएर स्वकीय सचिव छनौट गरेकी छिन् ।
लिखित परीक्षा र अन्तरवार्तामार्फत उनले एक जनालाई छनौट गर्दै अन्य दुई जनालाई वैकल्पिकमा राखेकी हुन् । नतिजा सार्वजनिक गर्दै सांसद डाँगीले पर्वतकी सुस्मिता क्षेत्री छनौटमा परेको जानकारी दिईन् । त्यस्तै, मोरङ्गकी अपेक्षा सुवेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन् ।
छनौट भएका उम्मेदवारलाई तीन दिनभित्र सचिवालयमा सम्पर्क गर्न भनिएको छ । सांसद डाँगीले गत चैत १६ गते विज्ञापन गर्दै स्वकीय सचिव पदका लागि आवेदन आह्वान गरेकी थिइन् ।
कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले सात दिनभित्र आवेदन दिन सक्ने जनाइएको थियो । सो अवधिमा ११६ जनाले आवेदन दिएका थिए ।
प्रारम्भिक चरणमा छनौट भएका ३५ जनामध्ये १९ जनाले लिखित परीक्षा र अन्तरवार्तामा सहभागिता जनाएका थिए ।
लिखित, मौखिक, प्रयोगात्मक कम्प्युटर टेस्ट, शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, सामाजिक राजनीतिक ज्ञानको कार्यअनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप र सिर्जनशीलताको आधारमा मूल्याङ्कन गरी छनौट गरिएको बताइएको छ ।
टिप्पणीहरू