वैशाख १० पछि देखिनसक्ने बान्की
तीन वटा निर्वाचन क्षेत्रका निम्ति १० गते हुने उपनिर्वाचनको परिणाम जस्तोसुकै आए पनि त्यसलगत्तै राष्ट्रिय राजनीतिमा एउटा नयाँ ध्रुवीकरण हुने स्थिति छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्षका दिन मुख्य सत्तारुढ घटकमध्ये कांग्रेसबाहेकका नेतालाई बोलाएर गर्नुभएको छलफलको निश्कर्ष हो यो । लामो समयदेखि चर्चामा आइरहेको, तर विभिन्न कारणले निर्माण हुन नसकेको समाजवादी मोर्चा (केन्द्र) उपनिर्वाचनलगत्तै बन्ने सम्भावना छ । मुख्यतः माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चाबन्दी हुने भनिएकोमा अब त्यसभित्र वामदेव गौतमले पनि सरिक हुने इच्छा राख्नुभएको छ ।
डा.बाबुराम भट्टराई माओवादीसँग मिलेर मोर्चामा सामेल हुने कि अलग्गै भन्ने टुंगो छैन तर मोर्चामा उहाँको उपस्थिति निश्चित भएको छ । वामदेवले समाजवादी मोर्चामा अलग्गै सामेल हुन चाहेपछि एकीकृत समाजवादीका नेताहरुले उक्त पार्टीमा माधव नेपाल, झलनाथ खनालपछि तेस्रो वरियताको नेता र कार्यकारी भूमिकासहित अगाडि बढ्न प्रस्ताव गरेका छन् । ‘समय बाँकी छ, विचार गरेर भन्छु,’ वामदेवको जवाफ थियो ।
कांग्रेसले मन्त्रीहरुको पूरै नाम दिन ढिलाइ गरेका कारण काम गर्न अप्ठेरो भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले त्यहीँबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई फोनमा भन्नुभयो, ‘यहाँ काम भएन भन्छन् । मलाई हैरान नपार्नुस् । कम्तीमा परराष्ट्रमन्त्री त दिनुस् !’ देउवाले फोनमै भन्नुभयो, ‘अहिले एनपी साउद, अरु मिलाउँदैछु, पछि दिन्छु ।’ प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्रीको खाँचो पर्नुको कारण हो, वैशाख तेस्रो हप्तालाई भारत भ्रमणको औपचारिक तयारी थाल्नु ।
यदि रविले चितवनमा चुनाव जिते र संसदमा आए भने कांग्रेस र माओवादीका मन्त्रालय कटाएर दिने प्रधानमन्त्रीको सुर छ । उपेन्द्र यादवले परराष्ट्र मन्त्रालय माग गरेको तर भारत सकारात्मक नहुँदा समस्या देखियो । उपेन्द्रले भारततिर मात्र हेरेर हुन्छ ? चीनसँग कुरा गर्नुपरेन ? भन्दै सो मन्त्रालयमा दाबी गरेको बताइन्छ ।
अर्कातिर, भर्खरै एकीकृत समाजवादी पार्टी परित्याग गर्ने नेता मुकुन्द न्यौपानेले ‘झिँगाको जत्रो चित्त’ बनाएको उक्त पार्टीका नेताहरु बताउँछन् । उनले भाइ तथा पार्टी उपाध्यक्ष केदार न्यौपानेलाई चुनावका बेला समानुपातिक सूचीको पहिलो नम्बरमा राख्न भनेका थिए तर परेनन् । समाजवादीले थ्रेसहोल्ड नकटाउँदा समानुपातिक सीट पनि पाएन । त्यही रिसले एमाले मुख्यालय च्यासलतिर जाने, चुनावमा एमालेलाई भोट माग्नेजस्ता काम गरेको बताइन्छ ।
पहिल्यै परित्यागको घोषणा गर्ने कास्कीका चुडामणि जंगलीचाहिँ मुकुन्द जता गयो, उतै जाने तयारीमा रहेको र जिफन्टदेखिकै सहयात्री भएको जानकारहरु बताउँछन् । त्यस्तै, २०२७–०२८ सालदेखि झापा आन्दोलनमा सरिक हुँदै आएका नेता नरेश खरेल एमाले परित्याग गरेपछि एकीकृत समाजवादीमा जोडिने भएका छन् । उनीसँगै पत्नी तथा पूर्वसांसद पवित्रा निरौला खरेल र थुप्रै झापाली एमाले उक्त पार्टीमा समाहित हुने बताइन्छ ।
टिप्पणीहरू