न बालकोट धाउने, न बैठकमा आउने
‘सदस्यता छाडिन्न, ओलीको दैलो धाइन्नँ !’ एमालेको बुद्धिजीवी फाँटका नेताहरु हिजोआज यसो भन्दै लाखापाखा लाग्न थालेका छन् । सदस्यता आफ्नो इतिहास, भूमिका र संघर्षले पाएको कारण कसैका रिस र डाहाले नछोड्ने, चुनावमा पार्टीलाई भोट पनि दिने, तर कमिटीमा बसेर दुःख नगर्ने भन्दै ती नेताहरुको भागाभाग शुरु भएको हो । त्यसैले सदस्यता नवीकरणका क्रममा पेशागत जिल्लामा कमी आएको छ । यसमध्येका हुन्, प्रा.डा.बसन्तलाल श्रेष्ठ । प्रगतिशील प्राध्यापक संघका संस्थापक अध्यक्ष र त्रिचन्द्रका पूर्व क्याम्पस प्रमुख । पूर्वगृहसचिव तथा लोकसेवाका पूर्वसदस्य डा.गोविन्दप्रसाद कुसुम पार्टी विभाजन भएदेखि कतै लागेका छैनन् । पेशागतको ‘गोप्य इलाका’ बाट पार्टी सदस्य थिए ।
पूर्वसहसचिव, पशुपतिक्षेत्र विकास कोषमा रहेर काम गरेका डा.तारानाथ सुवेदी आफूलाई एमाले नै भन्छन्, तर कमिटीमा काम गर्न चाहँदैनन् । नाक, कान, घाँटीका डाक्टर माधव दाहालको अवस्था त्यस्तै छ । केही समय लोकसेवा सदस्य रहेका तथा पूर्वसञ्चार सचिव श्रीराम पौडेल पार्टी विभाजनपछि दिक्दार छन् । शिक्षक नेता विश्वनाथ पोखरेल पेशागत जिल्ला कमिटीअन्तर्गतको शिक्षक इलाकाका अध्यक्ष थिए । अहिले काम गर्ने इच्छा नभएको भन्दै बैठक, भेलाहरुमा जान छाडेका छन् । बसन्तको भनाइ छ, ‘म यता छैन, उता पनि गइन । नेताहरु आफैँ–आफैँ लुछाचुँडी गर्छन् । बेकारको तनाव के लिनु ?’
मजदुरतिरको हेरिकन पेशागतमा सदस्यता नवीकरणलाई राम्रो मान्नुपर्छ । मजदुर विशेष जिल्ला कमिटीले बन्द भइसकेका कारखानामा पनि पार्टी कमिटी देखाउँदै महाधिवेशनमा प्रतिनिधि लैजान्थ्यो । अहिले खोज्दा भएकामध्ये १५ प्रतिशत पनि भेटिएनन् । जस्तो कि, चोभारस्थित बन्द भइसकेको हिमाल सिमेन्ट कारखाना, उहिल्यै नामोनिशान मेटिएको बाँसबारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, भृकुटी कागज कारखानाका कमिटी पनि गणना हुँदै थिए । यस्तो किन भयो भने धेरै मजदुर देखाएर जिफन्टले विदेशको पैसा ल्याउने गरेको रहेछ ।
एमालेलाई बुद्धिजीवीतिर सबैभन्दा असर गरेको पेशागत महासंघमा हो । भएजति सबै पूर्वअध्यक्ष एकीकृत समाजवादीतिर गए । लैनचौरको घर पनि त्यतै भयो । खातापाता, माइन्युट, बैंकिङ कारोबारसमेत एमालेको हातमा परेन ।
टिप्पणीहरू