चितवनमा यसपल्ट हिसाब गडबडी
यसपल्ट चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत २० देखि २५ हजारको हाराहारीमा घट्ने आकलनसहितको सूचना कांग्रेस सभापति शेरबहादुर देउवालाई प्राप्त भएको छ । देउवा निकटस्थ स्रोतका अनुसार चितवन कांग्रेसले धरातलीय यथार्थमा आधारित भई सूक्ष्म रिपोर्ट पठाएको हो ।
मंसिर ४ को चुनावमा भन्दा यसपल्ट कम मत पर्ने पूर्वानुमानसहित रास्वपाले कांग्रेस–एमालेका मत तान्न अभियान केन्द्रित गरेको छ । आक्रामक रणनीतिसहित प्रचारप्रसारमा उत्रिएका कारण लामिछाने आफैँ त्रासमा रहेको बुझ्न कठिन छैन । मंसिर ४ को चुनावमा लामिछानेले ४९ हजार तीन सय मतसहित जित हासिल गरेका थिए । यता, कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत मात्र ल्याए ।
‘रविको मत यसपल्ट कम्तीमा २० हजार घट्ने आकलन चितवन कांग्रेसको छ । रविको घट्ने मत र एमालेको ७–८ हजार रुखमा खसाल्न सकियो भने जितिन्छ भन्ने छ,’ देउवानिकट स्रोत भन्छ, ‘स्थानीय युवा उम्मेदवारलाई नै प्रतिस्पर्धामा उतारिएको र कारबाही फिर्ता लिइएपछि चितवन कांग्रेस एकगठ हुनुले पनि आस जगाएको छ ।’ कांग्रेसले यसपल्ट निवर्तमान सभापति जितनारायण श्रेष्ठलाई उठाएको छ । चितवनमा नेवार समुदायको उपस्थिति राम्रो रहेका कारण जातिगत मत श्रेष्ठको पोल्टामा पर्ने अवस्थासमेत दर्शाइएको छ ।
चितवन–२ मा एक लाख २४ हजार दुई सय १४ मतदाता छन् । मंसिर ४ मा ८३ हजार पाँच सय ९६ (६७.३ प्रतिशत)मत खसेको थियो । यसो त विगतको भन्दा मत पनि कम खस्ने आकलन छ । तर कति प्रतिशत खस्छ भनेर कसैले पूर्वानुमान गर्न सकेको छैन । यद्यपि जितनारायण र लामिछानेबीचमै तीव्र प्रतिस्पर्धा हुने भनिएको छ । थोरै मतले जित हार हुन सक्ने अवस्था दर्शाउँदै एकपल्ट सत्ता गठवन्धन दलमा सामेल शीर्ष नेतालाई संवोधनका लागि चितवन–२ मा आइदिन आग्रह गरिएको समेत जनाइएको छ । कम मत खस्दा सबैलाई असर पर्ने भए पनि बढी धक्का लामिछानेलाई पुग्ने विश्लेषण छ ।संगठन र कार्यकर्ताविनै लहरका भरमा लामिछानेले जितेका थिए । उनले प्राप्त गरेको चुनावी परिणाम सबै पार्टीका असन्तुष्टको संग्रह थियो ।
लामिछाने नेतृत्वको रास्वपा एकपछि अर्को काण्डमा मुछिएपछि उनलाई मत दिने मतदाता यो पाँच महिनाको अवधिमा फेरिएको बुझाई कांग्रेसको छ । सत्ता गठवन्धनका अन्य दलबाट पनि पहिलेको तुलनामा रास्वपालाई कम मत जाने संभावना छ । उतिबेला लामिछानेको पक्षमा हिँड्ने मानिसहरू पहिलाभन्दा घटेको पनि रिपोर्टले औंल्याएको छ ।
एमाले–माओवादीका परिवारबाट पनि लामिछानेलाई पहिलेको जस्तो मत जाने अवस्था यसपल्ट देखिन्न । सर्वोच्च अदालतबाट लामिछाने अनागरिक ठहरिएपछि रास्वपा गत माघ २२ गते सरकारबाटसमेत बाहिरिएको थियो । यसअघि लामिछानेलाई मत दिने मतदाताहरू यतिबेला कांग्रेस–एमालेतिर खुल्न थालेका छन् । ‘ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण, सत्ता भोगको लालच, राहदानी दुरूपयोगको मुद्दा नचलाउन गरिएको सौदाबाजीलगायत कारण लामिछाने आफै प्रतिरक्षामा हिँड्ने अवस्था देखिएको छ,’ चितवन कांग्रेसको सूचनाको हवाला दिँदै देउवानिकट स्रोतले भन्यो, ‘लामिछाने यसपल्ट पहिलेजस्तो ढुक्क छैनन् । रणनीतिक हिसावले अलिकति बल गरे चुनावी परिणाम कांग्रेसको पोल्टामा पर्ने सम्भावना छ ।’
टिप्पणीहरू