काठमाडौंमा दिनदिनै ओर्लिनथाले विदेशी जासुस, आइपुगे को–को ?

काठमाडौंमा दिनदिनै ओर्लिनथाले विदेशी जासुस, आइपुगे को–को ?

अनेक देशका जासुसी संयन्त्रको नेपालतिर आँखा सोझिएकै बेला नयाँ वर्षको दिन, अर्थात् वैशाख १ गते बेलुकी दक्षिण कोरियाली उच्चपदस्थ जासुस टोलीको आगमन भएको छ ।

काठमाडौंमा भारत, अमेरिका, चीन, बेलायत, पाकिस्तानका जासुस छ्याप्छ्याप्ती छन् भन्ने चर्चा त चल्दै आएको हो, अब अमेरिकानिकट दक्षिण कोरियाले पनि यता नजर बढाएको छ । उसको पुरातन दुश्मन, कम्युनिष्ट देश उत्तर कोरियाले दिनका दिन मिसाइल परीक्षण गरिरहेको मौका पारेर र छेउकै ताइवान टापुमा अमेरिका र चीनबीच तनाव बढिरहेको भूराजनीतिक द्वन्द्वका बीच दक्षिण कोरियाली जासुसहरुको ध्यान हामीतिर सोझिएको हो । उनीहरु एकै बाटो, एकै शैलीमा आएनन्, आउँदा र जाँदा पनि जासुसी शैली नै अपनाएका छन् ।

शुरुमा अमेरिकाको जस्तै एशिया प्रशान्त क्षेत्र हेर्ने डिभिजन राष्ट्रिय जासुसी सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस– एनआइएस) का प्रमुख तथा अब हुने गुप्तचर प्रमुख किम हाओन काठमाडौं उत्रिए । कोरियन एयरको उडान नं. केई ६९५ बाट वैशाख १ गते, अर्थात् नयाँ वर्षको दिन बेलुकी सवा ६ बजे आफ्ना दोभाषे युन चोङसिओसँगै उनले नेपाल टेकेका हुन् । राहदानी नम्बर जि सेभेन ४३७०४८८ भएका उनलाई हाल प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले खातिरदारी गरिरहेको बुझिएको छ । त्यसबाहेकको टोली पनि दक्षिण कोरियाबाटै आएको छ, जासुसी शैलीमै । नेपालमा यो स्तरको र यति ठूलो संख्यामा कोरियाली जासुस आएको यो पहिलोपटक हुनुपर्छ । आइतबार, अर्थात् अपिल १६ मा अरु तीन जासुस नेपाल आएको देखियो । फरक फरक देश र फरक फरक रुटबाट उनीहरु आए ।

आइतबारको टोलीमा राष्ट्रिय गुप्तचरी सेवाका प्रथम उपनिर्देशक कोन छुन तेक र उनका सल्लाहकार सो जिनयुङ थिए भने ननप्रोलिफरेशन (आणविक हतियारसम्बन्धी जाँच गर्ने) डिभिजनका प्रमुख कोह युङ हो पनि त्यही टोलीमा आएको प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानाले बताए । यो टोलीले दुबईको बाटो समात्यो, अर्को सीधै सिओलबाट आयो । उनीहरु अप्रिल १९ मा फर्किंदैछन्, नेपाल एयरलाइन्सको जहाज आरए ४०१ बाट, दिउँसो १२ बजे ब्यांकक हुँदै । आणविक हतियारसम्बन्धी जाँच गर्ने निकायले विभिन्न देशको न्युक्लियर टेष्टबारे अनुसन्धान र अनुगमन गर्छ । ‘विश्व शान्ति र विकासका लागि’ भनिए पनि कोरियाली जासुसलाई अमेरिकाको सहकार्यमा नेपालतर्फ सक्रिय बनाइएको अनुमान गरिएको छ । 

नेपालबाट डिएसपी तहसम्मका गुप्तचरलाई कोरियाले तालिम दिँदै आएको छ । किम नेपाल आएलगत्तै अर्का अमेरिकी जासुस पनि काठमाडौं उत्रिए । अमेरिकी अन्तर्राष्ट्रिय प्रशिक्षक सल्लाहकार, जसले सीमा र भन्सार हेर्छन्, नाम रेमण्ड म्याग डफी हो । उनी पनि नयाँ वर्षको दिन दोहाबाट मध्यराति क्युआर ०६४४ को उडानमा वाइओओओ १४१७ नम्बरको राहदानीसहित आएका छन् । अचम्म त के छ भने, त्यही उडानबाट कोरियाली विदेश मन्त्रालयका बेओमसु लि (राहदानी नम्बर डि ३७७ आर ८७७२) दोहा हुँदै अमेरिकीसँगै काठमाडौंमा उत्रिएको समेत प्रधानमन्त्रीलाई राष्ट्रिय अनुसन्धान विभागले रिपोर्टिङ गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको संघारमा विदेशी जासुसको दौडादौड देखेर गृहसचिव विनोदप्रकाश सिंहले अचम्म मानिरहेका छन् । यसैबीच दक्षिण कोरियाले नेपाल प्रहरीलाई साइबर सुरक्षाका लागि आठ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । गणेश अधिकारीको कार्यकालमा अनुसन्धान विभागका प्रमुखको सरकारी आवास निर्माण गर्न प्रहरीले सामाखुशीमा दिएको जग्गा छेउछाउ नेपाल प्रहरीको साइबर व्युरो खडा गर्ने योजना पनि छ । कोरियाले त्यसका लागि संरचना र उपकरण दिने सम्झौता भैसकेको छ । अहिले उक्त ब्युरोको ‘कामचलाउ कार्यालय’ भोटाहिटीमा छ ।यसैबीच, दक्षिण कोरियाली राजदूत चोङ सुक पार्क सोमबार नयाँ दिल्लीबाट काठमाडौं फर्किएका छन् । कूटनीतिक राहदानी डि ८९९६५५३५ भएका उनी नेपालमा कार्यकाल सकेर दुई महिनापछि फर्कने योजना छ ।
 

टिप्पणीहरू