कतिसम्म अझै किचलो भने कांग्रेसमा

कतिसम्म अझै किचलो भने कांग्रेसमा

कांग्रेस राजनीतिले रोचक मोडमात्रै लिँदै छैन, भित्रभित्रै आश्चर्यजनक घटना पनि विकास भइरहेका छन् । अबको महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवाको उम्मेदवार शेखर कोइराला भए भने अचम्म मान्नुपर्ने छैन । यसरी २०४८ सालपछि पहिलोपटक देउवा र कोइरालाका घाँटी जोडिने स्थितिमा अर्काथरि नेताहरुको अलग्गै झुण्ड तयार हुँदैछ । शेखरलाई सभापतिमा अगाडि सारिने संभावना देखिएपछि त्यसबेला देउवाले बालकृष्ण खाँण र पत्नी डा.आरजुलाई उपसभापतिका रुपमा अगाडि बढाउने छाँटकाँट छ । तर, शेखरले आउँदो महाधिवेशनसम्मका लागि अलग कित्ता बनाएर शक्ति सञ्चय गर्ने र त्यसका निम्ति अहिले तीन मन्त्रीभन्दा तलमाथि हुन्न भन्दै आएका छन् ।

शेरबहादुरले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई पठाएपछि अब मोहन बस्नेतलाई स्वास्थ्यमा पठाउन बाँकी छ । यसबाट बचेको सबै मन्त्री शेखरलाई दिन तयार भइसक्नुभएको छ । शेखरका तर्फबाट जाने सम्भावित तीन जनामा धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, सुरेन्द्र आचार्यसहित एक राज्यमन्त्री हुनसक्छन् । यस ढंगले अगाडि बढ्ने सन्दर्भमा शेरबहादुर र शेखरबीच उच्चस्तरको सहमति भएको कांग्रेस नेताहरु बताउँछन् किनभने शशांकबाट पार्टी चल्दैन भन्ने देउवाले बुझ्नुभएको छ । 

देउवाको  यस्तो राजनीतिक कदमपछि कांग्रेसभित्र एउटा नयाँ घटनाक्रम विकास हुनसक्छ । पूर्णबहादुर खड्कालाई अगाडि सारेर विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेलहरुको अर्को कित्ता बन्ने । यसरी आगामी चुनावसम्म कांग्रेसभित्रको आन्तरिक शक्तिसन्तुलन सबै भद्रगोल हुँदैछ । गगनले आगामी महाधिवेशनमा पार्टी सभापति, संसदीय दलको नेतामा पनि दावी नछोड्ने भएका छन् । यसअघिका महाधिवेशनमा कित्ता फेर्दै आए । अब टोली नेता शेखरले नै कित्ता परिवर्तन गर्ने भएपछि त्यतातिर नजाने भएका हुन् । यसरी कांग्रेसमा आगामी महाधिवेशन केन्द्रित राजनीति शुरु भइसक्यो । जसरी संसदीय दलको चुनावमा गगनसँग फोटो खिच्दा ३६ जना तर भोट २५ मात्र आयो, यसरी नै कांग्रेस राजनीति अगाडि बढ्ने संभावना छ । अहिले पनि धनराज गुरुङहरु शेखरको छातामुनि बसेर मन्त्री निश्चित गरिरहेका छन् । 

देउवाले केही दिनअघि मात्रै कृष्ण सिटौलाका निम्ति ‘आवश्यक भूमिका’ दिने भन्नुभएको छ ।  तर, राजनीतिक भूमिका दिने ठाउँ के हो ? प्रष्ट छैन । अब खालि हुने राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट उनलाई खस–आर्यतर्फ उम्मेदवार बनाउनेबाहेक अर्को उपाय देखिन्न । राष्ट्रपति भएपछि रामचन्द्रको अर्को व्यवस्थापन गर्नुपरेन । उहाँले तेजुलाल चौधरीलाई मन्त्री बनाइदिन माग गर्नुभएको छ । सिटौलाको पनि माग थियो, प्रदीप पौडेलका निम्ति । तर, देउवाको एउटै प्रश्नले उनी थचक्कै बसे । प्रश्न थियो, ‘संसदीय दलको चुनावमा प्रदीप कसको प्रस्तावक बसेको रे ?’ यसो भनेपछि सिटौला चूपचाप ! किनभने, गगनका प्रस्ताव थिए, प्रदीप । उनलाई मन्त्री नै बनाउने हो भने पनि शेखरबाट नाम आउनुपर्ने देउवाको भनाइ थियो । 

दक्षिणको दबाब थियो, ‘बीपीलाई फाँसी दिनुपर्छ’ भन्ने नेताका छोरालाई राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार बनाउनुपर्ने । उनी हुन्, सुनील थापा, सूर्यबहादुरका छोरा । खासमा रामचन्द्र सल्लाहकार, सुनील राष्ट्रपतिजस्ता मानिन थालेका छन् । किनकि रामचन्द्रभन्दा बाठा उनी नै छन् । त्यसमाथि दक्षिणले ‘ख्यालख्याल’ का लागि उनलाई सल्लाहकार बनाउन लगाएकै होइन । 

अहिलेको सरकारमा चुनाव जितेर आएमा रवि लामिछाने, स्वर्णीम वाग्लेहरुका निम्ति केही मन्त्रालय खालि राखिएको छ । उपेन्द्र यादवले समेत चुनाव जिते भने यी तीनैले मुख्यमुख्य मन्त्रालय माग्छन् । त्यो भनेको अर्थ, गृह र शहरी विकास हुन् तर दिन सकिने अवस्था छैन । रिसाउँदै उनीहरु सत्ता गठबन्धनबाट बाहिरिएपछि एमाले, राप्रपा, रास्वपा प्रतिपक्षी बेञ्चमा बस्ने अवस्था हुन्छ । त्यसैले यो सरकार कति अगाडिसम्म जान्छ यसै भन्न सकिन्न । देउवाले शिक्षक संघको कार्यक्रममा ‘कांग्रेसकै सरकार बन्छ’ भन्नुका पछाडि केही न केही रहश्य हुनुपर्छ । यद्यपि, रवि र उपेन्द्र बाहिरिँदा पनि सरकारलाई संख्या त पुग्छ ।

 

टिप्पणीहरू