कान्छी बटुल्ने बर्दीधारीको काल
नेपालका कतिपय पल्टनियाँको सबभन्दा ठूलो बदमासी नै हो, घरबार बिर्सेर ‘महारानी’ तिर लाग्ने ! पल्टनमध्ये पनि सेनातिर बहुविवाहले यति ठूलो रुप लिइसक्यो कि, मुद्दाका चाङ देखेर हाकिमहरु छक्क । माघपछि नेपाली सेनाका विभिन्न युनिटबाट सैनिक मुख्यालयको कानुन हेर्ने प्राड विवाकमा बहुविवाहसम्बन्धी १ सय ७ वटा मामिला पुगेका छन् ।
सेना, प्रहरी र सशस्त्रमा यदि कुनै कर्मचारीले घरतिर खर्च दिन, पठाउन छाडे भने बहुविवाहको उजुरी गर्नासाथ आधा तलब पत्नीले लान्छिन् । अनि, सिपाहीहरु आधा तलब खानुभन्दा जागिर नै छाडेर हिँडिदिन्छन् । यो चलन अरु फौजमा भन्दा सेनामा बढी छ । बहुविवाहसँगै राजीनामा दिनेको संख्या पनि त्यहाँ बढेको छ । भनिन्छ, यो अर्को प्रकारको घरेलु हिंसा हो, जहाँ घरकी पत्नीमाथि अन्याय गरिन्छ र बाहिरकी ‘महारानी’ लाई स्याहारिन्छ । अहिले सेनाको पूर्वीभेगबाट ३४, हेटौंडाबाट ६१, मधेस (बर्दिबास) बाट १३, सुदूरपश्चिमबाट १७ वटा मुद्दा जंगी अड्डामा आइपुगेका छन् । यससँगै राजीनामा जानेको संख्या बढेको छ ।
पेन्सन अवधि पूरा भएका सेनाले आधा तलबबापतको पेन्सन त्यसै पनि पाइहाल्छन् । पूरै जागिर खाएर आधा तलब लिनुभन्दा आधा तलब लिएर विदेश गएदेखि महिनावारी लाखभन्दा बढी कमाई हुने, घरकी पत्नी यता मगन्तेझैं, ‘महारानी’ चाहिँ झकिझकाऊ देखिन्छिन् । फौजी संगठनहरुले यसप्रकारको हिंसा नियन्त्रण वा निर्मुल पार्ने विधि खोजेनन्, फलतः थुप्रै महिला पतिका बाहिरी आचरणबाट प्रताडित छन् । सेनाको हरेक युनिटमा प्रतिमहिना सरदर १० देखि १५ सम्मको दरले राजीनामा दिइरहेका छन् । सेनाका गण, गुल्मजस्ता ९९ वटै युनिटका हिसाब जोड्दा त्यो संख्या धेरै हुन आउँछ । मानौँ, एउटा युनिटबाट सात जनाले मात्रै राजीनामा दिएछन् भने पनि महिनामा साढे ६ सय पुग्छ । यस्तो हुनुको पछाडि बहुविवाहमात्रै कारक छैन ।
पत्नी बटुल्नेले सकेसम्म घरैमा कुरा मिलाउन खोज्छन् । किनभने, फौजीको अफिसले पो आधा तलब पत्नीलाई दिन्छ । अदालतमा त्यो मुद्दा पर्यो भने भएभरको सम्पत्ति आधा–आधा हुन्छ । त्यसैले राजीनामाको संख्या बढ्नुको कारण हो, इन्फेन्ट्रीतिरका सेनालाई शान्ति सेनामा जाने अवसर संकुचन हुनु । त्यसैले १६ वर्षमा एकचोटि शान्ति सेनाको पालो आए, आयो– नआए फेरि १० वर्ष जागिर खानुभन्दा ३५–३६ कै उमेरमा पेन्सन बनाएर विदेश गए कुस्त कमाई हुने । खाडी र युरोपेली मुलुकमा कुनै पनि देशको तालिमप्राप्त सैनिक वा प्रहरी जनशक्तिले सेक्युरिटीको काममा एकदेखि पाँच लाखसम्म तलब पाउने गरेका छन् ।
सशस्त्र प्रहरीमा यस्तै छ, राजीनामाको लहर । सेनामा पो जागिरभरिमा एकचोटि भए पनि शान्ति सेनाको पालो आउँछ, सशस्त्रको मिशन निश्चित छैन । सेनामा कोही प्राविधिक लप्टनमै शान्ति सेना गएका हुन्छन् भने १० वर्षमा दुईचोटिसम्म भ्याउँछन् । प्रायः इञ्जिनियर्स, रेञ्जरका सेना मिशनमा दोहोरिन्छन् ।
अर्कातिर, नेपाली सेनाका दुई तारे जर्नेलहरुको कमाण्ड फेरिने क्रममा सुर्खेतस्थित पृतनापति हिरालाल जोशी फिर्ता भएर प्रबन्धरथि कृष्णदेव भट्ट या बढुवा भएर २८ बेसिकका गणेश श्रेष्ठ जाने सम्भावना छ । हेटौंडास्थित सुपारेटार पृतनाका होमनाथ दवाडी असारसम्ममा अवकास हुन्छन् । हेडक्वार्टरको विभागीय जिम्मेवारीमध्ये सम्भाररथी, डिएमआई, डिजिएमओमा पनि क्रमशः हेरफेर हुनसक्छ । अहिले डिजिएमओमा दुई तारे जर्नेल ताराध्वज पाँडे छन् । डिएमआईमा प्रहरीका पूर्वडिआइजी तथा पूर्वसांसद नवराज सिलवालका भाइ सुदर्शन जाने भएका छन् ।
उनको बढुवा भर्खरै भएको हो । अर्का जर्नेल सन्तोषबल्लभ पौडेलको म्याद थपिएका कारण अब उनी बढुवा हुन्छन् । कमाण्ड गरिनसकेका सम्भाररथी प्रदीप केसीको त्यहाँको कार्यकाल एक वर्ष पुगेको छैन । उपत्यकाबाट योगराज शर्मा निरीक्षणाधिकृत भएपछि सागर थापालाई उपत्यका र कार्यरथि दुइटै जिम्मेवारी दिइएको छ । असोजतिर अर्का जर्नेल सहदेव खड्का र सीताराम खड्का घर जाँदैछन् । कात्तिकमा अवकाश पाउने पालो सरोजप्रताप राणाको छ ।
टिप्पणीहरू