राष्ट्र बैंकका हाकिम रेवतीले आफ्नै धोती खुस्काए, महालेखाको कैफियतबारे मौन
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले लघुवित्त वित्तीय संस्थाहरुको कमजोरी उदाङ्गो पार्ने क्रममा आफ्नै कर्तुतहरु भुलेका छन् । हाल बैंकमा लघुवित्त संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारीमा रहेका उनले केही दिनअघि माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गर्दा केन्द्रीय बैंकमा आफूलगायतले उपभोग गरिरहेको ‘अनुचित’ सुविधा जानाजान भुलेका थिए ।
उनले लघुवित्तहरुको बारेमा उठेका पछिल्ला प्रश्न र वास्तविक समस्या सम्बन्धी कार्यक्रममा भनेका थिए, ‘संस्थाको आम्दानी जथाभावी खर्च नगर्नुहोला । राष्ट्र बैंकको निर्देशनविपरीत संस्थाको पैसाबाट मनपरी खर्च गर्न पाईंदैन । जथाभावी खर्च गरेर तपाईंहरुले विकृति फैलाउनु भएको छ । लघुवित्त संस्थाको लाखौं रकम खर्चेर देश विदेश भ्रमण गरिरहनु भएको छ । पचासौं लाखको गाडी किनेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहनु भएको छ ।’
यता, नेपाललगायत केन्द्रीय बैंकका हाकिमहरुले उपभोग गरेको केन्द्रीय बैंकको महँगो सवारी साधन र त्यसको खरिद प्रक्रियाबारे महालेखा परिक्षकको कार्यालयले ६० औं वार्षिक प्रतिवेदनमा गम्भीर कैफियत औंल्याएको छ । नेपाल स्वयमले ५५ लाख रुपैयाँमा बैंकले खरिद गरेको हुन्डाई कम्पनीको गाडी अवकाशपछि आफ्नो नाममा नामसारी गरेर घर लैजाँदै छन् । उनै नेपालले लघुवित्तका हर्ताकर्तालाई महँगो गाडी खरिद नगर्न र बजेट ‘मिसयुज’ नगर्न दिएको निर्देशनले आफ्नै सक्कली अनुहारलाई उजागर गरिदिएको हो ।
पाल्पा स्थायी घर भएका नेपाल यसअघिका गभर्नर चिरञ्जीवी नेपालसँग जिल्लाबासी भएकाले निकै घनिष्ठ सम्बन्ध राख्न सफल भएका थिए । जिल्ला एउटै भए पनि उनीहरु दाजुभाई खलकका होइनन् । चिरञ्जीवी क्षेत्री र रेवती बाहुन परिवारका हुन् ।
‘चुनावमा रुख चिन्हमा भोट हाल्ने उनी बैंकमा एमाले हुँ भन्न पछि परेका छैनन् । पैसो भनेपछि फोहोरमा परेको पनि जिब्रोले टिप्नेमा पर्छन्,’ एमाले निकट राष्ट्र बैंक कर्मचारी संघका एक जना पूर्व महासचिवले भने । डेढ दशकअघि बैंक तथा वित्तीय संस्था नियमन विभागमा छँदा उनीमाथि बैंक तथा वित्तीय संस्थाहरुको प्रबन्धपत्र, नियमावली र आवश्यक कानुनी कागजात बनाउने ठेक्का र योजनामा तल्लिन हुँदै लाखौं कुम्ल्याएको आरोप लागेको थियो । अनेक बहानामा ती संस्थाको प्रबन्धपत्र आफैँले तयार पार्ने र मोटो रकम लिएको खबर तत्कालीन गभर्नर विजयनाथ भट्टराई र कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको सचिवालयसम्म लिखित उजुरी परेकोे थियो ।
अहिले पनि उनी बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बैंक हातामा छँदा गर्भनर महाप्रसाद अधिकारीको हवाला दिँदै अन्धभक्त समर्थन गर्छन् । केन्द्रीय बैंक बाहिर अन्य बैंक तथा वित्तीय संस्था र तिनका अध्यक्ष वा प्रमुख कार्यकारीसँगको भेटमा उनै गभर्नर र उच्च व्यवस्थापनको धुवाँधार बिरोध गर्ने रेवतीको बानी नै परेकोे बताइन्छ ।
यसअघि कानुन महाशाखामा निर्देशक छँदा उनले हलो अड्काएर गोरु चुट्ने रणनीति अख्तियार गर्दै विभिन्न ‘फाइल’ लाई आम्दानीको गतिलो स्रोत बनाएका थिए । गभर्नर र डेपुटी गभर्नरको कार्यालयमा पुग्ने विशेषगरी बैंक तथा वित्तीय संस्था र विदेशी विनिमय व्यवस्थापन विभागका डलर सम्बन्धी निजी क्षेत्रका कम्पनीका फाइलमा राय दिनुअघि उनले गरेका मोलमोलाईबारे बैंकका त्यतिबेलाका अधिकारीहरु जानकार भए पनि चुपचाप बसेका थिए । गभर्नर डा. नेपालसँग जिल्लाबासीको साइनो गाँसेर उनले उक्त हर्कत गरेका थिए । तर, गभर्नर नेपाल स्वयम् भने रेवतीको कमाइखाने उक्त अभियानबारे ‘अनभिज्ञ’ देखिन्थे । रेवतीको बदमासीबारे जानकारी गराउँदा कोपभाजनमा पर्न सकिने डरले कार्यकारी निर्देशकहहरु तैँ चुप मैँ चुप बसेको उनीहरुको भनाइ छ ।
रेवती नेपाल डा. विनोद आत्रेयका बहिनी ज्वाईं हुन् । बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) का हर्ताकर्ता डा. आत्रेय राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक हुन् । उनै आत्रेयको कम्पनीले प्रायः शनिबार र सार्वजनिक बिदाको दिन आयोजना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तालिममा रेवती इन्स्ट्रक्टरको रुपमा सहभागी हुने गरेका छन् । जबकी केन्द्रीय बैंकले त्यस्तो कार्यक्रममा सहभागी हुन अनुमतिबेगर कर्मचारीलाई रोक लगाएको छ । यससम्बन्धी अधिकांश पत्र र तस्बिर जनआस्थाले प्राप्त गरेको छ ।
संस्थागत सुशासन उल्लंघन गरेर त्यस्ता कार्यक्रममा सहभागी हुँदै आएका उनी बिफिनको ‘संस्थागत सुशासन र यसको असल प्रयोग’ सम्बन्धी कार्यक्रमा इन्स्ट्रक्टर भएका थिए । गत चैत पहिलो साता धुलिखेलमा भएको दुई दिने कार्यक्रममा सहभागी भएपछि तालिम आयोजक, प्रशिक्षार्थीहरुसँगै उनले सामूहिक फोटोसमेत खिचाएका थिए ।
रेवती नेपाल पछिल्ला दिनमा लघुवित्त वित्तीय संस्थाको सञ्चालक शिक्षाको निम्ति आयोजना गरिने भित्री (इन हाउस) तालिममा समेत सहभागी हुँदै आएका छन् । त्यसवापत प्रतिकार्यक्रम होटलमा डिनर र खाममा कम्तीमा ३५ हजार दिइने गरेको एउटा लघुवित्त संस्थाका अध्यक्षले बताए ।
यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशक छँदा पनि उनले ‘क’ वर्गका बैंकहरुलाई पटक पटक दबाब दिएर आन्तरिक तालिमको आयोजना गर्न लगाएका थिए । ती तालिममा आफूलाई मुख्य इन्स्ट्रक्टर बनाएर राम्रै पारिश्रमिक बुझेको धेरै वटा विवरण जनआस्थालाई प्राप्त भएको छ ।
टिप्पणीहरू